Skip to content


नमस्कार एवं दसैँ-तिहारको शुभकामना !

नेपालका पाठकहरूमा र नेपाली संस्कृतिमा विश्वास गर्नेहरूलाई ।

म वसन्तप्रकाश । पेसाले पत्रकार-लेखक । समयले भने ठगिएको आमनेपालीजस्तै नियति भोग्दै रहेको एउटा पात्र । जसका थुप्रै मूर्त/अमूर्त सपना र अपेक्षा छन् अनि पूरा गर्ने ल्याकत भने लगभग न्यून छ । ३ सय ५० भन्दा बढी दिन राजधानी काठमाडौँ, यही सहर र यही परिवेशमा रनभुल्ल, अस्तव्यस्त र दौडधूपमा रहन्छु । जब दसैँ, तिहार नजिकिन्छन्, तब तपाईँहरूजस्तै बार्गेनिङ्मा माइक्रोबसको टिकट काटेर गाउँतिर लाग्ने गर्छु ।

म किन गाउँ लाग्छु ? तपाईंहरूका आ-आफ्ना तर्क/वितर्क होलान् । तर, मेरो वास्तविकता जति, जे-जे गर्दा पनि राजधानीले मलाई दसैँमा मासुभात खुवाउन सक्दै सक्दैन भन्ने लाग्छ । बढ्दो महँगी, अभाव र अप्ठ्याराले सहरमा चाडबाड मान्न सक्दिनँ भन्ने मेरो ठहर छ । मेरो आय र व्ययको आयतन कहिल्यै नमिल्ने चकटी र सिरकको खोलजस्तै विरोधाभासको विम्बमा उत्रेको देखेको छु मैले । मेरा छोराछोरीका लागि एस्सेल वल्र्डको विज्ञापन कार्टुन देखाउनुबाहेक सिभिल मलको चिल्डे्रन प्याराडाइजसम्म मैले दसैँ-तिहार र बिदाका दिनहरूमा लग्न सक्दिनँ । श्रीमतीका स्वप्न थिएटरमा म पूर्ण अभावपूर्तिको ‘रामलीला’ देखाउन सक्दिनँ । लगभग भानुभक्तले भन्ने ‘भोलि संस्कृति’को ‘ड्रामा’ देखाउँदा देखाउँदै बित्ने वर्ष दिनभित्र मैले न खाद्य संस्थानबाट ल्याएर च्याङ्ग्रा काट्न सक्छु, न त नेसनल ट्रेडिङ्का सस्ता पसलहरू मेरा लागि हैसियत अनुरूपको ठीकठीकै ठहरनि सक्छन् ।

साथीहरू ! भन्दा अलि अमिल्दो लाग्ने दसैँ-तिहारका आसपासमा खुल्ने र खेलाइने उपहार बोनन्जाहरूको विज्ञापन हेर्दाहेर्दै टट्टिने आँखाहरू थानकोटबाट ओरालो नलागेसम्म मुक्तिको खुसीमा चम्किला हुँदैनन् । राजधानीको निस्सासिँदा कहरहरूबीच कलंकी नाघेपछि मात्र मैले राहत पाउँछु । मेरा छोराछोरीले कलंकी काटेपछि मात्रै खुला संसारको अनुभूति पाउँछन् । अन्यथा, उनीहरू ‘क’बाट कलमको रटान र ‘ए फर एप्पल’कै घोकानमा थकित र गलित हुन्छन् । राजधानीको कोठे संस्कृतिमा बस्दा वाक्क दिक्क भएका कारण हुनुपर्छ, मेरी चार वर्षीया छोरीले एकपटक राजधानीबाट बाहिरिने क्रममा अनायासै भनेकी थिइन्, “‘क’बाट कलंकी ।”

‘कबाट कलम’ भन्नुपर्ने र सधैँ त्यसै भन्दै आएकी मेरी छोरीले काठमाडौँ छाड्ने क्रममा पटकौँपटक कलंकी पुगेको सत्यबोध गरेका कारण त्यसो भनिन् होला भन्ने ठान्दै थिएँ म । तर, राजधानी जुन आयतन र क्षेत्रफलमा बाँडिए पनि अधिकांशको प्रस्थानविन्दु ‘कबाट कलंकी’ नै रहेछ । कबाट कि कोटेश्वर नै रोज्दा रहेछन् मान्छेहरू । मैले उनको स्वतस्फूर्त अभिव्यक्तिलाई यस्तो अर्थ लगाएँ ।

सवारी साधनको चाप र जामको कलंकीले विघटित बानेश्वरमा बसे पनि अथवा आलंकारकि महाराजगन्जबाट हिँडे पनि वा सत्तासीन वालुवाटार संस्कृतिमा रमे पनि यात्रुलाई गन्तव्य डोहोर्‍याउँछ नै । सत्यलाई पृथक् शैलीले परिभाषित गरोस् जोसुकैले । अथवा, शाश्वत् सत्यमा प्रमाणित गर्ने प्रयत्न गरोस् कसैले । कपुरी ‘क’ले नै अक्षर चिनाउँछ मस्तिष्कलाई । ‘क’ पूरै मनमस्तिष्कमा नगडेसम्म ज्ञानी ‘ज्ञ’को यात्रा गराउँदैन दिमागले । एक प्रकारले होइन हरेक प्रकारले कछुवा ‘क’ ढिलै हिँड्छ तर खरायो ‘ख’लाई प्रतिस्पर्धामा जित्छ ।

