“ए ! तिखेकी हजुरआमा ! बाहिर निस्की बाहिर,” तिखे कपडाको झोलामा कापी, कलम र पुस्तक राखेर स्कूल जाने तयारीमा लाग्दै थियो । बाटोमुनि लम्सालनी बज्यैको आवाज आयो ।
“के भयो बज्यै ?” तिखेकी हजुरआमा पनि आँगनमा निस्की ।
“हिजो साँझ चरनबाट फर्किनेबेला मेरो गोरु भीरबाट लडेर मरेछ । अहिले स्यामेलाई ‘जा जा हेरेर आइज’ भनेर पठाएथें । उसले खबर ल्याए अनुसार त राति नै स्यालले लुछेर एक पाखो सिध्याएछ रे । तिमेरुका हजुरआमा-नाति खाने भए अलि चाँडो गरेर लिन जा । अहिले घाम चर्किपछि त्यही आधा पनि गिद्धका पड्केले लुछेर भुसुक्कै सिध्याउँछन् । छाला काढ्दा एक दुई जोर मुढा बने मलाई हुन्छ । केही छाला उब्रियो भने मेरो हली बिर्खेका गोडालाई एक जोर जुत्ता हुन्छन् ।
त्यति सुन्ने बित्तिकै तिखेकी हजुरआमा डोको र खुकुरी बोकेर गोरुको मासु काट्न जान तयार भई ।
नाति तिखे झोला एक हात पर हुर्याएर उसको खुट्टामा लम्पसार पर्यो ।
“के गर्छ यो मोरो तिखे ? स्कूल जान ढिलो भएन भनेको ? साथीहरूले छोड्लान र बाँसको झ्याङका ढेँडुले बेस्कन भुकुर्लान नि तँलाई । ”
तिखे अनुनयविनय गरेर भन्न थाल्यो, “तिमी त्यो मरेको गोरुको मासु लिन गयौ भने म पढ्न-सड्न पनि छोडिदिन्छु ।”
“किन र के भयो ? तँ कतै बहुलाउन त लागिनस् ?”
“तिमीले सिनो डोकोमा बोकेर घरभित्र हुल्दा मलाई डाँडा गाउँका बाहुनका छाउराहरूले ‘यैं सिनो खाने गन्धे’ भनेर हेप्छन् । मलाई ती कुरा मन पर्दैन । हजुरआमा नजाऊ न त्यो सिनो बोक्न । म पढेर ठूलो मान्छे हुन्छु अनि जागिर खाएर तिमीले अहिले गरेको दु:खको बदलामा सुख दिन्छु ।
नातिको अनुनय विनय सुनेर सर्किनी ठूलीको मन खडेरीले धाँजा पारेको खेत जस्तै चिरा चिरा भएर फाट्यो । ऊ तयार पारेको डोको एकातिर थन्क्याएर सोच्न थाली, “हिजोसम्म नाकभरि सिँगान बोकेर गुच्चा खेल्दै भात खान बोलाँउदा समेत टेर-पुच्छर लाउँथेन यो तिखे !”
आज तिखे यति बुद्धिमान भएर सम्झाएकोमा हजुरआमा दंग परी । र पहिरोले पुरेर एकै चिहान पारेका छोरा बुहारीलाई सम्झिएर मन अमिलो बनाई ।

मैले भर्खरै बेलायतमा खगेन्द्र
मैले भर्खरै बेलायतमा खगेन्द्र सङ्ग्रौलाको उपन्यास ”जुनकिरीको संगित” पढेको थिएँ | त्यसमा गरिएको दलित बस्तीको सिनो काण्डको सम्झना गरायो यो लघुकथाले | तपाईको प्रयास राम्रो छ लेख्दै गर्नुहोस् |
जातिय बिभेदमा पिल्सिएको
जातिय बिभेदमा पिल्सिएको बिर्खे को मन भित्र बल्झेको बेदना झल्कियो कथामा