यसपाली नेपाल जाँदाको कुरा हो । म एकजना काकालाई भेट्न गएँ । काका घरको तल्लो तला भाडामा दिएर आफू माथि बस्दा रहेछन । माथि जाने भर्याङ पनि मेसो पाइन ।
तल्लो तलामा भाडामा बस्ने मानिस खाना पकाउने तरखरमा थिए ।
“यहाँ माथि जाने भर्याङ कता छ ?” – मैले सोधेँ ।
“हजुर यता छ,” एउटा पातलो पातलो मानिस ढोकानिर आएर भर्याङ देखायो ।
म त्यो पातलो मान्छेलाई हेरेर ट्वाल्ल परेँ, माथि काकाको घरमा गएँ । चिया खाइयो ।
काकालाई सोधेँ – “हैन तल बस्ने मानिस सम्झे बिर्से बिर्से लाग्यो, को रे ?”
काकाले भन्नु भयो – “बले हो त, ऊ गाउँ गाउँ गएर कपडा व्यापार गर्दछ नि !”
अहो बले है, मैले उसलाई बल्ल सम्झिए, कति पनि नबदलिएको ।
बले शायद भारतबाट आएको हो । ऊ यो बजारमा कपडाको व्यापार गर्दछ । शायद म जान्ने भएदेखि नै ऊ त्यो बजारमा बस्थ्यो । पातलो पातलो, पहिले बाबुसित बस्थ्यो अहिले ऊ हाम्रो बजारमा एक्लै बस्छ होला । मेरो लागि उसको परिचय यति नै, शायद बजारमा बस्ने प्रत्येक बासिन्दाको लागि बलेको परिचय त्यहाँभन्दा माथि पनि छैन होला ।
एउटा कपडा व्यापारी, एक्लै बस्दछ गाउँ गाउँमा लगेर कपडा बेच्दछ । यो साधारण कुराले मलाई किन छोयो, कारण छ । बलेपछि त्यो बजारमा गाउँबाट आएकाले धेरै अस्तित्त्व बनाए, परिचय बनाए । बलेलाई परिचयको हिसावले मैले दाइ भनेर अंगाल्नु पर्ने हो, तर म कपडा व्यापारी भनेर, किन होला ।
उसलाई म जान्ने भएदेखि चिन्दछु नि । मेरो काकालाई जस्तै । तर उसलाई म बिरानो नै सम्झिएँ, त्यो कुराले म भित्री मनदेखि दु: खी भएर आए ।
मलाई पीर बलेको अस्तित्त्व नभएर होइन, शायद उसले खोजेको पनि छैन होला, आफ्नो गाउँमा निश्चय नै उसको अस्तित्व छ होला । मलाई पीर लाखौ नेपाली बिदेशमा बले भएकोमा हो । किनभने १-२ वर्षलाई विदेशको भूमिमा आफ्नो परिचय बिहिन भएर कुनै मानिस बाच्न सक्ला, तर अन्ततोगत्वा ऊ सामाजिक प्राणी नै हो त । ऊ समाजमा आफ्नो परिचय अस्तित्व खोज्दछ विदेशीको भूमिमा पनि आफ्नो संकृति, भाषा, सभ्यता रमाउन चाहन्छ,त्यो ध्रुब सत्य हो, त्यो नेपालीको मात्र समस्या नभएर विदेशिने हरेक नागरिकको सपना हो ।
आफ्नो संकृति, भाषा, सभ्यता रमाउन चाहने प्रत्येक नेपाली किन परिचयबिहिन विदेशीको भूमिमा पसिना बगाएको छ ? किन सबैले नचाहदा नचाहदै पनि राजनीतिक अस्थिरता छ ? कसको कुन स्वार्थ को लागि किन सहमति हुँदैन, म अचम्मित छु – सारा नेपाली झैँ । राजनीतिक पार्टी देशमा स्थिरता ल्याउन कोशिश नगरी किन विदेशी को भूमिमा पसिना बगाउने कुरा लाई बाध्यात्मक बनाएका छन् ?
किन हामी नचाहदा नचाहदै बले झैँ अस्तित्व विहिन भएर विदेशको भूमिमा संघर्ष गर्नु परिराखेको छ, मैले बुझेको छैन ।
हामी पनि नेपालमा शान्त भएर बाच्न सकौं र बलेजस्ता बाहिरबाट आएकालाई माया गर्न सक्ने नेपाली समाज बनाउन सके हाम्रो समाज कति सुन्दर हुन्थ्यो होला, बलेदाइसँगको त्यो दिनको भेटले मलाई धेरै कुरा सोच्न लगायो ।
अस्तु
चसु
