Skip to content


एकताका कपाल लामो थियो मेरो । गुजुमुज्ज परेको कर्ली कपाल कुमभन्दा तलैसम्म लर्किने । धेरैजसो साधारण पहिरन र हाउभाउमा देखिने मलाई चिनारुले अचम्म मान्दै कपाल पाल्नुको रहस्य सोध्थे । नाथे जुल्फीमाथि मलाई कुनै मीमांसा गर्न मन लाग्दैन थियो र सजिलै भन्दिन्थेँ, “कुनै कारण छैन । यसै छाडेको यत्रो भइहाल्यो ।” तर, आज आएर मेरै उमेरका र मभन्दा कम उमेरका तन्नेरीले कपाल पालेको देख्दा भने गम्न पुग्छु । लाग्छ, कपाल पाल्ने सो कर्म पनि केही फरक गर्ने जमर्को थियो होला मेरो । सयौँ छोटा कपालधारी केटाका बीचमा कुनै औसत पहिरन र हाउभाउले कसैको आफूप्रति ध्यानाकर्षण हुँदैन भन्ने बुझाइ मस्तिष्कमा कतै पछिल्तिर छिपेको थियो होला । तर, मैले कपाल पाल्नुमा मात्रै आफूलाई सीमित राखिनँ । सडकको भेडियाधसानबाट अलग्ग हुन अरू धेरै काम गरेँ । त्यसै मेसोमा पुस्तकहरू पढ्न थालियो होला जस्तो लाग्छ । मेरो चिनारुको वृत्तिभित्रका मान्छेले नहेर्ने खाले सिनेमा हेर्न थालियो । गीत पनि त्यस्तै सुन्ने बानी बस्यो । सायद त्यही नयाँ केही गर्ने हुटहुटीले नै होला, डुली हिँड्ने बानी लागेको म कुनै एक दिन ओशो रजनीशका संन्यासीहरूसँग संगत गर्न पनि पुगेँ ।

ती माला लगाउने संन्यासीहरूका गफ मलाई बडो अनौठो लाग्यो । अरू धेरैले भन्दा यी फरक तरकिाले सोच्दा रहेछन् भन्ने अनुभूति भयो । रजनीशलाई भगवान् भनेर सम्बोधन गरेकामा कताकता अप्ठ्यारो महसुस गर्दै भए पनि मैले उनीहरूका दार्शनिक गफ र तर्कहरू ध्यानसँग सुनेँ । तिनले सुझाएका ओशोका प्रवचन भएका किताबहरू पढेँ । प्रवचनका अडियो रेकर्डहरू सुनेँ । म एकतमासले प्रभावित भएँ । कुनै चीज पढेर विश्लेषण गर्ने र आफूसँग भएका पूर्वसूचना वा ज्ञानको कसीमा घोटेर ठीक/बेठीक, गतिलो/अगतिलो खुट्याउने उति क्षमता थिएन । त्यसैले धेरै सन्देह नराखी रजनीशका कुरा पत्याउन थालेँ । तिनै पुस्तक र प्रवचनका कति किस्सा सापट लिएर मान्छेसँग अनेकन् विषयमा तर्क गर्न तम्सिन्थेँ । अरू धेरैलाई बेवकुफ देख्न थालेको थिएँ । घमण्ड चुलिएर आफू निकै कडा बौद्धिक भएको भ्रम पैदा हुन लागेको थियो । ऊ बेलाका मसँगै पढ्ने साथीहरू र खासगरी केटीहरू मेरा बाँगा कुरा सुनेर भन्ने गर्थे, “यसले जान्दछ अनेक कुरा । तर, यससँग बिहे गर्नेले दुःख पाउने पक्का छ । यस्तो अप्ठ्यारो मान्छेसँग कसरी संगत गर्नु जिन्दगीभर ?” यद्यपि, उनीहरूले लगाएको आरोप प्रमाणित वा खण्डित हुने बेला अहिलेसम्म आएको छैन । तर, अहिले पनि ती मेरा केटी साथीहरू सत्यको धेरै नजिक छन् भन्ने नै लाग्छ ।

यसै क्रममा एक घमाइलो दिनमा तिनै संन्यासीमध्येका केहीसँग घुम्न निस्केँ । कुनै खास योजना थिएन हामीसँग । उनीहरू त्यसै पनि मस्तराम हुन्छन् । काम गर्न योजना बनाउने भन्दा पनि जस्तो आउँछ, त्यस्तै बेहोर्ने बानी परेका ती आधुनिक साधुहरूमा वास्तवमै फकिर हौँ भन्ने भाव उत्पन्न हुन थालिसकेको थियो त्यसबेला पनि । म त उनीहरूको समूहमा नवागन्तुक थिएँ । ध्यानका केही सामान्य विधि उनीहरूबाटै सिकेर केही दिन अभ्यास गरेको पनि थिएँ । तर, नियमित गर्ने वा उनीहरूका संस्थाले आयोजना गर्ने कुनै शिविरमा भाग लिएको भने थिइनँ । मात्र संगत बढिरहेको थियो ।

अँ, म भन्दै थिएँ, हामी घुम्न निस्क्यौँ । हिउँदको बेला थियो तर जाडो बढिसकेको थिएन । घामको राप भने आङमा न्यानो हुन थालेको थियो । दुइटा बाइक लिएर निस्केका हामी चार जना झापाको काँकरभिट्टाभन्दा लगभग १० किलोमिटरमाथिको बाहुनडाँगीतर्फ हिँड्यौँ । हिँड्दा हिँड्दै बीचैमा तय भयो, वर कतै बाइक राखेर मेची खोला पुग्ने । भारत र नेपाल स्पष्ट छुट्याएर बग्ने यो खोलो हिउँदमा सुसाउँछ । त्यही सुसाएको हेर्ने जाँगर पलायो अल्लारे संन्यासीहरूलाई ।

एउटा सानो घुम्तीअघि मोटरबाइक थन्क्याएर आलडाँगी भन्ने ठाउँबाट पूर्वतिर हानिएपछि हामी पुग्यौँ मेची खोला । गफिँदै हिँड्दा निकै पर पुगिएछ । भारतीय भूमि प्रवेश गरेर जंगल (फरेस्ट, जसलाई त्यतातिर फारस भन्छन्) कतिखेर आइपुगियो, हामीले थाहै पाएनौँ । जंगलतिर प्रवेश गर्ने ठाउँमा ढुंगाको अग्लो बाँध रहेछ । त्यही बाँधमाथि चढेर केहीबेर गफ गर्‍यौँ । हामीमध्येका एकले आफ्नो क्यामेराले केही तस्बिर खिचे ।

बगर निर्जन थियो, शान्त थियो वातावरण । हामी सबै चुप लाग्दा हावाले हल्लाइरहेका रूखका पातहरू सुस्तरी साउती मार्न थाल्थे । हिउँदको त्यो सानो खोलोमा सङ्लो पानी हाम्रो छेउबाट कुलुलु बगिरहेको थियो । चराहरूका हलुका चिरबिरले रोमान्टिक कविहरूका कविता सम्झाउँथे ।

समग्र वातावरण संन्यासीहरूका लागि ध्यानमा लीन हुन उपयुक्त थियो । हामी सबैले गफ गर्न छाडेर ध्यानमा बस्ने सल्लाह गर्‍यौँ । ध्यानका केही प्रकारहरू छन् र आ-आफ्नै विधि पनि छन् । एकखाले ध्यानका केही चरण पार गरेपछि हामी कथार्सिस गर्नतिर लाग्यौँ । ओशोका ध्यानविधि थाहा नपाएकाहरूलाई यो बडो अचम्मको लाग्छ । र, गैरसंन्यासीहरूले कथार्सिस गर्दै गरेको देखे भने ध्यान गर्नेहरूलाई पागल भन्छन् । यो विधिले मस्तिष्कमा हीनग्रन्थी ब्ाढाउन जम्मा भएका कुण्ठालाई बाहिर हुत्याउँछ भन्ने विश्वास गरिन्छ । कथार्सिस गर्दा कराउने, चिच्याउने, ठूलो स्वरले बर्बराउने, एकोहोरो हाँस्ने, ह्वाँ ह्वाँ रुने आदि क्रिया गरिन्छ । त्यो भारतीय जंगललाई साक्षी राखेर मेचीको निर्जन बगरमा हामी पनि कथार्सिस गर्न लाग्यौँ । अर्थात्, हामीमध्ये कोही चिच्याउन, कोही बर्बराउन, कोही रून र कोही एकोहोरो हाँस्न थाल्यौँ ।

