जति चोट खपेर नि गंगाजी भै बह्यौ आमा
बाँचुन्जेलै अभाव र असन्तुष्टि सह्यौ आमा
रातोदिन डोको, नाम्लो, घाँससँग प्रेम गाँस्दै
यिनैलाई आफ्ना दर्द सधैँभरि कह्यौ आमा
सन्ततिलाई हुर्काउन दुखै दु:ख र पीडा झेल्यौ
जिन्दगीमा कयौँ दिन भोकै नाङ्गै रहयौ आमा
नखाई नखाई काम गर्दा निम्तिएर रोगहरू
शोक सुर्ता बढ्दै गए साह्रै जीर्ण भयौ आमा
ज्वलन र छटपटीले दुख्न थाल्यो प्यारो मुटु
टुहुरो नै बनाई हाल्यौ चट्टै छोडी गयौ आमा
कोमल भट्ट
पुरानो नैकाप, काठमाडौँ
हाल :- न्युयोर्क, अमेरिका
