Skip to content


बसन्त ऋतुले अन्तिम बाटो तताउन लाग्यो । बर्षा लाग्ने संकेतहरू जताततै देखिन थालेका छन् । बनजंगल, रुख बिरुवाका मुना र पालुवाले पृथ्वी हरियो रेशम साडी लगाएर अन्माउन लागेकी दुलही जस्तै सिंगारिएको देखिन्छ । सर्पले फेरेको काँचुलीहरू कता कति भेटिन थालेको छ । गाई बस्तुले आंग फेरिसके । चौर, खेतबारी, खोलानालाका किनारहरू हरिया घाँसले ढाकिन लागेका छन् । पानीका मुहानहरू अलि अलि रसाउन लागिसके । चराचुरुंगीहरू पखेटा फिंजाएर भुररर्रर्रर्रर्र उडेर फेरि रुखमा आएर बस्छन् । बर्षा ऋतु लाग्नु अगाडि फूल्ने फूलहरूमा भमराले पालैपालो शेचन गरिरहेका छन् । रंगीबिरंगी पुतलीहरू एक ठाउँबाट अर्को ठाउँ आउँदै जाँदै गरेको दृश्य त झनै हेरी रहुँ जस्तो लाग्छ । पृथ्वीले मगमगाउँदो सुवास छरी सकेको छ । मानिसहरूमा के गरौँ के गरौँ जस्तो उमंग छ । यी सबै कुरा हुँदा पनि नीरमणिको अनुहारमा कुनै खुशीका लहर छाएका छैनन् । उसलाई एउटै कुराले खाएको छ, शिक्षित बेरोजगार । आफ्नै बाबुले न्वारन गरी जुराएको उपनाम “पढेको मूर्ख” भन्ने शब्दले ।

बाबु भन्छन् “त्यत्रो खर्च गरी पढाएँ । न जागिर खान सकिस्, न कुनै राम्रो इलम समाउन सकिस् । तिनै लिखा परेका गंधें केटीका पछि लाग्दै गाउँ बेसी गर । दाइहरू कहाँदेखि कहाँ पुगिसके । हेरी राख ! उनीहरूका अगाडि नोकर जस्तै भएर तेरो जिन्दगी बित्छ । हामी हुन्जेल जसो तसो होला, हाम्रो शेख पछि त बाबै तेरो कोही हुँदैन । सबै मान्छे पैसाको पछि दगुर्छन् ।”

हुन त बाले मेरै लागि भनेका हुन् । म के गरौ ? समय र परिस्थिति मेरो काबुभन्दा बाहिर छ । लाख कोशिस गरें हुदैन । दाइ भाउज्यूहरूको व्यवहार हेर्दा त हाम्रो कुनै आपसी सम्बन्ध नै छैन जस्तो गर्छन् । सबै कुरा यथार्थ देखी देखि पनि बाले किन यसो गर्छन् । मैले काम पाइन, तर उनीहरूको बुढेस कालको साहरा त हुन्छु होला नि !

फेरि बाबुले बोलेका कटाक्ष शब्दहरूलाई सम्झदैं नीरमणिले भन्यो, होइन हौ ! मलाई किन सधैं सौताको छोरो जस्तो व्यवहार गर्छन् ? म यिनको जन्मजात शत्रु हुँ कि के हो ? हामी वीचमा हाड-नाता र रगतको सम्बन्ध छ । उनी आफैंले बैदिक कर्म-काण्ड गरी छोराको नामाकरण गरेर सामाजिक र पराम्परिक सम्बन्ध जोडिएको छोरो पो हुँ त ! पढेर काम पाइन त मेरो गल्ती होइन नि ! कुनै दाइ लाहुरे छन्, कुनै सरकारी अड्डामा जागिरे छन्, कुनै मास्टरी गर्छन् । उनीहरूले कमाएको सबै पैसा बाबुको खुट्टामा राखेका छन् र ? त्यही आठ पाँच दिने हुन् । फेरि पनि मेरा बाको छोराहरू प्रति हेर्ने दृष्टिकोण किन यस्तो होला ? घरको काम सबै गरेको छु । मेलापात, घाँसदाउरा, भारोपर्म सबै थामेको छु । एकै आमाको पेटबाट जन्मिएका सन्तान माथिको यस्तो असमान व्यवहार हेर्दा कहिले काहीं त मरेको दिन लाग्छ ।

