साहित्यिक माहौलमा एक्कासि मीनाक्षीको उपन्यासले चर्चा पायो । विशेषतः पुरुष लेखक, समीक्षक, पत्रकारहरूले उसको लेखनलाई रातारात पारिजातसँग तुलना गरििदए । विदेशबाट फर्किएको उसको विगतलाई गाँठवाल माने ।
“सुन्यौ ! त्यो ‘८० की दशककी हिरोइन छे नि विन्दिया गोस्वामी ! ठ्याक्कै काटीकुटी त्यस्ती छे ।” स्वनामधन्य समीक्षकज्यूले भन्नु भो । बिचरी समरीले के पो गर्न सक्थी र ! भर्खर साहित्यमा पाइला चालेकीलाई के थाहा साहित्यको माफियामा कसरी टिक्नुपर्छ ?
“भयंकर राम्रो लेखन छ । बोल्ड छे । भाले लेखन हो उसको ।” इत्यादि । समरीलाई पनि समीक्षकज्यूको नायिका, तथाकथित विन्दिया गोस्वामी हेर्ने रहर जाग्यो ।
“तपाईंको पर्सिको कार्यक्रममा आउनुहोला नि हैन, तपाईंकी मीनाक्षी?” अलि जलन मिसाएर बोली ।
“अा ! अन्जनाको पुस्तक समीक्षाका लागि वक्तामा राखिदिएकी छु । राम्रो बोल्छे पनि ।” समीक्षकज्यू गर्वसाथ बोल्नु भो ।
थरीथरीका हल्लाहरू आए बजारमा । पुस्तक समीक्षकहरू एकअर्कामा आरोप/प्रत्यारोप गर्न थाले । एकअर्कामा कसले राम्रो र प्रशंसापूर्ण लेखेर रझिाउने भन्नेमा होड चल्यो । फेरि, त्यसरी नै मीनाक्षीको उपन्यासको दोस्रो संस्करण निस्कने रे भनेर खबर सुनिन थाल्यो । महिला लेखकहरूमा ईर्ष्याको ज्वालामुखी फुटे । यो केटीले साहित्यको माहौल बिगारी भनेर गाइँगुइँ चल्यो फेरि ।
समरीको मोबाइलको घन्टी बज्यो । दुई महिना गायब भएको प्रत्यूषले फोन गरेको रहेछ । उठाऊँ कि नउठाऊँको मनस्थिति भयो । अप्ठ्यारो पर्दा सहयोग नगर्ने उनको बानीले चित्त दुखाएको मनलाई थाती राखेर कल रििसभ गरी ।
“समरी तिमीलाई हटन्युज सुनाउन फोन गरेको !” फेरि, उही मीनाक्षीको खबर ।
आज नारी स्रष्टाहरूबीच भनाभनको दोहोरी चल्यो रे ! कार्यक्रममा मञ्चमा बसेका महिला साहित्यकारहरूलाई आक्रामक प्रश्न गरेका कारण उसले अपमानित हुनुपरेछ । आफ्नो सौन्दर्यको प्रयोग गरेर साहित्य बिगारेको, आठ कक्षा मात्र पास गरेकीको के कुरा भो र ! विदेशमा भाँडा मोलेर कमाई ल्याएको पैसाले किनेको साहित्यिक प्रशंसाको फूर्ति ! यी सबै मीनाक्षीलाई गरेको साहित्यिक भनाभन । समरीले सम्झी, हरे ! साहित्य ! मीनाक्षीसँग त्यस दिनको कार्यक्रममा उपस्थित टेलिभिजन पत्रकारले बनाइदिएको प्रश्न भन्ने पनि सुनियो । सँगसँगै हिँड्ने ती पत्रकार प्रायशः मीनाक्षीलाई लिएर हरेक साहित्यिक कार्यक्रममा पुग्थे । बाँकी पुरुषहरू लोभी नजरले हेर्थे र चित्त बुझाउँथे । बिस्तारै बिस्तारै साहित्यिक पत्रिकाहरूमा उसका कथाहरूले निरन्तरता पाउन थाले । सँगसँगै उसका लेख तथा कथा फलानो र ढिस्कानोले लेखिदिएको गफ पनि छरनि थाल्यो ।
