Skip to content


दिन समाप्त भयो, रात; अचाल्की चिसोसँगै प्रगाढ़िन आतुर । रबुलाल बारम्बारको चिस्सिएको खोकीसँगै भित्तापट्टि फर्किएर निदाउने प्रयास गर्छ तर असफल ; उसकी स्वास्नी कालीगौरी १५ दिनको छोरीसँगै सुतिसक्छिन । अचानक उनको मनभरि अतित पोखिन्छ ; सम्झिन्छ, पहिलो श्रीमती राममाया अकालमै बितेपछि निस्सार जिन्दगी बाच्नुको आफैमा कहालीलाग्दो लाग्छ, आफैमा दबाव महसुस गरी दोस्रो ल्याए, बुढेशकालमा छोरीको धनि पनि भए तर एउटा कुरा संकोच छ समाजले गर्दा ।

श्रीमती बोल्न सक्दिन लाटी छे, तर मलाई कुनै पर्वाह थिएन । अस्ति पनि पल्ला घरकी पार्वती साहिलिले नानाभाती गौरुको बारेमाभन्दा मन कुटुक्क भाचिएको थियो । सोचाइको तीव्र चापले कोल्टे फिर्न मन लाग्दैन । रबुलाललाई सोझोपनसँगै चिरपरिचित दुखहरूसँग हातेमालो गर्दै संघर्ष गर्छ । सुतेको छोरीलाई हेर्छ टुपुक्क निदाएकी छे, । झ्याल छेउको टुकी निभ्न लागेको हुदैन तर उसको मन घरिघरि निभ्न खोज्छ समयको किम्दन्तिले । अप्ठ्यारो स्तिथिमा उसले कुनै सपना देख्दैन, बिहानीको पहिलो प्रभात मुस्कुराएर आउछ आँगनभरि तर दिन आउदैन । ऊ अनेक प्रहर काममा लगनशील छ, जति नै बिरमिपनामा पनि काममा नै जोतिनु उसको मौलिकपन हो। समयको किनारामा व्यतित हुन्छ उसको जीवनरेखा कामको चटारोहरू बीच । ऊ किसानी मान्छे हलो र कोदाली नै उसको सबभन्दा मिल्ने साथी । परिवार पाल्नुको एउटै विकल्प थियो खेती किसानी । ऊ छोरीलाई औधि माया गर्छ ममताको कुनै कसर बाँकी राख्दैन ।

लालिमा ६ महिना पुगेर ७मा लाग्छिन तर पनि उसमा कुनै सामान्य शिशुवास्थाका बच्चाहरू जस्तो व्यबहार हुदैन अलि सुस्त छिन । लालिमा अति सुकोमल फुल जस्ती छे, आँखा फिटिक्क परेका छन्, फुक्लुक्क परेको गाला छ हेर्दै सौन्दर्यले परिपूर्ण । रबुलाल छोरीसँग कु..कु ..हा…देखि हट..घोडा हटसम्म खेलहरू क्रमश रुपमा खेल्दै खेलाउछ ।

एक बेलुकी रबुलाल बारीको आधा जति काम सकेर घरतर्फ आउदै गरेको हुन्छ, उसको भेट गाउकै चाप्लुसी आइमाई बुतुकीसँग हुन्छ । बुतुकी रबुलाललाई बाटो छेकेर नै कुराको शिलशिला अघि बढाउछे, छोरीको हालखबर सोध्छे अनि कालिगौरिको कुरा निकाल्दै भन्छे “छोरी त्यति राम्री छे ३२ गुणले युक्त, फेरि आमासँगै राख्नाले एउटा गुणको कमि होला आमा जस्तै बोल्न नसक्ने लाटी ।”

रबुलाल बुतुकिको कुरा सुनी खुसुक्क रिसाउछ, त्यो कुरा बुतुकिले थाहा पाउदिन । अझ कुराको तारतम्य अघि बढाउछे अन्त्यसम्ममा छोरीलाई अरु नै कुनै ठाउँ स्पष्ट बोली आउनजेलको लागि लगेर राख्ने सल्लाह दिन्छे । उपायका रुपमा रबुलाल कै मूल घर बेसी लगेर राख्नु भन्छे । सोझो रबुलाल केही नबोली घरतिर लाग्छ, अनेक कुरा मनमा सलबलाउछ । घरमा श्रीमती खाना खान पर्खी रहेकी हुन्छे । खाना खाईसकेपछि उसलाई आज रेडियो चलाउने जागर हुदैन । बिस्तारामा जान्छ, धर्तीलाई अँध्यारोले गुटमुटाउछ । मनभरि पीडाप्रद छाल उमल्न्छ । ऊ प्रश्नहरूमा धेरै आफूलाई भुलाउछ अनि उत्तरहरूमा पनि । रबुलाल निष्कर्षकै अभावमा त्यो रात निदाउछ । प्रतिदिनहरूमा रबुलालले उसको सेखी झर्नेहरूबाट धेरै सुन्छ, ऊ बिरोध गर्न पनि सक्दैन । उसले रनभुल्लमै आफै निर्णय गर्छ ।

