Skip to content

जय फेसबुक


पहिला पहिला धेरै चाडहरू पात्रो नहेरेको कारणले छुट्थे । तर आजकाल पात्रो हेर्नु नपर्ने भएको छ । केही दिनअघि हिन्दु महिलाहरूको ठुलो चाड हरितालिका तीज पनि सकियो । हरितालिका तीजको बारेमा पनि फेसबुकमा १ महिनाभन्दा अगाडिदेखि दरखाने कार्यक्रमदेखि लिएर तीजको कार्यक्रम सबै फेसबुकमा नै देख्न पाइयो । आज यहाँ दर खाने कार्यक्रम छ । आउनुहोस हैदेखि लिएर धेरै शुभकामना फेसबुकमा देख्न पाइयो । नेपालीहरूको चाड होस वा विदेशीहरूको चाड होस, बाबुको मुख हेर्ने दिन वा आमाको मुख हेर्ने दिन होस सुरुमा फेसबुक वालमा “happy father day” “i love my father”जस्ता स्टाटसहरू चाड आउनुभन्दा अगाडिदेखि फेसबुक वालमा देख्न पाइन्छ ।
यस्तो स्टाटस देख्दा लाग्छ सबैका बाबुआमा चाहि फेसबुक चलाएर फेसबुकमा नै बसेका छन् जस्तो । तर ती स्टाटसहरूमा कसैका बाबुआमाले जवाफ दिएको देखिदैन । शिव रात्रिको शुभकामना, नाग पञ्चमीको शुभकामना, जनैपुर्णिमाको शुभकामना, राम नवमीको शुभकामना, सबै सामाजिक चाड तथा ब्यक्त्तिगत उत्सवहरूको शुभकामनाको फेसबुकमा राम्रै भीड लाग्छ ।

अचेल फेसबुक भन्ने निकै नै फेसन जस्तै भएको छ । गाउँघरतिर कोही युवा आयो भने आफ्ना गाउँमा भएको साथीलाई तेरो फेसबुक छ, मेरो त फेसबुक छ भन्ने जस्ता धाक धक्कुपनि लगाएको पाइन्छ । पहिला पहिला इमेल सिक्ने, इन्टरनेट सिक्ने जस्ता भनेर साइवर तथा कम्प्युटर सिकाउने ठाउहरूमा भीड लाग्थ्यो तर आजकाल फेसबुक चलाउने भनेर साइवरमा भीड लाग्ने गरेको छ । अहिले त लाग्छ यदि फेसबुक नभएको भए सायद साइवर पनि चल्दैनथे होलान । फेसबुक चलाउन जान्न चाहनेहरूले, करोडौको मोवाइल, ल्यापटप, कम्प्युटरको ब्यापार बढाउन राम्रै सहयोग गरेको छ । सञ्चारको पहुच सबै सामु हुनुत राम्रै कुरा हो तर सबै समय फेसबुक चलाएर नै फाल्ने हो भने धेरैको जिन्दगी यही फेसबुकले गर्दा बरबाद पनि हुन सक्छ ।

मान्छेको हरेक क्षण तथा उत्सवहरूको सबै जानकारी फेसबुकमा राख्न थालिएको छ । अहिलेत मलाई लाग्छ फेसबुक भनेको एउटा डायरी जस्तै हो । समाचारदेखि लिएर, प्रेममा परेको, डिग्रि सकेको, घरमा वच्चा जन्मेको, विहे गरेको, नयाँ बाइक तथा नया गाडी किनेको, जागिर पाएको, झगडा परेको, आदी सबै कुराहरू फेसबुकमा देख्न पाइन्छ । कुनै नदीमा मान्छे डुवेर मर्न आटेको छ भने त्यसलाई बचाउनुको सटा फोटो खिचेर फेसबुकमा हाल्न हतार हुन्छ । बेलैमा फेसबुक बारेपनि सोच्ने वेला भएको छ ।

अझै अचेल त फेसबुकमा भगवानको फोटोहरू राखेर एउटा भेटी स्वरुप एक लाइक ठोकौ भन्दै सेर गर्नेहरू कम छैनन् । फेसबुकमा नराम्रा काम मात्र पनि भएका छैनन् राम्रा कामहर पनि भएका छन् । विभिन्न कामहरूको लागि सहयोग माग्नेदेखि लिएर विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगिताको लागि भोट माग्ने काम पनि फेसबुकबाट नै भएको छ । अहिले फेसबुक सबैका लागि राम्रो भएको छ । मोवाइल किन्दापनि फेसबुक छ कि छैन भन्नेहरू पनि धेरै छन् । त्यो मोवाइलको काम फोन गर्ने हैन फेसबुक चलाउनको लागि हो भन्ने भएको छ ।

अब दशै आउन पनि आट्यो, धरैलाई क्यामेरा किन्ने रहर पनि जागेको छ कारण फेसबुकमा फोटो हाल्नका लागि । अबको दशैपनि सायद धेरैले फेसबुकमा नै मनाउनेछन्, धेरैलाई घरको याद फेसबुकमा नै आउने छ, साथी संगीहरू पनि फेसबुकमा नै भेट हुनेछन्, पिङ पनि फेसबुकमा नै खेल्नेछन् । अन्त्यमा विश्वका धेरै मानिसलाई एउटै सञ्जालमा वाध्न सफल भएकोमा फेसबुक वनाउने जुकर वर्गलाई धेरै धेरै धन्यवाद ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *