हिन्दु धर्मावलम्वीहरूको महान चाड दशैं नेपालीहरूको र आँगनमा भित्रिन लागेको । गाँउदेखि शहरसम्म क्रमिक रुपमा दशैंको चहलपहल सुरु हुन थालिसकेको छ । सबै जना यति बेला यसपालीको दशैं कसरी मनाउने भन्ने योजना बनाउन थालिसकेका छन । अनि बिदेशिएकाहरू पनि दशैंमा घर फर्कनकै लागि यतिबेलादेखि नै सामानहरू पोको पार्दै होलान् । बालबालिकाहरू दशैंको टिका लगाउन मामाघर जाने दिनको प्रतिक्षामा हातका औलाहरू गन्न थालिसकेका छन । किसान मजदुर अफिसर लगायतका सबै जना यति बेला दशैंका लागि जोहो गर्न थालिसकेका छन ।
दशैंले वास्तवमै नेपाली लोक सँस्कृति र धार्मिक परम्पराको पहिचान र अस्तित्वलाई जोगाई राखेको छ । सत्य युगमा सुम्भ र निसुम्भ दुई दाजुभाईले स्वर्गका इन्द्रादि देवताहरूलाई अनाहकमा दुःख दिई स्वर्ग आफ्नो कब्जामा लिई सारा देवताहरूलाई स्वर्गबाट लखेटेपछि सुम्भ निसुम्भ दानवहरूको दुराचारबाट विरक्त भएका देवताहरू देविका चरणमा शरण माग्न गएको र देवीले इन्द्रादि देवताहरूको रक्षाका लागि दुर्गाको अवतार लिई दानवहरूको नास गरी स्वर्ग र देवताहरूको उत्थान गरेको भन्ने धार्मिक विश्वास रहेको छ । देवताहरूको रक्षाका लागि देवीले दुर्गाको अवतार लिई स्वर्ग नजिकैको वनमा आफ्नो वहान सिंहमाथि चढी वन विहार गर्न लागेको बेला सुम्भका सेनाहरूल नव सुन्दरीे देवीलाई स्वर्गको बंगैचामा यसरी वन विहार गर्न लागेको सबै वृतान्त सुम्भ माझ पुर्याए र सुम्भले त्यस सुन्दरीलाई आफ्नो समिपमा हाजिर गर्न आदेश दिएपछि सुम्भका सेनाहरूले नव सुन्दरी देवीलाई सुम्भको पटरानी भएर स्वर्गको राज्य भोग गर्ने प्रस्ताव पेश गरेपछि दुर्गा भवानीले जसले मसँग लडाई लडेर जित्छ म त्यसैसँग विवाह गर्न तयार छु भनेपछि दानव र देवीबिचको युद्धमा सुम्भ निसुम्भका सारा सेनाहरू र सुम्भ निसुम्भ दुवैलाई त्यही रणभूमिमा बध गरी विजय प्राप्त गरेको र त्यसैबेलादेखि विजया दशमीको टिका प्रसाद ग्रहण गरी हिन्दु धर्ममा आस्था राखने मानिसहरूले दशैंलाई धुमधामसँग मनाउँदै आएको पाईन्छ । दशैंलाई असत्यमाथिको सत्यले विजय प्राप्त गरेको पर्वको रुपमा पनि लिने गरिन्छ । यस्तै त्रेता युगमा लङ्का राजा रावयाले ऋषी तपश्वीहरूलाई दुःख दिई अन्याय अत्याचार गरेको र भगवान श्रीरामको धर्मपत्नी सीतालाई समेत अपहरण गरी दुःख दिएकाले भगवान श्रीरामले रावणलाई मारी विजय प्राप्त गरेको प्रशंग पनि दशैंसँग जोडिएको पाईन्छ । दशैलाई असत्यमाथिको सत्यको विजय प्रात्त गरेको पर्वका रुपमा मात्र हैन, मित्रता र सद्भाव बोकेको चाडका रुपमा मनाईन्छ । दशैंका कारण लामो समयदेखि पृथक रहेका र घर परिवारबाट निकै टाढा रहेका ब्यक्तिहर एक ठाँउमा भेला हुने, जीवनका तिता मिठा भोगाईका अनुभवहरू एक अर्कामा साटासाट गर्नुका साथै सुख दुःख बाँड्ने मात्र होईन मान्यजनका हातबाट रातो टिका र पंहेलो जमरा लगाई आर्शिवाद पनि लिने गरिन्छ ।
हिजो आज चाड पर्व मनाउने प्रचलनमा केही नयाँपन देखा पर्न थालेको छ । विगतका वर्षहरूमा दशैंलाई धार्मिक विश्वास र परम्पारा अनुसार दुर्गा भवानीको पूजाआजा गर्नुका साथै मान्यजनहरूका हातबाट टिका प्रसाद ग्रहण गरी आर्शिवाद लिने गरिन्थ्यो । जे जस्तो भए पनि आफ्नो गक्ष अनुसार किनमेल गर्नुका साथै आफूले सक्ने क्षमताले भ्याउने गरी दान दक्षिणा गरी दशैं मनाएको पाईन्थ्यो तर आजकाल चाड पर्वलाई देखासिखिका रुपमा मानाउँदै आएको पाईन्छ । छिमेकी जे गर्यो अर्कोलाई देखाउनका लागि पनि त्यसले त्यो भन्दा पनि बढी खर्च गर्ने प्रवृति हाम्रो समाजमा भित्रिएको छ । चाड पर्वको मर्म र भवानालाई बिर्सिएर आधुनिकतालाई पछ्याउँदै दशैंलाई क्षमताको प्रदर्शन गर्ने थलोको रुपमा विकास गर्दै लगेको पाईन्छ । आजकाल मानिसहरू महँगा पहिरन र चाहिए भन्दा बढी दान दक्षिणा र किनमेल गरी प्रतिस्पर्धात्मक रुपमा दशैं मनाउने गरेको छन । कुनै मानिस सामान्य रुपमा दशैं मनाई रहेको छ भने त्यसलाई सबैले साँघुरो नजरले हेर्ने गर्छन । कुरा काट्दै भन्ने गर्छन । र भन्ने गर्छन जाबो बर्ष दिनमा आउने दशैं जस्तो चाडमा समेत मिठो खान र एक जोर राम्रो लुगा समेत राम्रो लगाउन नसक्ने कस्तो मान्छे होला यो ! तर एउटा गरीब परवारको यथार्थ पीडा र वास्तविकता बुझ्ने प्रयास गर्दैनन् । समाजको साँधुरो सोचाईबाट जोगिनका लागि पनि न्युन आय स्तर भएका मानिसहरू पनि दशैंमा ऋण काडेर भए पनि धुमधामसँग मनाउन बाध्य भएका छन । यसो त आजकाल दशैं हुने खाने सम्पन्न वर्गका मानिसहरूका लागि हर्ष त गरिबी मारले थाप्लो थिचेका ग्रामिण किसानहरू लागि बाध्यता र नैराश्यता बन्दै गएको छ । आधुनिकतासँगै भित्रिएको विकृति र चाड पर्व मनाउने प्रवृतिलाई हेर्ने हो भने आजकाल दशैं धनी र गरिबलाई छुट्यायने थलोको रुपमा विकसित हुँदै गएको छ भन्दा पनि फरक नपर्ला । यसरी मानिसहरूले दिनप्रति दिन आधुनिकतासँगै भित्रिएका यस्ता खाले विकृतिहरूलाई पछ्याउँदै जाने हो भने चाड पर्वको अस्तित्व नै लोभ नहोला भन्न सकिन्न ।
यस्तै दशैं तिहारमा जुवा तासको खेल्नेहरूको पनि खालका खाल बसेकोदेखिन्छ । कतिपयले पारिवारिक जमघट र साथीभाईहरूसँगको भेटघाटका रुपमा बस्ने गर्दछन त कतिले मनोरञ्जनका रपमा । कतिपयले क्षणिक मनोरञ्जका लागि आफ्नो हैसियत बिर्सिर नराम्रो हारसँगै परिवार र जहान बच्चाहरूलाई विचल्लीमा पारिदिनछन । साथीसँगीहरूको रमाईलो भेटघाटको स्मरण्का लागि हल्का रुपमा मनोरनजन गर्नु स्वभाविकै हो तर मनोरन्जनका नाममा घर परिवार र स्वास्नी छोराछोरीहरूलाई रुवाएर भए नभएको धन सम्पति नै दाउमा राखी हार्नु भनेको ज्यूँदै मर्नु समान नै हो । अनि बर्ष दिनसम्म आफुले गरेको मेहेनत दःखको फल एकै क्षणको रमाईलोमा खेर फाल्नु मात्र नभएर खेलवाडमा लागेर दशैंमा आफ्नो परिवारलाई सुशी सट्टा आँशु दिनु पाप पनि हो । चाडपर्व मनाउँदा हामीले आफु खुशी रहने मात्र हैन आफ्नो परिवारलाई पनि हुशी पार्न सक्नु पर्छ । आखिर जे जस्ता विकृति र विसँगतिहरूले हाम्रो पिच्छा गरेता पनि धार्मिक परम्परा, रितिरिवाज र लोक सँस्कृतिको धरोहरका रुपमा रहेको यस्ता पर्वहरूको संरक्षण र सम्बर्द्धन गर्नु हामी सबैको दायित्व हुन आउँछ । मानिसले आफ्नो स्वार्थ पूर्तिका लागि धर्मका नाममा विभिन्न खाले विकृतिहरूको विरोध गर्दै सबै खाले चाड पर्वहरूलाई जीवन्त जोगाई राख्नका लागि धनी र गरिब बिचको विभेदको अन्त्य गरी सबैले हातेमालो गरी अगाडि बढ्नुमा नै हामी सबैको कल्याण हुनेदेखिन्छ । दशैंलाई देखासिकी र प्रतिस्पर्धाका रुपमा नभई यसको मर्म र परम्परालाई अँगाल्दै हर्ष उल्लासका साथ मनाउँनु पर्छ । यसपालीको दशैं सबैका लागि शुभ रहोस शुभकामना !
