Skip to content

हो यस्तै छ यसपालीको कविता …..


अलिकति चर्को छ /पिरो छ अनि केही टर्रो छ
केही रोमान्टिक छ अनि केही दिक्क लाग्दो छ
पख्लास देखाई दिन्छु, सिद्याइदिन्छु भन्दै आएको छ
यसपालीको कविता
अलिकति टर्रो छ तितो छ
पहिनी बाटोको कथा बोकेर आएको छ
साँध सिमानाको व्यथा छ
नाप नक्शा उचाई गोलाई
अनि रंग रोगनको कथा छ
सारी चोलो बख्खु धोति टोपीको कथा छ

यसपालीको कविता देश परदेश कुदेको छ
केही लामो पनि छ दिक्क लाग्दो पनि छ
तितो छ टर्रो छ
जात जातिको कुरा छ
ठुलो सानोको ब्यथा छ
धनी गरिवको कथा छ

अलिक चर्को छ पिरो छ टर्रो छ
माथ्लाघरे भाउजू पोइल हिडेको कथा छ
दाइले त अरबबाट पैसा पठाउदै थियो
के भोको नि भाउजूले टाप कसिन रे
जंगेले छिमेकीलाई मरणासन्न पार्यो अरे
किनकि राजनीतिको गोत्र मिलेन अरे
एउटा उत्तर तर्फ पानि पर्दा छाता ओढथ्यो अरे
अर्को दक्षिन् घाम लाग्दा ……

सुरज हांगले सुर्जे बाजेलाई ठटाएछन्
नाम उस्तै भएर पनि नाकको हाईट मिलेन अरे
छालाको रंग फरक भएर
नन्दलाल भैया और
वीरबहादुर दाजुको मल्ल कुस्ती भयो अरे
खोइ पारिबाट आएको भन्थ्यो एउटा
पहाडबाट झरेको भन्थ्यो अर्को
छालाको रंग मिलेन अरे …….

हो यस्तै छ यसपालीको कविता
दुख छ पीडा छ निर्दयी छ
अलिकति छाडा पनि छ
बाबु-ऋषिधन अफगानिस्तानमा छन्
छोरी बढेको पत्तै भएन
पैसा कम पठाएर होला
पातलो र छोटो लुगा मात्र लाउछिन
भाउजू सिकुवाबाट छिमेक तिर
हात ठड्याएर भुत्भुताउदै छिन
नाना थरि कुरा गर्छन
मान्छे बढे पछी अनि लुगा धेर धोए पछी
पातलो र छोटो हुन्न र ?
कस्ता छिमेकी उनका छोरी चेली बढ्दैनन र ?

यसपालीको कविता अलिक लामो छ
सुन्न दिक्क लाग्ने खालको छ
आमालाई छोराले ढाँटेको
बाबुलाई छोराले ठगेको
घिउमा केरा मीसेको
मिठाइमा दुर्गन्ध बेचेको
कालो सेतो रंगिएको
नाक नक्शा नापेको
कता कता नमिलेको टोपी धोति खुस्केको
डरलाग्दो पनि छ
अलिकति बेग्लै छ

सुनको भाउ आकासिएको छ
महंगी र रोग बढेको छ
सद्भाव घटेको छ /बिश्वास हराएको छ
नबद्ने बढेको छ / नघट्नु पर्ने घटेको छ
यसपालीको कवितामा अलिकति गुनासो छ

जे जस्तो भए पनि
अलिकति रोमान्टिक पनि छ
चाउरी परिसकेका गाला हरूमा
लालीले ल्याएको चमकको कथा छ
माताजी हरूले भजन छोडेर डिस्को नाचेको मजा छ
यसपालीको कवितामा
बैंशले मात्तिएर ऊत्ताउलिएको मध्यान्नको घामजस्तो
कतै शिशिरमा सिरक हराए जस्तो
साधुलाई सुली र चोरलाई चौतारी

यस्तै यस्तै छ
हर्के कि श्रीमतीको रासलीलादेखि
पाईलट बेगरको हवाई जहाजले मान्छे खोज्दै मार्ने
कथा पनि छ
यस्तै यस्तै छ /दुखै दुख छ
यसपालीको कवितामा

एउटाले बिना चालकको हवाई जहाजले
मान्छे खोज्दै पडकाउछ
अर्को मान्छे नै आफैं पड्कन्छ
खोइ के भनौ बिश्वासको धागो चुडिएको छ
तपाईँले त्यो पड्काई रहेको
ताली पड्किदा बम पड्किने हो कि
त्यो पनि ठुलो डर छ
यस्तै यसपालीको कवितामा तालि छ
गाली छ अनि आफ्नै घरकी साली पनि छ
कविता सुन्ने अनि धैर्यताका साथ् पढिदिनुहुने
श्रोता र पाठकहरूको
धैर्यतामा अनेक अनेक /मुरी मुरी धन्यवाद छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *