कहिलेसम्म चल्ने हो राजनीतिको खेल यहाँ
बग्ने हो कि कतै फेरि रगतको भेल यहाँ
चरितार्थ हुदैछ चोरलाई चौतारो साधुलाई सुली
दोषीहरू फुली थप्छन् निर्दोष जान्छन् जेल यहाँ
पद अनि पैसा बन्यो राजनीतिको पर्यायबाची
कुर्सी कै झगडाले नहुने भो मेल यहाँ
हराइसक्यो जताततै नैतिकता र इमान्दारी
घृणा गर्छन् जनताले नेता देख्दा अचेल यहाँ
निस्किएन कुनै निकास नबन्ने भो संबिधान
देश बनाउने नेताहरू भए सबै फेल यहाँ
