Skip to content


आजकाल यौटा बेथा चलेको छ, बबूलनाथलाई । सायद चल्दो हो सबैलाई यस किसिमको बेथा – यस उमेरमा । कुरा सामन्य नै हो! कुरा चाहनाको हो, अपुर्ण चाहना पछिको पीडाको कुरा हो यो । बबूलनाथ गणित पढाउँछन । उमेर खासै धेरै छैन, हुँदा हुन त्यस्तै २६ – २७का! यौटा नयाँ विद्यालय पुगे उनी पढाउन भनी । पहिलो नजरमैं प्रेम भयो उनलाई यौटी शिक्षिकासित । ती शिक्षिका सायद २१-२२ वर्षकी हुँदी हुन । त्यो रूप, त्यो रङ्ग ! बबूलनाथलाई स्वर्गकी परी झै लागिन उनी । उनी यौटा सानो बालकको औंला समातेर उसलाई कक्षाकोठातर्फ लादैं थिइन । बबूलनाथका आँखा चार भए उनीसित । उनी अलिक लजाइन, लजाएर नजर अन्तै मोडिए उनका । बबूलनाथले जगमगाउँदा ताराहरूमाझ पुगेर स्वप्न बटुल्न थाले, असीमित स्वप्न पिरतीका !

रातभरि छटपटी हुन्छ बबूलनाथलाई; बबूलनाथ कल्पना गर्दछन – ती शिक्षिका उनी नगिच आउँछिन, अझ नगिच आउँछिन । कुनै दूरी नरहने गरिको सामिप्यताको अनुभूति बबूलनाथलाई हुन्छ। ती गुलाफी अधरहरूको रसपानमा बबूल व्यस्त हुन चाहन्छन, त्यो रेशमी जुल्फबाट मगमगाउँदो बासना जब छरिन्छ यत्र-तत्र, तब बबूल होस हराउन पुग्दछन । मनका सारा चाहनाहरू एक्कासि मनबाट निस्केर सयर गर्न खोज्दछन – स्वच्छ, सौम्य र शीतल बगैंचामाझ ।

भोलिपल्टको कुरा! विद्यालयको टिफिन टाईम हुँदै थियो । ती शिक्षिका एक्लो बसेकी थिइन । बबूलनाथ पुग्दछन उनीनेर र बोल्न चाहन्छन उनीसित । कहाँबाट आरम्भ गर्ने कुरा? कुरा आरम्भ हुन्छ ।

चियाको चुस्की लिदैं बबूलनाथ प्रश्न गर्दछन – “मिस हजुर कुन विषय पढाउँनुहुन्छ ?”

“म ग्रेड टीचर हूँ । क्लास १ र २लाई हेर्छु ।”

“कति वर्ष भयो मिसलाई- पढाउँन थालेको?”

“५ महिना भयो । अनि सर हजुरलाई नि?”

“त्यस्तै २-३ वर्ष जति भयो । घर कहाँ हो नि मिसको?”

“माईती काभ्रे हो, अनि ससुराली घर दोलखा हो सर । यहाँ भने सानेपा बस्दै छौं, हामी श्रीमान – श्रीमती!”

बबूलनाथलाई किन किन चियाको त्यो अन्तिम चुस्की तितो लागेर आयो । उनका सारा चाहनाहरू त्यस बखत भुँईमा लम्पसार लडेका थिए । सागर किनार यौटा छाल आउँछ र त्यस छालले समस्त बबूलनाथका चाहनाहरूलाई बगाएर लग्दछ । बबूलनाथलाई पीडा हुन्छ, गुलाफ टिप्न खोज्दा काँडाले च्वाँस्स कोपिदिदाँ हुने जस्तो पीडा !

5 thoughts on “पीडा”

  1. Nice selection and combination of words
    Wow nice to read you writing Deep,
    I read whole story with making your image as Babulnath…. it feels like this is not just story…. Simple but really with feelings… keep it up

Leave a Reply

Your email address will not be published. Required fields are marked *