Skip to content

युगिन यथार्थको प्रतिविम्व : जीवनयात्रामा

  • by


विश्व मानव सभ्यताकै निम्ति स्रष्टा अमृ्ल्य नीधि हो । स्रष्टाले नयाँ सृष्टि गर्छ । त्यसैले पनि ऊ अति नै महत्वपृ्र्ण व्यक्ति हो । संसारलाई हेर्न त सबैसँग यी छालाका दुई आँखा छन् । संसारको वास्तविकता र मान्छेको मनलाई हेर्न सक्ने हुनु नै स्रष्टा हुनु हो । यसो गर्न मनको आँखाबाट मात्र सम्भव छ । यस्तै मनका आँखाका धनी साहित्यकारको नाम हो-पुन्य कार्की । वि. सं.२०२७ साल भाद्र १८ गते उदयपुर जिल्लाको दुर्गम ठाउँ ताम्लिछा गाविस वडा नं. —२मा जन्मेका र हाल त्रियुगा नगरपालिका वडा नं. ७, मोतिगडा, उदयपुरमा स्थायी बसोबास गर्दै आएका साहित्यकार कार्की कलिलै उमेरमा साहित्यको महासागरमा पौडी खेल्न थालेका हुन् । अहिले उनी लेखन र शिक्षण कार्यमा संलग्न छन् ।

एम.ए., बी.एड., बी.एल.को औपचारिक शैक्षिक ज्ञान हासिल गरेका कार्कीको स्वाध्यायनको दायरा निकै फराकिलो रहेको उनका बौद्धिक रचनाहरूले पुष्टि गर्दछन् । (१) बाघले घाँस खायो (कविता संग्रह २०५४), (२) मखमली (कथा संग्रह २०५७), (३) जीवनयात्रा (लघुउपन्यास २०५७), (४) गम्भीरबहादुर थापाको कृतित्व र व्यक्तित्व (समालोचना २०५९), (५) कविको छैटौं इन्द्रीय (निबन्ध संग्रह २०६०), (६) मध्यरातमा (कथा संग्रह २०६२), (७) असल बन्छु (बालकविता संग्रह २०६३), (८) बलभन्दा बुद्धि ठृ्लो (बाललोककथा संग्रह २०६३), (९) एउटा हर्कुलसको खोजी ( निबन्ध संग्रह २०६३) र (१०) बलिदानीका गाथाहरू ( सहिद जीवनी संग्रह २०६४) गरेर १० ओटा विविध विधाका स्रष्टा पुन्य कार्की बलियो कलम भएका जनपक्षीय साहित्यकार हुन् । नव उदय साप्ताहिक, सहयात्री त्रैमासिक साहित्यिक पत्रिका र नयाँ विहान साहित्यिक संगालो जस्ता पत्रिकाहरूको सम्पादन समेत उनीबाट भएको छ ।

पुन्य कार्कीका कविता र दुःख काव्य गरेर अरु दुई कृतिहरू प्रकाशोन्मुख छन् । मोफसलमा बसेर कलम चलाए पनि नेपाली साहित्यको ढुकुटीमा १० वटा कृति दिनु आफैंमा एक अनुपम उदाहरण हो । हृदय कल्पाउने तागत भएका स्रष्टा कार्कीको कलम प्राचीन संस्कृत, पौराणिक, राष्ट्रिय र अन्तर्राष्ट्रिय इतिहास, कला, साहित्य एवं राजनीतिप्रति मुखरित भएको छ । व्यापार, राजनीतिभन्दा शिक्षण पेशामा संलग्न भएकाहरूले साहित्यमा कलम चलाएको पाइन्छ । स्रष्टा कार्की शिक्षण पेशामा आवद्ध भएका कारणले गर्दा पनि कलमकै भरमा बाँचेका छन् । जागिरे जीवनले भौतिक सुख र शान्ति दिए पनि उनी त्यत्तिमै सीमित रहन सकेका छैनन् । समाजमा व्याप्त थिचोमिचो, शोषण-दमनलाई टुलुटुलु हेरेर चित्त बुझाउन नसक्दा नै उनको कलम चलेको हो भन्ने स्पष्ट देखिन्छ । जीवनयात्रा (लघुउपन्यास २०५७) का स्रष्टा पुन्य कार्की फुलटाइमर जागिरे भएका कारणले फुलटाइमर लेखक बन्न सकेका छैनन् । हर्दम व्यस्त जीवनमा रमाउन पाए सन्तोष ठान्ने स्वभावका कार्कीले आफ्नो कलमलाई संख्यात्मकतातर्फभन्दा गुणात्मकतर्फ झुकाएको उनका कृति पढ्दा स्पष्ट हुन्छ ।

उनी आफ्नो अभीष्टका वारेमा भन्छन्ः-…उज्यालोको जयगान र अँध्यारोलाई मर्दनवाण ताकेर कालो रातको मुटु क्षतविक्षत पार्नु यस स्रष्टाको लक्ष्य हो । …प्रकृतिमा उज्यालो दिन त चिरस्थायी थिएन, त्यसलाई कालो रातले लखेट्यो । झन् रात त अजम्बरी छदै छैन, यो पनि उज्यालोको उषाको आगमनपछि विदा हुन्छ, धर्तीबाट ।…साँझबाट शुरु भएको कलिलो रात अहिले खिँइदै खिँइदै आधा रात भएको छ, अब खिइन आधी मात्र बाँकी छ ।… अहिलेको समकालीन यथार्थका बहुल पाटालाई रचनाकर्ममा स्रष्टाहरूले आफ्नो ठाउँबाट सार्थक र उद्देश्यमुलक ढ्रगले गर्नुपर्छ ।

रात रेटिएपछि अर्थात् रात सकिएपछि अवश्य उज्यालोको उषाकाल आउँछ । हरतरहले पीडित जनताको चर्याइरहेको घाउमा मलहमपट्टी लगाए पछि अवश्य पीडा कम हँुदै जान्छ र घाउमा खाटा बस्छ । त्यहीँ उज्यालो भविष्य देखापर्दछ । साहित्यकार पुन्य कार्कीका सम्बन्धमा अग्रज साहित्यकार रामप्रसाद ज्ञवालीको कलम बोलेको छ- बहुसंख्यक शोषितपीडितप्रतिको गम्भिर चासो, राष्ट्र र राष्ट्रियताप्रतिको गम्भीर संवेदनशीलता, समाजप्रतिको दायित्व बोध र प्रगतिशील राजनैतिक सचेतना कार्कीका प्रमुख विशेषता हुन् ।….सामन्तीसंस्कार, दासमनोवृत्ति र सामाजिक शोषणले लाटो पारिएका मनहरूमा विद्रोह सञ्चार गर्छन्, अज्ञानता र अशिक्षाले सुषुप्त मनहरूमा जागृति भर्छन् र मानवद्धेषीहरूद्धारा गरिएको असह्य अत्याचारले पलायन भएका मनहरूमा आँट र उत्साह छर्छन् ।

जीवनयात्रा (लघुउपन्यास २०५७) को बारेमा लक्ष्मी रिजालको कलमले बोलेको छ ः- आजकल कोही दुःखले आत्तिएका छन्, कोही सुखले मात्तिएका छन । उपन्यास जीवनयात्रा दुःखीको घर-आँगनमा फनफनीघुम्छ, घुमिरहन्छ र उज्यालो भविष्यको गोरेटो खोज्छ । यसो गर्दा सुखको नगरीमा राज गरिरहेका सामन्तहरू अत्तालिन्छन् र आफ्नो सुखसयल धरापमा परेको सम्झन्छन् ।…समाजमा वितण्डना मच्चाएर मुठ्ठिभर सामन्तको गोडामा सुख थुपारिदिने चाटुकारहरूका हातगोडा कुष्टरोगले गल्दछ भन्ने आभाष जीवनयात्रा लघुउपन्यासको यात्राभरि पाइन्छ ।