“मीनाक्षीको … उपन्यासभन्दा त युधीर थापाका उपन्यासहरू बढी साहित्यिक हुन्छन् । न कुनै घटनाक्रम छ, न कुनै तुक छ ।” दीपकले अनलाइनमा लेखेको टेक्स्ट देखेपछि समरी खुसी भएकी थिई । देख्नेहरूले मीनाक्षी भेटेपछि टेलिभिजन पत्रकारले समरीलाई छाडेको मुख्य निक्र्यौल गरेको थियो । मीनाक्षीलाई देख्दादेखि पैसा, सौन्दर्य र शालीनताकी प्रतिमूर्ति मान्न थाल्यो पुरुष साहित्यिक समाजले । हुँदै नभएको सामान्य सम्बन्धलाई पनि ईर्ष्याले हेर्न थाल्नुपर्ने समय आएपछि टेलिभिजन पत्रकारलाई समरीले धोकेबाज मान्न थाली । बिस्तारै समरीमा पनि परविर्तन आउन थाल्यो । हरेक साँझ पत्रकार, समीक्षक, नाम चलेका ख्यात-कुख्यात स्रष्टाहरूसँग रसादी र काष्टादीको प्रयोगमा आउन थाली । शरीरको बुइँगल खाली भएकाहरूसँग माझखण्ड र मटानका कुरा गर्न सक्ने भई । होनचाको भट्टीपसलदेखि बेकरी क्याफेसम्मको बिल तिरीतिरी साहित्यकारहरूसँग साहित्यकार हुने सीप, कला र कौशल सिक्न लागी । कतिसम्म भने उसका कविता, लेख नछाप्ने सम्पादकलाई भनसुन गराउन मान्छेको जमात तयार गरी ।
एउटा अघोषित युद्ध सुरु भयो । पुरुष साहित्यकारहरूसँग मीनाक्षीको कुरा थुती दुईबाट चार जनाको कानमा पुर्याउने पनि काम भयो । एउटा लक्ष्मण रेखीको सिर्जना हुन थाल्यो । वारपिट्टि समरीले बिल खर्चेको जमात र अर्कोतर्फ मीनाक्षीको नेत्रपानवालाहरूको । साहित्यिक माहौलमा मीनाक्षी र समरीको चरत्रि उछालाउछाल हुँदै गए । गफको मेसो फुकाउन समरीसँग मीनाक्षीको एउटा कुरा मात्र निकालिदिए पुग्ने भो । बाँकी कुरा आफैँ उधिँ्रदै जाने स्थितिमा आइपुग्यो । पुरस्कार, सम्मान, साहित्यिक यात्रा र पत्रपत्रिकामा इन्टरभ्युको पनि होड चल्यो दुवैमा । अब अरू अवसर खोज्नेहरूका लागि दुवै जनालाई एकअर्काको कुरा उधिनिदिए पुग्ने भो । सर्प र सिँढीका खेल खेल्न जान्नेले खुबै उपयोग गरे । एकअर्कालाई कथाको पात्र बनाएर कथामा, लेखमा खाडलमा पार्ने कुराको सुरुवात पहिल्यै थियो ।
मीनाक्षीले आफ्नो उपन्यासको दोस्रो संस्करणको अन्तिम पातोमा समीक्षकज्यूलाई ‘महान्वाणी’ नलेखाएकामा भयंकर रसि उठेको थियो । एक साँझ असनको गल्लीको होनचाको पसलमा एक क्वार्टर पेटमा हुलेपछि बिस्तारै मीनाक्षीप्रतिको रुष्टता प्रकट भो ।
“कथामा यौन ल्याउँदैमा नारी लेखन बोल्ड हुन्छ र ?” समरी चुप लागेर बसी । समरीले ठम्याउन सकिन, समीक्षकज्यूको रसादी बोलेको हो वा मीनाक्षीको उपन्यासमा भूमिका लेख्न नपाएको रोष ।
“त्यस्तो लाजमर्दो यौनकथा सुनाउँदा त्यस केटीको अनुहारमा पटक्कै लाज थिएन ।” मानौँ लाजजति मीनाक्षीलाई ठेक्का परेको होस् ।
“त्यति मात्र कहाँ हो र ! उसको पुस्तक-समीक्षा गरििदएन भनेर जथाभावी भन्दै हिँड्छे ।” आदि-इत्यादि । लोकट स्लिभलेस कपडाबाट चियाएको वक्षले समीक्षकज्यूलाई उत्तेजित तुल्याएको समरीले स्पष्ट बुझेकी थिई ।
“तिम्रो निर्दोष अनुहारले मलाई झकझकाउँछ । कतै मैले तिमीलाई बोर त गरनिँ । मीनाक्षीको कुरा गरेर तिमीलाई दिक्क त लगाइनँ ?” दुई क्वार्टर सिग्नेचर पेटभित्र पुर्याएपछि समीक्षकज्यूले बिस्तारै आफ्नो हात समरीको तिघ्रामा पुर्याए । नजिकिने बहानामा शरीरसँग ढेपिन थालेको महसुस समरीलाई भयो ।
“आठ बज्न लाग्यो । तपाईंको घर जाने बस पाइन्न फेरि !” समरीले कुरा मोडी ।
“सधैँ गएकै घर त हो नि !” समीक्षकज्यूको जवाफ ।
“रात कहाँ काट्नु हुन्छ त तपाईं ?”