नीरमणिले खेत बारीका मकै गोडी सक्यो, बर्ष भरीलाई पुग्ने दाउरा काटेर कटेरो भर्यो । घर कटेरा, थान्को मुन्को सबै सक्यो । घरमा चाहिने नूनतेल, मसला, बर्षाका समान ल्याएर आमालाई जिम्मा लगायो, धानको ब्याड राख्यो । लगभग यस पटकको बर्षा याममा गर्ने काम मात्रै बाँकी राखेको छ । त्यो पनि समय आएको भए सकी दिने थियो । उसको मनमा लागेको छ, आफू नहुँदा पनि आमालाई कुनै किसिमको दु:ख नहोस् । नौ महिना पेटमा बोकिन् । जन्माइन्, हुर्काइन्, एउटा आँखा नै नउघ्रिएको पिपिरालाई हुर्काउन त्यति सजिलो थियो र ? आमा बाबुको न्यानो मायामा घरकै छहरीमा बसेर उनीहरूकै सेवा गरौँ भनेर घर छोडेर कही टाढा जान सकिन । जाउँ ! कता जाउँ ? बसौं भने पनि यहाँ को नै छ र जस्तो दोधार मनले बेला बेला नीरमणि अतालिने गरेको छ । उसलाई शारीरिक तनावभन्दा पनि मानसिक तनावले ज्यादै ग्रसित बनाएको छ । भौतिक सुख सुविधालेभन्दा बाबु-आमा र आफन्तको मायाले कता हो कता माने राख्छ ।

आखिर के हो यो नाता सम्बन्ध ? नीरमणि एक छिन झोक्रायो । आमाले जन्माइन्, अथाह मायाको सागरमा नुहाएर ताते गर्न सिकाइन् । बाले काँधमा बोकेर खुशी हुँदै यता उता गरे । बा कै हातका औंला समाएर गाउँ बेशी गर्न सिकें । दाइहरूका पछि पछि लगेर स्कूल गएँ । हिड्न नसकेका बेलामा पिठ्युमा बुई बोकेर लाने ल्याउने गरे । बहिनीहरू सँगै खेलेर हुर्किए । तिहारमा टिका लगाई दिए । बिहे गरेर जाने बेलामा मैले पनि कन्यादान गरी गोडा धोएर पठाएँ । आखिर यो सबै रगतको नै सम्बन्ध हो, पारिवारिक हाड नाताको सम्बन्ध हो । आफन्तसँगको सम्बन्ध अर्को छ । गाउँ-घर छिमेकीसँगको सम्बन्ध अर्को छ । मानव मानव बीचको सम्बन्ध अर्को छ । मानिस, प्राणी, जीव र प्रकृति बीचको सम्बन्ध अर्को छ । हेर्दै ल्याउँदा सबैतिर नाता र सम्बन्धले बेर्दै बेर्दै लगेको छ । सबै आफ्नै ! सबै एकै जस्तो । सबै सम्बन्ध नै सम्बन्ध जस्तो !

आँगनको डिलमा रोपेको उखुलाई हेर्यो । यो उखु र हामी बिचको पनि सम्बन्ध छ, तर केवल स्वार्थको सम्बन्ध ! जब यो हुर्किन्छ, तब काटेर यसलाई विभिन्न तरिकाले खाइन्छ । नजिकै घुम्दै गरेको बिरालोलाई हेर्यो, यस बिचरासँग पनि हाम्रो सम्बन्ध छ । यसलाई जूठोपूरो दिएर पालिन्छ, घरमा मूसाको बिगबिगी नहोस् भनेर । यदि यसले मूसा मारेन भने यसको सम्बन्ध हामीबाट टाढिदै जान्छ । कटेरमा बाँधेको गाईतिर आँखा घुमाउँदै सोच्यो । घाँटीमा दाम्लाले बाँधेर राखिएको छ, दूध दिन्छ, दही घ्यू बनाइन्छ । मिठो परिकार खान पाइन्छ भनेर गाई र मान्छे बीचको सम्बन्ध बनाएको हो । जब दूध दिन छोड्छ, गोठबाट भाटा लगाउँदै कौडीको दाममा बेचिन्छ । गाईले सकी नसकी रुदैरुँदै जानुपर्छ । हिजो दूध दिउन्जेल आफ्नै आमा जस्तो ! आज खूर लागे पछि कुन चाहिँ निर्दयीको हातबाट मारिन्छ । कति नीच स्वार्थभित्र रुमलिएका छौं हामी ! बाख्राको खोरमा उघ्राउँदै गरेको खसीतिर हेर्यो र भन्यो, योसँग अझै गहिरो हिंसात्मक सम्बन्ध छ । यसको हत्या गर्छ र मान्छे मांस भोजन गर्छ । त्यस बेला उसलाई कति आनन्द अनुभूति हुन्छ । कति निर्दयी र स्वार्थी सम्बन्ध छ योसँग मानिसको ।