जीवनयात्रा (लघुउपन्यास २०५७)मा देखिएका मुख्य पात्रहरू मास्टर रामु, उनकी श्रीमती सुभद्रा र भाइ सुमन हुन् । असल चरित्रका अन्य पात्रहरूमा खत्री जेठा, ढाक्रे बा, ढाक्रे केटो आदि हुन् । अन्य नकारात्मक प्रवृतिका पात्रहरू पनि मनग्यै उपन्यासमा छन् । प्रधान बृ्ढा, जिम्दार बाजे, ठृ्ला घरे, कप्तान बस्नेत आदि नकारात्मक प्रवृतिका पात्रहरू हुन् । समाजमा व्याप्त विकृति, विसंगति, शोषण, उत्पीडनको जरैदेखि निदान गर्ने काममा सुमन जुटेका छन् । एउटा गाउँले ठिटोलाई दाजुभाउजृ्ले दुःख गरेर उच्च शिक्षा दिलाएका छन् । ज्ञान भेट्टाएपछि सुमनको ज्ञानको क्षितिज अझै फराकिलो भएको छ । उनी समाज पछि पर्नुमा व्याप्त विकृति, विसंगति, शोषण, उत्पीडन नै जिम्मेवार छ भन्ने ठहरमा पुगेका छन् । उनले हाँसिल गरेको आई. एस्सी. सम्मको शैक्षिक ज्ञान शोषकहरूका निम्ति काल हुन्छ । गाउँका निमुखा जनताको नाइके भएर उनी देखा परेका छन् ।

जीवनयात्रा (लघुउपन्यास २०५७) का आधारमा स्रष्टा पुन्य कार्कीका कृतिगत विशेषताहरूलाई निम्न बमोजिम केलाउन सकिन्छ ।

(१) निरंकुशताका विरुद्धमा केन्द्रित ः— जीवनयात्रा (लघुउपन्यास २०५७)मा वर्णित घटनाहरूमा निरंकुशताका विरुद्धमा केन्द्रित छन् । निरंकुशता विरुद्धको जनयुद्धका एक होनाहार सपुत सुमनलाई कायरतापृ्र्वक अवसान गर्ने काम भएकोे छ । सहिदहरूका अधुरा सपनाहरू पुरा गर्न केन्द्रित भएर जनयुद्धलाई मलजल दिने काममा मास्टर रामु, उनकी श्रीमती सुभद्रा र भाइ सुमन समर्थवान् भएका छन् । सरकारी सुरक्षाकर्मीको र सामन्तहरूको कलुषित नजरबाट बच्दै स्वाधिनताको लडाइँलाई अघि बढाउने काम नै उपन्यासको बलियो पाटो हो । उनीहरूको अपराधिक सोचलाई छक्याएर सुमन ज्यान बचाउदै अघि बढ्न सफल हुन्छन् ।

(२) युगिन यथार्थको प्रतिविम्वन ः— जीवनयात्रा (लघुउपन्यास २०५७)मा वर्णित घटनाहरूमा २०४६ फागुन ७ गतेदेखि थालिएको जनआन्दोलनको सेरोफेरोमा स्वतन्त्रताप्रेमि जनताले भोगेका दुःख, पीर र वेदनाहरूको यथार्थ चित्र उतारिएको छ । त्यस बेला जनताले तौली तौलीकन शब्दहरू बोल्नुपथ्र्यो । आफ्ना मनका करुण भावहरू पनि त्यसै गुम्स्याएर फुस्रा शब्दहरू मात्र प्रयोग गर्नुपथ्र्यो । आँसु चुहाउन पनि मनग्यै आँट गर्दा मात्र संभव थियो । हरेक सर्वसाधरण जनताका आँखाका सपनाहरू चारैतिर च्यातिएका थिए । अमानवीय घटनाहरूको लेखाजोखा पटकै थिएन । भ्रष्टचारी घटनाहरूको हिसाबकिताव र नालीबेली बन्दै छँदै थिएन । यो उपन्यास त्यो युगलाई जोख्ने असली इतिहास होभन्दा अतिशयोक्ति गरेको नठहर्ला ।

(३) अग्रगामी पात्रमा केन्द्रित ः— उपन्यासका मुख्य पात्रहरू मास्टर रामु, उनकी श्रीमती सुभद्रा र भाइ सुमन हुन् । असल चरित्रका अन्य पात्रहरूमा खत्री जेठा, ढाक्रे बा, ढाक्रे केटो आदि हुन् । सबै पात्रहरूमध्ये सुमन चाहिँ प्रत्यक्ष अग्रगामी पहलकदमीमा संलग्न छन् । नयाँ नेपालको निर्माणमा यी पात्रहरूले कतै न कतै पसिना बगाएका छन् । विद्रोहको आवाज दिएका छन् । रगत चढाएका छन् । प्राणको आहुति दिएका छन् । उपन्यास पनि सुमनकै जीवनयात्राको सेरोफेरोमा केन्द्रित छ ।