त्यहाँ कोकोहोलो मच्चियो, जसको हामीलाई रत्तिभर हेक्का भएन । निर्जन बगरको शान्ति एकैछिनमा बिथोलिएर हाम्रो आवाज पर-परसम्म पुगेछ । अलि पर भएका मान्छेले हाम्रा आवाज सुन्दा धेरै अर्थ लगाउन सक्ने भएछन् । कोही ठूलो आपत्मा परेको हो वा दुर्घटना भएर एक्कासि कोही चिच्याएको हो भन्ने भान पर्नु स्वाभाविक नै हो । हामी चार जना ध्यानी जो थियौँ, कुनै मतलब नाइँ । हामी हाम्रो कथार्सिसमै झुमिइरह्यौँ, मस्त थियौँ । अरू तीन जना आँखा चिम्लेर आ-आफ्ना किसिमका क्रियामा मस्त देखेर म हाँस्ने कथार्सिसमा रमाउन थालेँ । सुरु गर्नेले सायद यसै गर्छ । कारण, अरूका हर्कत देखेर पहिले त हाँस उठ्ने नै भयो । तर, अचम्म के भने जति हाँस्यो, त्यति हाँसु हाँसु लाग्दै गयो । त्यहाँ कसैको र केहीको पर्वाह थिएन, म जोडजोडले हाँसिरहे ।

यसैबीच, हाम्रो ध्यान भंग हुने गरी अलि परबाट केही मान्छे कराएको सुन्यौँ । सबैका आँखा त्यही आवाजपट्टि केन्द्रित भए । हामीले देख्यौँ, खाकी बर्दी लगाएका केही भारतीय प्रहरीजस्ता मान्छे हामीतिर कुद्दै आइरहेका छन् । उनीहरू तीन जनामध्ये एक जनाको हातमा थ्री नट थ्री राइफल र अरूका हातमा कटबाँसका लौरा थिए । वनका सुरक्षाकर्मी होलान् भन्ने अनुमान गर्दै हामी चपुचाप उभियौँ । हामीले ठान्यौँ, हाम्रो क्रियाकलाप अनौठो देखेकाले सोध्न आएका होलान् ।

हामीनजिक आइपुगेपछि राताराता आँखा भएको एउटा अग्लो कालो सिपाहीले हप्काएर हिन्दीमा के गरेको भनेर सोध्यो । रीतेशले अघि बढेर हामी ध्यान गर्दै थियौँ भने । यी सायद हामीमध्ये सबभन्दा पुराना संन्यासी थिए । बुज्रुगले अघि बढ्नु स्वाभाविक थियो । तर, उनको उत्तर त्यस सिपाहीले बुझेन । ऊ त अझ रसिले आगो भयो । रीतेशलाई एक लौरो बजायो ।

हामीले ध्यान गरेको भनेर ती सिपाही पत्याउनेवालै थिएनन् । जिन्स पाइन्ट, टिसर्ट र स्पोर्ट्स जुत्ता लगाएका हामी उनीहरूका नजरमा कदापि साधु/संन्यासी हुनै सक्दैन थियौँ । त्यसमाथि हामीले गरिरहेको काम कसरी ध्यान भन्न सुहाउँदो हुन्थ्यो र उनीहरूका लागि ? रीतेश आफू संन्यासी भएको र ध्यान गर्न आएको भनेर सम्झाउन खोज्दै थिए, त्यसले अझै लौर्‍याउन थाल्यो । त्यसपछि प्रज्ज्वलले माला देखाउँदै के भन्न खोज्दै थिए, अर्को एउटा खाकीवालाले उनको माला तानेर चुँडाइदियो । र, उनलाई पनि त्यही अग्लोचाहिँले ठटायो । त्यसपछि प्रवेशलाई कटबाँसले दुई-तीनपटक बजाइसकेपछि मतिर खनियो । सायद, मलाई अलि सानो देखेकाले होला, पहिले के गर्छस् भनेर सोध्यो । मैले म विद्यार्थी हुँ भनेपछि पहिले मेरो लामो जुल्फी समाएर ‘हुँ ! विद्यार्थी ?’ भनेर कड्कियो । अनि, पिँडुलामा कसेर एक लौरो हानेर फेरि अरू संन्यासीहरूतिरै खनियो । मलाई कुट्न आउँदा थाहा पाएँ, त्यो राता आँखेले रक्सी खाएको रहेछ । जंगलको कुन कुनामा बसेर रक्सी खाइरहेका बेला हाम्रो आवाजले तर्सेर हामीलाई लघार्नै भनेर आएका रहेछन् तिनीहरू ।

हाम्रा कुनै कुरा सुन्न तयार थिएनन् ती । हामीले गरेको कामको कुनै अर्थ निकाल्न पनि उनीहरू सक्दैन थिए । आखिर गर्न खोजेको के भन्ने उनीहरूले बुझेनन् । नबुझ्नु भनेको आफू कमजोर हुनु हो । केही उरन्ठेउलाजस्ता देखिने केटाका अघिल्तिर कमजोर हुनु उनीहरूलाई सुहाउँदैन थियो । त्यसैले ठटाए ।

धेरै बेरपछि, ती तीन जनामध्ये एउटा खाकीवालाचाहिँ नेपाली मूलको जस्तो देखेर उनको शरणमा पुगियो । त्यस नेपाली अनुहार परेकालाई समातेर उनै बुज्रुग रीतेशले अनुनय/विनय गरेपछि तिनीहरू हामीलाई त्यहीँ छाडेर जंगलतिर लागे । प्रज्ज्वल आफ्नो चुँडिएको मालाबाट बालुवामा छरिएका काला दाना टिप्न थाले । हामी सबै पिँडुला सुमसुम्याउन थाल्यौँ । राता सुम्ला उठेछन् मेरा पिँडुलामा । धन्न तिनले हामीसँग भएका क्यामेरा देखेनन् ।

हाम्रो कथार्सिस पूरा हुन नपाई टुंगियो । तर, निर्जन बगरमा ती वनका सिपाहीले चाहिँ बडो गजबको कथार्सिस गरे । कति दिनदेखि मान्छे कुट्न नपाएर तिनका दिमागमा जमेका हीनग्रन्थी हामीमाथि गरेको कथार्सिसले सायद सफा गरििदयो । आफ्नै मस्तिष्कका ल्याबिरिन्थमा मस्त हुन खोजिरहेका हामीलाई कटबाँसका चोटले एकैचोटि यथार्थताको त्यो तातो बालुवामा पछारििदयो । सञ्जीव उप्रेतीले दोस्रो जनआन्दोलनमा पुलिसको लौरो खाएपछि लेखेका थिए, यस्तो बेला सबै विम्ब र प्रतीक हराउँदा रहेछन् । सायद हामी पनि कुनै अलौकिक विम्बको खोजीमा कथार्सिस गर्न लागेका थियौँ, कटबाँसका ती लौराले एक्कासि हामीलाई यो बलौटे लौकिकतामा उतारििदयो ।

कुटाइ खाएर फर्किंदै गर्दा रीतेश भन्दै थिए, “संन्यासीलाई कुट्नेको भलो हुँदैन, हामीले कसको के बिगारेका थियौँ र यार ?” उनले भलो हुँदैन भन्दै गर्दा सायद ओशोलाई सम्झेका थिएनन् । मैले मनमनमा कल्पना गरेको थिएँ, यदि ओशोले यो दृश्य देख्थे भने के भन्थे होलान् ? कस्ता तर्क दिन्थे होलान् ? आफ्ना तन्नेरी चेलाको कामलाई जस्टिफाइ गर्थे कि ती प्रहरीले गरेको कथार्सिसको प्रशंसा ! मैले बुझ्न सकिनँ । तर, सायद त्यस घटनापछि ममा उम्रिन थालेको घमण्ड पनि बिस्तारै निस्तेज भयो । र, कुनै अलौकिक सत्य वा आनन्दको खोजीमा मस्तिष्कको अँध्यारो गुफामा पस्नेभन्दा पनि त्यही मस्तिष्क निर्माण गर्ने यो पदार्थको दुनियाँपट्टि मैले बढी ध्यान केन्द्रित गर्न थालेँ ।

जब एकान्तमा हुन्छु, म यो घटना बेलाबेला यसरी नै सम्झना गर्छु । अनि, खासगरी प्रवेशले बगरबाट हिँड्ने बेला भनेको एक वाक्य सम्झेर एक्लै हाँस्ने गर्छु । उनले भनेका थिए, “कुटाइ खाएको कुरा त कसैलाई पनि बताउनुहुँदैन, बेइज्जत हुन्छ ।”

नेपाल साप्ताहिक
अंक: ५१८
२०६९ कार्तिक ५
Oct 21, 2012

Leave a Reply

Your email address will not be published. Required fields are marked *