नीरमणिले नाता सम्बन्ध वीचको समिकरण गर्दै गयो । मानिस र वातावरण बीचको सम्बन्धको समिकरण मिल्यो । ऊ खुशी भयो । मानिस र जीव जन्तु वीचको समिकरण गर्यो, केही कुरा मानिसले त्याग गर्यो भने त्यसलाई पनि टालटुल गरेर मिलाउन सकिन्छ जस्तो भयो । मानिस मानिस वीचको सम्बन्धलाई केलाउँदै गयो । कता कता मिल्ला मिल्ला जस्तो देखियो । गरिब गरिब वीचको सम्बन्धमा पनि मिलजुल नै होला जस्तो देख्यो । धनी धनी वीचको सम्बन्धमा शुत्रलाई मिच्माच गर्दा ठिकै होला जस्तो देख्यो । उसले हाम्रो समाजमा ब्याप्त धनी र गरिब वीचको सम्बन्धको समिकरणलाई मिलाउन खोज्यो । अहँ पटक्कै मिलेन । यताबाट अलिकति काटकुट गर्यो, उताबाट अलि कति तास्तुस गर्यो, एकातिर अलि अलि च्यातचुत गर्यो, अर्कोतिर अलि कति टालटुल गर्यो । तर पनि मिलेन । हो यहींनिर मानिस चुकेको रहेछ । सबै सहज तरिकाको शुत्र वनाएर धनी र गरिब वीचको समिकरणलाई सहज बनाउँन । हुने र नहुने, गरिब र धनी, बलिया र निर्धा वीचको नाता सम्बन्धको खाडल गहिरो रहेछ, पुर्नै नसकिने खालको गहिरो । यसैमा मेरा परिवार अडिएका रहेछन् । यसैमा मानिसहरू घुम्दा रहेछन् ।

नाता सम्बन्ध पनि वनाएर हुने न हो । के थियो र पहिले ? मेरी आमा अर्काकी छोरी थिइन् । बासँग बिहे गरेर आइन्, त्यहाँ एक खालको लोग्ने स्वास्नीको सम्बन्ध जोडियो । हामी छोरा छोरीहरू भयौं, आमा-बाबु र छोराछोरीको सम्बन्ध गाँसियो । सबैतिर यस्तै यस्तै त रहेछ । यो नाता सम्बन्ध चुडाउँदा पनि चुडिने रहेछ, जोड्दा पनि हुने रहेछ । आखिर को सधै सँगै बसेका छन् र ? आँगनमा चारो टिप्दै गरेका भंगेरालाई हेर्यो । सालै पिच्छे पाँच सातवटा बच्चा बनाउँछ, बच्चाहरू कहाँ पुग्छन् कहाँ ! छेउमा कान हल्लाउँदै गरेको कुकुरलाई हेर्यो । यो कसका घरमा जन्मियो आमा-बाबु कहाँ छन् होला ! आज हाम्रो घरको सदस्य जस्तै भएको छ । मसिना पाठालाई दूध खुवाउँदै गरेको सिंगारी बाख्रीलाई हेर्यो । यसका हिजोका पाठापाठीहरू कहाँ पुगे हुनन्, यी कहाँ पुग्छन् ? कुनै घरमा नै पालिन्छ र पछि बेची खाइन्छ । कुनै बिरामी भएर मर्छन् । पशुको के कुरा गरौँ ! मेरै बहिनीहरूलाई हेरौ न । हिजोसम्म आफ्नै परिवारका सदस्य थिए । बिहे गरी गए । हामीबाट सम्बन्ध टाढा टाढा हुदैं जादैंछ र अर्कोतिर जोडिएको छ । मेरै भाउज्यूहरूको कुरा गरौँ ! हिजो कसका छोरी थिए ? दाइहरूले बिहे गरी ल्याए । आज यहाँ उनीहरूले साम्राज्य बनाएका छन् । मेरो पनि को चाहिं छ त यहाँ ? त्यसैले अब बाटो तताउनु पर्छ ।

नीरमणिले आफूले दैनिक प्रयोग गर्ने समानहरू झोलामा हाल्यो । बारीको डिलमा झ्याम घाँस लागेको ठूलो काब्राको रूखलाई हेर्यो र भन्यो धेरै बर्ष तँसँगै लुकामारी खेलें, तेरा हाँगाहरू काटेर छिया छिया पारें, माफ गरेस् । बाख्राको पाठाहरूलाई सुम्सुम्यायो । बाख्रीलाई अलिकति घाँस थपिदियो । बिरालोलाई यसो काखमा लिएर राख्यो । गोठमा बाँधेको गाईलाई टाउकामा एकछिन कन्यायो र भन्यो बर्षौदेखि तिमीले हाम्रो त्राण धानेकी छौ, नजिकै बाँधेको सानो बाच्छीलाई चुम्मा दिदै तिमी जन्मिएको दिनको खुशी मैले कहाँ भुलेको छु र ? पर धारमा नुहाउँदै गरेकी आमालाई टाढैबाट प्रणाम् गर्दै बाटा लाग्यो । उसको कुकुरले नीरमणिलाई पछि पछि पछ्याइरहेको थियो ।

एल एन सुवेदी”हस्ती”

मंगलबारे, ईलाम

1 thought on “नाता-सम्बन्ध”

  1. गाउँ घरमा घट्ने गरेका घटनालाई
    गाउँ घरमा घट्ने गरेका घटनालाई सिल्प बद्द रुपले मार्मिक कथाको रुप दिन सक्नु भएकोमा कथाकार लाई बधाई छ | कता कता मन दुखेर आयो कथा पढ्दा चलचित्र हेरे जस्तै दृश्य हरु आइनै रहे साँच्चै नै उत्कृस्ट छ कथा |

Leave a Reply

Your email address will not be published. Required fields are marked *