(४) तीतो यथार्थको उद्धाटन ः—उपन्यासले नेपालीहरूको जीवनको तीतो यथार्थलाई उद्घाटन गर्ने काम गरेको छ । समाजमा व्याप्त विकृति विसंगतिको चिरफार गर्ने काम गरेको छ । अन्याय-अत्याचार, भोकमरी, श्रमको मृ्ल्य विचलनप्रति आपत्ती जनाइएको छ । समाजले भोग्दै आएको कटु सत्यलाई बिना ढाकछोप कथामा खुल्लमखुल्ला आएका छन् । उपन्यासले कुनै न कुनै रुपले पाठकहरूलाई सचेत तुल्याएका छन् ।

(५) प्रगतिशील संदेशका संवाहक ः— उपन्यासले प्रगतिशील संदेशका छाडेको छ । अन्याय अत्याचारका विरुद्ध बमवर्षा गराएको छ । कतै कसैले पनि थिचिएर बस्नुहुन्न । कसैको अतिलाई कहिल्यै सहनुहुन्न भन्ने संदेश छाडेको छ । भोको जनताले पेट भर्न र नाङ्गो जनताले आङ्ग ढाक्न पाउँनुपर्छ भन्ने आवाज गुञ्जेको छ ।

उपन्यासमा सुमनको जीवनलाई विविध कोणबाट वर्णन गर्न खोजिएको छ । यहाँ पनि उनको जीवनलाई तीन चरण विभक्त गरेर विश्लेषण गर्ने जमर्को गरिएको छ ।

(१) पृ्र्वाद्र्ध चरणः- यो चरण सुमनको शैशवस्थाको चरण हो । उनी २ वर्षको उमेरको हँुदा नै पिता केदारमानको मृत्यु भयो । त्यसको वर्ष दिन नवित्दै मातृवियोग सहनुपर्यो । ममतामयी भाउजृ्को न्यानो काख र स्नेहालु दाजु रामुको कृपालु छहारीमा उनको वाल्यकाल वित्यो । उनी सानैदेखि सोझा र इमान्दार थिए । अन्याय, अत्याचार गर्नुहुन्न र कसैले त्यसो गर्यो भने त्यसलाई उपयुक्त ठान्नुहुन्न भन्न्ो संस्कार उनले परिवारमै पाएका थिए ।

(२) मध्यान्तरण चरणः- यस चरणमा सुमनको शिक्षादीक्षाको कुरा आउँछ । दाजुभाउजृ्ले कष्टपृ्र्वक सुमनलाई हुर्काए र विद्यालयको ज्ञान दिलाए । उच्चशिक्षाका निम्ति पनि जसोतसो गरेर शहर पठाए र आई.एस्सी. सम्मको शिक्षा दिलाए । सुमनले पनि परिवारको नाजुक आर्थिक अवस्था वारे प्रयाप्त जानकारी लिएका थिए । त्यसैले फारु गरेर खर्च गर्थे । मेहनेती थिए । त्यसैले राम्रो अंक ल्याएर परीक्षामा पास गरे । देशमा निरंकुश पञ्चायती व्यवस्था थियो । शासनमा निर्दलीय निरंकुश व्यवस्थाका चाटुकारहरूको बोलवाला थियो । त्यसको प्रत्यक्ष असरबाट उनी अछुतो रहन सकेनन् ।

(३) उत्तराद्र्ध चरणः- शिक्षादीक्षा ग्रहण गरिसकेपछिको परिपक्व मानसिकताका सुमनको समय उपन्यासको उत्तराद्र्धकाल हो । यहाँसम्म आइपुग्दा उनमा पृ्रापृ्री विद्रोही भावना जागिसकेको छ । अन्याय र अत्याचारको विरुद्धमा लाग्दा उनी जेल परेका छन् । २ वर्षसम्मको कठोर जीवनयापन भोग गरेर उनी जन्मघर फर्किन्छन् । आफ्नो गाउँमा पनि प्रधान बृ्ढा, जिम्दार बाजे, ठृ्ला घरे, कप्तान बस्नेत आदि जस्ता नकारात्मक प्रवृतिका पात्रहरूले सोझासीधा जनतालाई बलीको बोको बनाएर आफ्ना स्वार्थपृ्र्ति गरिरहेको भेट्दछन् । यस्तो निर्दलीय व्यवहाराका विरुद्धमा उनी जनतालाई सचेत र सजग बन्न खबरदारी गर्छन् । सुमनको यो क्रियाकलाप शोषक-सामन्तहरूलाई सह््य हँुदैन र उनीहरू सुमनलाई फेरि काराबासको जीवन भोगाउन सदरमुकामतर्फ लाग्छन् । खत्री दाइको सूचनाबाट यी कुरा जानेपछि उनी भूमिगत भएर क्रान्तिको महायज्ञलाई सम्पन्न गर्ने अठोट गर्छन् । देश र जनतालाई स्वतन्त्रता दिलाउने यस महायज्ञमा आफ्ना दाजुबाट यथेष्ठ सहानुभृ्ति उनी पाउँछन् ।