एउटा परिवर्तित दिन सुरु हुन्छ । कालिगौरी आतंकित छे, अचानक उसको काख खोसियो । दमित र अस्पष्ट आवाजमा छोरीलाई धेरै पुकार छिन, बिरोधमा भित्तापट्टि फर्किएर सुकसुकाउछिन । त्यो पिँढीमा झुन्डिएको रित्तो कोक्रो बारम्बार हेर्छिन झझल्कोले । उसको मनको भित्ताभरि छोरीको स्नेह र याद यति धेरै मुस्कुराएर आउछन ती सबै आँशुमा परिणत हुन्छ । ऊ आफै धुरुक्क रिसाउन बाहेक केही गर्न सक्दिन । पीडाको भारी बोकी धेरै बाटो धर्खाराउछिन । १५ दिन जति भो कालिगौरी र छोरी लालिमा याद अनि कल्पनामा मात्र भेटेको । उता छोरी अबोध स्वरमा ओठ कलेटी पर्ने गरी रुन्छे । मातृत्वको खोजी गर्छे प्रत्येक बोक्ने शरीरमा कतै फेला पार्दिन । झन् बढी चिच्याएर बिरोध जनाउन खोज्छे, कतै सम्भव पाउदिन आमाको काखको । गरिब र लाटी भएकै कारण कालिगौरीलाई आउन दिँदैन मूल घरमा ।

महिना दिन बित्छ लालिमाले काख छोडेको । लालिमालाई गाईभैसी र बजारिया दुध खुवाएर पालन पोषणको जिम्मा मूल घरकी हजुर आमाले लिएकी छिन । रबुलाल फुर्सदिलो समयमा छोरी भेट्न जान्छ । लालिमा अब नौ महिना लाग्छिन, उनीबाट त्यो सुकोमलाता, चंचलता, सौन्दर्यता दिन प्रति दिन गर्दै हराईसकेको छ। शरीर सुकेर आफैले आफैलाई नचिन्ने जस्तो भएको छ । उसलाई अज्ञात रोगले अठ्याउछ, एकोहोरो टोलाएर । आँखाभरि आँशु लतपत्याउदै सुख्खा रुन्छिन बारम्बार । धामीझाँक्रीको भरपूर उपयोग गरिन्छ, तर बीसको उन्नाइस पनि हुदैन ।

प्रतिदिन अवस्था खस्कदै जान्छ। रबुलाल छोरीको रुवाइको भाषा कहिल्यै बुझ्दैन । तर ऊ आफू बाबु हुनुको अहम प्रस्तुत गरिरहन्छ । लालिमाको प्रत्येक आँशुमा आमाको कोमल काखको आभाष गरिरहेकी हुन्छिन, तर त्यो भाषा ऊ स्वयम् बाहेक अरुले बुझेन्न ।

पाँच घन्टाको हिडाइपछि सदरमुकामको ठुलो अस्पतालमा ललिमलाई लिएर एक सहयोगीको साथमा ल्याईपुर्याउछ । अचानक मौसम परिवर्तन भई बाटामा ल्याउदा घमासान पानीले रुझौछ । त्यो पाखाभरि ओत लाग्ने गतिलो केही हुदैन, पानीले आनन्द मानी-मानी चुट्छ । लालिमाको दुई आँखा बन्द छ, आज बिहानदेखि रुन पनि मन गर्दिन । पटक पटक रबुलाल छोरीलाई बोलाई रहन्छ तर अनुत्तरित हुन्छिन लालिमा । झन् सिकिस्त पार्छ सिलाइन पनि आधा बोतल हुन्जेलसम्ममा । घरि घरि ऊ सुस्तरी आमा भन्ने शब्द वितरि आवाजबाट भन्छिन ।

कालीगौरी छोरीको बिरामीको खबर थाहा पाएपछि बाटाभरि रुदै अस्पतालमा आइपुग्छिन । उनी छोरीको गालामा सुम्सुम्याउछिन लालिमा गरौ पर्दै आँखा खोल्छे थोरै हास्न खोज्दै । कलिगौरी छोरीलाई काखमा मझेत्रो भित्र लुकाएर दुध दिन तयार हुन्छे, गनिएको दुधबाट केही आउदैन तर छोरी चुस्छे सासले भ्यौन्जेलसम्म आउछ कि भन्ने छोटो आशामा । बाहिर अन्धकार बढेर आफू भित्रै सबै धर्तीलाई लुकाउन खोज्छ । फेरि घनघोर पनि दर्किन्छ । लालिमा दुध चुस्न छाड्छे तर स्तनबाट मुख हटाउदिन । कालिगौरी मझेत्रो उठाई हेर्छिन लालिमाले आँखा बन्द गरेर अन्तिम सास फेरिसकेकी हुन्छिन । कालिगौरीको आँखामा आँशुको बाढी नै जान्छ । रबुलाल घुडा टेकेर शैय्यामा घोप्टिएर रुन्छ । दुवै मनको टुक्रालाई अंगालोमा लिएर अनन्त रुन्छन । अब समय दौडिएर धेरै पर पुगेको छ, रबुलाल न दौडिएर भेट्न सक्छ न कुरेर बस्न नै । एउटा मन थियो दुवैको तर आज दुवैसँग छैन पर शुन्य क्षितिजमा अनाहक मुस्कुराइरहेकोछ एक्लिएर ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *