Skip to content

प्रेमको उपहार

  • by


उसले गुलाव चुँड्यो भेट्नोसहित र आफ्नो मन पर्ने प्रेमिकालाई भ्यालेन्टाईन दिवसको दिनमा नै हातमा राखिदिंदै भन्यो – आई लभ यु मिस् जया । जयाले पनि आफ्नो जिन्दगीमा सपनाकै राजकुमारलाई भेटेको अनुभव गरिन् र भनिन् – सेम टु यु जगत ।

उनीहरूको अब प्रेममा हुनै अवरोध हुन पाएन । दिन दुई गुना रात चौगुणा कै दरले यसले झाँगिने मौका पायो । उनीहरूको प्रेम धनी-गरीव जातीय भेदभाव र तमाम असमानतालाई ठाडै चुनौती दिँदै अघि बढ्यो । उनीहरूले मन्दिरमा गएर मुर्तिलाई साक्षी राखी वैवाहिक कार्य प्रेम भएको एक महिनाभित्र सम्पन्न गरे ।

जया समाजको उच्च जातकी र घरानिया केटी थिईन् र जगत मधेशको तल्लो जातको दलित युवक थियो । दुवैको घर परिवारमा यसले ठूलै भूकम्प ल्याए पनि समाजका अगुवा कार्यकर्ताले यो एउटा राम्रो र क्रान्तीकारी कदम भएको भन्दै यसको समर्थन गरे । राज्यले पचास हजारको नगदले जोडीलाई सम्मान दियो । उनीहरू भने सडकमा आए । वीस वाइस वर्षको कलिलो वयमा कलेज पढ्दा पढ्दै भएको यो प्रेम विवाहलाई दुवै परिवारले ठाडै ईन्कार गरेको थियो । उनीहरूलाई राज्यले दिएको रकम रोमान्समा करीव दुई महिनाको खर्च धान्न ठिक्क भयो ।

दुई महिनापछि जया गर्भवती भईन् भने जगत सर्वहारामा परिणत भयो । उनीहरूको कलेज छुटेको मात्र थिएन, घरवेटीले घरबाट लखेटिदिए । अब जगत गिटी कुट्ने काममा लाग्यो भने जया पछ्यौरा फिँजाई माग्न बसिन् । न त जगतले राम्रोसँग काम गर्न सक्यो न त जयालाई ने कसैले दुई पैसा भिक्षा दियो । बरु जयाका आफन्तले शहरका कुनै ठाउँमा उनीहरूको उपस्थिति देख्न सकेन र उनीहरू तराई झरे ।

तराईमा दाईजो नल्याएकी र पहाडे समुदायकी केटीलाई परिवारले सँगै राख्ने स्थिति नरहेपछि उनीहरू हजार हण्डर खाँदै भौंतारिएर हिडे । उनीहरूको विद्रोहले यो समाजको संरचनामा प्रहार गर्न सकेन ।

यस्तैमा समस्यासँग जुध्दै उनीहरूको प्रेमले एक वर्षको नेटो काट्दै दोश्रो भ्यालेन्टाईन मनाउने तर्खर गर्दै थियो ।

आज भयालेन्टाईन दिवस भनि कैयौं जोडीहरू जगत र जयाको पदचाप पछयाउँदै राता गुलाव साटाँसाट गर्दै थिए । प्रेमको पहिलो प्रस्तावमा रमाएर नयाँ जीवनको शुरुवातका कल्पनाका महलमा टहलिदै थिए । तर यति नै बेला वागमतीको किनारमा एउटा जोडीको अन्त्य हुदै थियो मात्र होईन अर्को नयाँ अनुहार प्रेमको वीजारोपण अथवा प्रेमको उपहार गुलावकै कोपिला निमोठिए झैँ निमोठिएको थियो । जहाँ जगत र जया एक अर्कोमा अँगालो हाली उनीहरूका वीचमा नवजात शिशुलाई राखेर चिरनिद्रामा समाहित भएको थिए । नजिकै सिरानीपट्टि बालुवामा सुन्दर अक्षरले यस्तो वाक्यांश लेखिएको थियो – हाम्रो प्रेमलाई यो समाजले देख्न नसकेकोले हामी प्रेम दिवसका दिन अनन्त प्रेममा लीन भएका छौं आफ्नो प्रेमको प्रतिक आजैको अङ्कुरणलाई साथ लिएर जय प्रेम दिवस ।

चूडा निर्भीक

Leave a Reply

Your email address will not be published. Required fields are marked *