राजनैतिक व्यक्तित्व भएपछि जीवन जनताकै शरणमा छाड्नुपर्छ । यहाँ सुमन आफ्नो पार्टीको सल्लाह र निर्देशन बमोजिम भूमिगतरुपमा रहेर तोकिएको काम गर्ने सोच बनाउदै घर छाडेर हिँड्छन् । बाटामा उनको भेट ढाक्रे बा र ढाक्रे केटो जस्ता पात्रहरू भेटिन्छन् । ६० वर्षे प्रौढवस्थामा समेत ढाक्रे बा को जीविकोपार्जन ढाक्रो नबोकीकन हुन्न । स्कृ्ल पढ्न जाने उमेरको ढाक्रे केटोले जीवन ज्यृ्न नै ढाकर बोकेको प्रसङ्ग कम मार्मिक छैन । यिनै हेपिएका, मिचिएका र प्रलयवेदनाले थिचिएका जनतालाई सामन्तहरूको चंगुलबाट मुक्त गरी समुन्नत भविष्यनिर्माण गर्न सुमनले क्रान्तिको बाटो अपनाएको हो । उनको बौद्धिक सुझबुझले उनी आफ्नो काम फत्ते गरी छाड्नेछन् भन्ने देखाएको छ ।

नभन्दै नेपालमा पहिलो विशाल जनआन्दोलन २०४६ फाल्गुन ७ गतेदेखि शुरु भयो र २०४६ चैत्र २४ गते अन्त्य भयो जसबाट निर्दलीय पञ्चायती व्यवस्था आर्यघाट पुग्यो । शिशु बहुदलीय व्यवस्थाका कमजोरीपनको फाइदा उठाउँदै राजा ज्ञानेन्द्रले प्रतिगामी कदम अघि सारे । यसले द्धितीय जनआन्दोलनको जन्म गरायो । २०६३ बैशाख ११ गते ज्ञानेन्द्रले आफ्नो हार सवीकार गरे र जनताको राज्य सत्ता जनतालाई नै फर्काइदिए । बिझ्ने काम गर्नेहरूको झाँको झार्नु र अन्यायमा परेकाहरूको उद्धारमा आफ्नो श्रद्धा झल्काउनु कार्कीको उपन्यास लेखनीको अभीष्ट हो । एक शिक्षकका आँखाले यी जनताका हरेक किसिमका समस्याहरू बुझ्न नसक्ला । एक स्रष्टाका आँखाले भने जगत्लाई नै नियाल्न सक्छ ।

साहित्यकार पुन्य कार्की जनताका सच्चा स्रष्टा हुन् । लघुउपन्यासका माध्यमबाट पनि प्रगतिशिल विचारधारालाई सार्वजनिक गर्न सफल हुन पुगेका छन् । उनको कलम साह्रै तीक्ष्ण छ । अढाई करोड नेपालीको मुक्तिको लागि साहित्यकै माध्यमबाट योगदान दिन उनको कलमलाई जुटेको छ । सुमनजस्ता मुक्तिकामी योद्धाहरू जन्मेका कारणले नै इतिहासमा यी प्रीय घटनाहरू दर्ता हुन पाएका हुन् । हामीले पनि स्वाभिमानी शिर ठाडो पारेर चन्द्रसृ्र्य अंकित ध्वजामुनि रमाउन पाएका हौँ । यस्ता सुमन जस्ता वीर पात्रलाई हरेक स्वाधिनताप्रेमिले सलाम गर्नैपर्छ र यस्ता पात्र जन्माउने कलमकर्मी पुन्य कार्कीको कलमलाई साधुवाद भन्नैपर्छ ।

नन्दलाल आचार्य
तपेश्वरी ः १, उदयपुर

Leave a Reply

Your email address will not be published. Required fields are marked *