Skip to content

इन्कलाब जिन्दावाद -इन्कलाब जिन्दावादहरू !


चस्केका घाउहरूको बिटो बाँधेर
नरसंहारका रक्त टाटाहरू मेट्दै
घर्षणहरू यो स्वतन्त्र कहलिएको मरूभूमिमा
बढिरहेछन कछुवा तालमा
क्याक्टस जो आफैंमा पात बिहिन भएर पनि
हरित बोकेर यो मरूभूमिमा ठिंगिएको छ
बाइपासको झण्डा बोके जस्तो
अगाडी सुगम ठाउको नोटिस गरिरहेछ

प्रचण्ड गर्मीको तापमा देखिने त्यो मरूभूमिको ताल जस्तो
हामी – त्यो मृगतृष्णापछि लामबद्ध छौ
तिर्खा मेट्न कतै पाइन्छ कि ..
लखतरान त्यो मिराजको पछाडी दौडिरहेछौ, दौडिरहेछौ
पानी सकिएर शरीरमा निर्जलिकरण भैसक्यो
ओठहरू कामिरहेछन / नसाहरू चद्किरहेछन
गोडाहरू गलेर लखतरान भैसके
अझै आशा छ त्यो मृगतृष्णा कतै पानीको ताल बन्छ कि
त्यो मिराज नभएर पानीको ताल हो की

बिस्तारै बिस्तारै घामले गोधुलीको काखमा
अनि साँझमा डुबुल्की मारी सकिन
रात भित्र आशाको बत्ति टिम टिम
निभ्दै जल्दै निभ्दै जल्दै जलिरहेछ / बलिरहेछ
मृगतृष्णा हराएको छ ओठहरू कामेका छन्
धुलोको आँधी भित्र स्याई स्याई हावामा
कठान्ग्रिएका यी हातहरू माझ
आशाका दीपहरू संगै घस्रदै घस्रदै
मृगतृष्णाको त्यो आहाल कतै भेटिन्छ की भन्दै
त्यो मरूभूमिको महा जुलुशमा निरन्तरता दिरहे दिइरहे
इन्कलाब जिन्दावादहरू कति मुठी उठाउदै उठे
कत्ति कत्ति इन्कलाबहरू मुठी थाम्न नसकी भुइमा झरे
आकाश जस्तो मन बोकेका इन्कलाबहरू
सगरमाथा जस्तो दृढ छाती भएका इन्कलाबहरू
टुक्रिएर पग्लिएर शीत भए
इन्कलाबहरू ! इन्कलाब जिन्दावादहरू !!
प्रत्येक पटक तिम्रो मृगतृष्णाको पोखरीमा इन्कलाबहरू
प्रचण्ड घाम भित्र कालो- पत्रे माथिको मिराज भए

सुर्योदयको पर्खाइ संगै ति जुलुशहरू – न्यानो घामको खोजीमा
त्यो मृगतृष्णाको पर्खाल तोढ़ेर मिराजहरू फलांग्दै
इन्कलाबको झण्डाहरू अझै फहराई रहेछन
इन्कलाब जिन्दावाद ! इन्कलाब जिन्दावाद !!
मान्छे मृगतृष्णा कोपछि होइन
यथार्थमा मान्छेको लाम मा लाग्न दौडी रहेछन
त्यो तिमीले छेक्ने कोशिश नगर
तिमीले आफुलाई त्यानमेनको बुल्डोजर ठान्छौ भने
बर्लिनको पर्खाल पनि हुन सक्छ त्यो
होशियार त्यानमेन चोक !
त्यो तहरीर चोक छिट्टै हुन् सक्छ
अनि तिमीले अल्छी गरेउ भने शिरते पनि हुन सक्छ
मान्छे आखिर मान्छे हो उ उड्न पनि सक्छ उ गुड्न पनि सक्छ
इन्कलाबहरू- इन्कलाब जिन्दावादहरू !!

Leave a Reply

Your email address will not be published. Required fields are marked *