हात खुट्टा सग्लो भए गरिब हुन्न कोही
जस्तो ज्ञानी भए पनि सरिफ हुन्न कोही
आफ्नो भाग्य भोग्नै पर्छ दरिलो बन्नु सधै,
खुशी लिन्छ दू:ख बाड्न सरिक हुन्न कोही ।
दो-बाटो रोजी एक्लै छोडी फर्केर गयौ तिमी
मलाई देखी यात्रा मोडी तर्केर गयौ तिमी
मनको बात हुँदा खात खुलस्त भन्नु थियो,
बाहाना गरी धेरै थरि झर्केर गयौ तिमी ।
सफा आकाश दर्कियो अचानक
शान्त हृदय चर्कियो अचानक
आज मायाले सम्झेछ क्यार खै,
लाग्दै बाडुल्की सर्कियो अचानक ।
यो स्वार्थी शहरको कुरा नगरे हुन्न र ?
एकल रहरको कुरा नगरे हुन्न र ?
बाँचेर केही गरौ बरु, जे गरे नि याहाँ,
मार्ने त्यो जहरको कुरा नगरे हुन्न र ?
यो मुटु तेजले धड्कियो किन-किन ?
मायाको अभाव खड्कियो किन-किन ?
हजारौ पटक फेर्दैछु कोल्टे आज,
निर्दयी यो रात अड्कियो किन-किन ?
रहरै रहरमा फुल्यो फूल एउटा ।
ढुंगामा पिरतीको फुट्यो मूल एउटा ।
देखेर हुन्न रै’छ माया भन्ने चिज,
मनले रोज्दै मन जुट्यो पूल एउटा ।
कल्पना राई “खुशी”
दोलखा नेपाल
हाल दक्षिण कोरीया