अहो ! कता पो लागेछु ? दसैँ-तिहारको कुरा गर्दै थिएँ । म मेरै परिवेशमा बाँधिएछु । तर, साथीहरू ! मेरो परिवेश र परिणत तपाईंहरूको भन्दा किमार्थ भिन्न छैन भन्ने मेरो ठहर हो । मेरो परिवेशभित्र मैले सहरमा आशीर्वाद पनि पाउँदिनँ । मैले आशीर्वाद लिन गाउँ जानैपर्छ । मेरो निधारले टीका पाउन वृद्ध बुबालाई खोज्नैपर्छ । निधार खाली राखेर बस्दा कहीँ कतैबाट कुनै कलंकको टीका लाग्ने डरले सताउँछ मलाई । नागरिकता बनाउन बाबु खोज्नु नपर्ने वर्तमानमा म एसएलसी पासपछि नागरिकता बनाएर सहर छिरेको हुँ । दुई दशकभन्दा बढी कालखण्ड दिनरात र झरी-बादल नभनी कर्मशील हुँदासमेत म काठमाडाँैको नागरकि हुन सकिरहेको छैन । त्यसैले दसैँ-तिहारमा घर पुग्दा मेरो बुबा सधैँ भन्नुहुन्छ, “जुन सहरमा तिम्रो घर छैन, जहाँ तिम्रो मन रम्दैन र जसले तिमीलाई खुसीको जमरा उमार्ने माहौल दिँदैन, त्यहाँ तिमी किन बस्छौ छोरा ?” म हरेक दसैँ-तिहारमा घर पुग्दा बुबाका ती प्रश्नहरूको जवाफ दिने सामर्थ्य सपनाको उधारो कुराकै नवीकरण गर्ने गर्छु । र, भन्छु, “यो वर्ष सारा सपना पूरा हुन्छ, बुबा ।”

बुबाको मात्र कुरा ? जन्म दिने आमाको कुरा नगर्ने कस्तो कृतघ्न मान्छे ? यसै भन्नु होला तपाईंहरू । तर, साथीहरू ! जीवन मृत्युको दोसाँधबाट मेरी आमाको ममता हराएको एक दशक हुन लाग्यो । अन्यथा, मेरी आमा मालश्रीको धुन रेडियो नेपालको धार्मिक कार्यक्रममा बज्न थाल्नुअघि मलाई भन्ने गर्नुहुन्थ्यो, “तिमी कहिले आउँछौ बाबु ?” आमा हुनुहुन्न । यद्यपि, बुबाको दुई हातले अक्षता लगाइदिने बानीमा म आमाको साथ पाउँछु र चित्त बुझाउँदै आएको छु । आमा या बुबा नहुने सबैका आ-आफ्ना पीडा र परिभाषा होलान् तर अभिभावकहरूका लागि दसैँ-तिहारको मौसममा छोराबुहारी र नातिनातिनाहरू घर आउनुभन्दा ठूलो खुसी अरू केही हुनेछैन । मलाई लाग्छ, सहरबाट फर्केका छोराछोरीले टीकाका लागि एकाध हजार नयाँ नोटको बन्डल ल्याइदिनेबाहेक उनीहरूले अरू अपेक्षा राख्ने छैनन् र राख्दैनन् ।

साथीहरू ! गाउँ यस्तै छ । ग्रामीण खोजीहरू यस्तै हुन्छन् । गाउँले अभावमा कुभिन्डो बलि चढाए पनि स्नेहको सेल पकाउँछ । राजधानीको चौघेरो नाघेपछि केराका पातहरू किलोमा बेचिँदैनन् । भए चिनी, नभए खुदोमा अनरसाहरू स्वादिला ठहर्छन् । हर्षबढाइँको तोप पड्काएर फूलपाती नभित्र्याए पनि गाउँले टुकीको मनोरम प्रकाशबीच सम्बन्धका अँध्यारा पाटाहरूलाई भगाइरहेको हुन्छ ।

तर, सहर ? यो सहर संस्कृति समन्वयभन्दा यहाँ अत्याधुनिक जीवनशैली, तथाकथित नवीनतम् मर्म र मान्यताका खालहरू जम्छन् । ‘दसैँ आयो… खाऊँला पिऊँला…’ भन्दाभन्दै केही नभए चोरेर ल्याउनेसमेतको दुस्साहसभित्र दसैँ-तिहार संस्कृतिलाई बढो प्रतिस्पर्धी र ढोँगी आकारमा बढोत्तरी गराउँछ । जसले गर्दा हुकुमको सत्ता पल्टँदा चिडको सत्ताको भाउ बढी हुने ‘अल्टर’ मनोवृत्ति होस् या आस्थाको इँट पल्टँदा कृत्रिमताको पान माल बन्ने प्रवृत्तिमा ‘ड्युटी फ्रि’का ब्लुलेबलहरू पानीभन्दा बढी धोकिनेछन् । डीडीसीका दूध, दही, चीज र पनिर होइन, सिकार निषिद्ध मृग-सुकुटी, बँदेल, पक्कु र कालिजका पकवानहरूको चर्चा/परचिर्चा गर्दै दाँतका बीचहरूमा ‘टुथ पीक’ गाड्नेहरू त्यत्तिकै भेटिनेछन् ।

सिटी सेन्टरदेखि सिभिल मल, ट्रेड सेन्टरदेखि भाटभटेनी डिपार्टमेन्टल स्टोर्सहरूमा ‘इम्पोर्टेड चाइनामेड’ लत्ताकपडाहरूमा मनग्य पैसा खन्याएर सिंगापुर मेडमा भ्रमित हुनेहरू उत्तिकै हुन्छन् । बेन्ट्लेको ‘फिप्टी पर्सेन्ट सेल’ र यूएफओको ‘एक्सचेन्ज अफर’मा धनाढ्य प्रारूप छताछुल्ल पारेर क्रेडिट कार्ड घोट्नेहरूसँगै श्रीमतीका छड्के तिलहरीलाई बन्धकी राखेर गर्जो टार्नेहरूले समेत घाँटी हेरेर हाड निल्दैनन् । राजधानीका शक्तिपीठ र मन्दिरहरू धाउँदा यो मौसममा ‘अन टेस्ट’को प्लेटमा किस्ताबन्दीमा निकालिएका मोटरहरूको अप्रत्यासित घुइँचो यति देखिन्छ कि लाग्छ यस्तो सहरवासीहरूका लागि दसैँ-तिहार सत्यनिष्ठाको विजय पर्व नभएर गाडी घोडा किनिने फगत शुभ साइत हो । हुन त सद्भाव र सहकार्यको बाबियो डोरी बाँधेर एकताको लिंगे पिङमा मच्चिनुको स्वाद नपाएका सहरवासीहरूका लागि आफ्ना नानीहरूको भन्दा टाटाको नानोको चिन्ता हुनु स्वभाविकै हो । धर्म-संस्कृति, विधि-विधान र विन्यासभन्दा असनका दुई-चारवटा पसलहरू चहार्दा भेटिने खुसीहरूमा अभ्यस्त जीवनले जमरा मात्रै रेडिमेड किन्न नपाउने भएर मात्रै हो, अन्यथा गायत्री मन्त्रलाई रङि्गिङ् टोन बनाएजस्तै प्लास्टिकको जमरा खोजी गर्थे होलान् । सहरले दसैँ-तिहारलाई लामो बिदाको यामभन्दा बढी केही बुझेकै छैन कि जस्तो लाग्छ ।

साथीहरू ! सत्य यही र यस्तै होइन भने यो सहर यो परिवेशले गाउँका बाध्यतालाई खोइ किन नबुझेको ? अनि, गाउँलेलाई किन यहीँ रोक्न नसकेको ? यो राजधानी, यो मौसम र यो संस्कृतिले खुसीहरूलाई खोइ किन विकेन्द्रित गर्न नसकेको ? राजधानी सधैँ ‘भाइले सोधे नि खोइ दाजु भन्दा, अंशै बढ्यो’ भनिदिने क्रूर वास्तविकतामा रमेभन्दा पृथक् छैन । यद्यपि, साथीहरू ! अभावै-अभावै, साह्रा-गाह्रा, अप्ठ्यारा र घुँटनमा अभ्यस्त राजधानीमा केही नभए पनि यत्रतत्र हुने र देखिने भीडसमेत दसैँ-तिहारका घडीहरूमा हुनेछैन । सीमित रैथाने, केही नवनागरकिहरूको उपस्थितिमा लगभग सुनसानमा सीमित भएर उसले डेरावालहरूको भाडा कुरेर बस्नेछ । दसैँ-तिहारका बिदापछि राजधानी फर्केकाहरूसँग उसले आरामबिरामको खोजीनिती नगरेर ढोका ढकढक गर्दै भन्नेछ, ‘महिना मर्‍यो, भाडा पाऊँ त ?’ साथीहरू ! राजधानीसँग गाउँको ‘भाडा’बाहेक अरू कुनै गाढा सम्बन्ध सेतु छैन कि क्या हो ? ऊ… ढकढक गरे, मेरो घरबेटीले । सायद उनी मसँग महिना नमर्दै भाडा लिन आएजस्तै छन् । कति बेहोर्नु यी र यस्ता पीडाहरू ? बरू भनूँ कि क्यारे, गुड बाई राजधानी ! गुड बाई काठमाडौँ !

नेपाल साप्ताहिक
अंक: ५१८
२०६९ कार्तिक ५
Oct 21, 2012

Leave a Reply

Your email address will not be published. Required fields are marked *