“मैले चिनेको गेस्ट हाउस छ सुन्धारामा । त्यहीँ जाऔँ हुन्न र !” समीक्षकज्यू रोमान्टिक हुँदै जवाफ फर्काउँछन् ।
“होइन मेरो ल्यापटपमा काम गर्नु छ ।” समरी बिस्तारै तर्किन खोज्छे । उसलाई थाहा छ, अब पनि बाटो लागेन भने समीक्षकज्यूले बिताउँछ ।
ट्वाङ्ट्वाङ् एसएमएसको घन्टी बज्छ ।
“के छ मैया कोसँग ? हाम्रो फोन उठाउन नहुने ?” एसएमएस आएछ । यस्सो हेर्दा त तीन मिस्डकल भइसकेछ । दिउँसो साइलेन्समा राखेको मोबाइलको मोड चेन्ज गर्न बिर्सिछे ।
“हैन, म अन द वेमा छु । घर पुगेर कल गर्छु है !”
जवाफमा एसएमएस टाइप गर्छे समरीले । उसको अनुहारमा खुसी छाउँछ । महिनौँ दिनदेखि चाहेको रंग-पत्रकारको फोनको आशा आज पूरा भएको छ । कारण उसलाई पत्रिकामा छापिनु छ । पुरुष संवाद गरेर चर्चामा आउनु छ । उसको अबको ध्यान रंग-पत्रकारतिर मोडिन्छ ।
“कसको एसएमएस ? सञ्जीवको हो कि के हो ?” समीक्षकज्यू प्रश्न गर्छन् ।
“हैन ! भाइको एसएमएस हो ।” ब्याग बोक्ने तरखर देखाउँछे । बिल तिरेपछि अप्ठ्यारो काठको भरेङ ओर्लंदै गर्दा समीक्षकज्यूले सुरक्षाको बहानामा समरीको हात समाउँछन् । साँघुरो र अँधेरो गल्ली पार गर्दै दुवै मूलसडक आएपछि नाइट ट्याक्सी रोक्दै समरी उनको कान छेउमा फुुसफुसाउँछे, “घर पुगेपछि फोन गर्नु है । ल बाई !”
सहरमा भदौमा बर्सेनि लिटरेचर फेस्टिबल चल्छ । साहित्यमा लाग्नेहरूको कुम्भमेला हो र अवसर पनि । रंग-पत्रकारले सानो कोलमको पुरुष संवाद शीर्षकमा अन्तर्वार्ता छापिदिएपछि समरी यस्सो चिनिने भएकी छे । यसैको भरमा एउटा कविता वाचनसम्म गर्न पाउने अवसरको लोभ त्याग्न सकेकी छैन । प्रयास जारी छ उसको, कुन माध्यमबाट त्यस लिटरेचर फेस्टिबलमा सामेल हुन पाउने भनेर । समीक्षकज्यू, रंग-पत्रकार, टेलिभिजन पत्रकार, बिल खर्चेका साहित्यकारहरूको भनसुनका भरमा भए पनि अवसर र सामेल हुने मौकाका लागि अचेल लागिपरेकी छे ।
“यसपाला पुस्तक समीक्षाबारे मीनाक्षीको लेख बडो सन्तुलनपूर्ण र राम्रो क्वालिटीको छ ।”
समीक्षकज्यूको चरत्रिले कोल्टे फेर्छ । टेबलमा रहेको काष्टादीमा भन्दा झोल पदार्थमा जोड दिने उनको आचरण अझै कायम नै छ । समरीलाई लाग्छ, यो के टेन्सन आइपर्यो, बल्ल समय मेरो फेवरमा रह्यो भन्न नपाई किन समीक्षकज्यू फेरि मीनाक्षीतिर ढल्किन थाल्नुभएको हो । सोच्दा सोच्दै परविर्तन हुनुको मेसो समरीले भेट्न सक्तिन । फेरि, अर्को क्वार्टर थपेपछि रहस्य खुल्दै जान्छ ।
“आज रविवार पत्रिकामा मेरो लेखको पैसा लिनु थियो ।”
“अनि, के भो त !” समरी सोध्छे ।
“मोरा गरबिहरूले दसैँमा दिने रे ! घन्टा खाएर बस्नु त्यतिन्जेल ? स्वास्नीका अगाडि लाज भइसक्यो ।”
बल्ल कुरो कुलेसोतिर लाग्यो । समीक्षकज्यू लेख्न प्रेरति गर्छन् । हिजो भर्खर निस्केको उपन्यासको पुस्तक समीक्षा लेखेर उसको नाममा छपाइदिने पनि आशय प्रकट गर्छन् । समरी बल्ल बुझ्छे, कीलो कहाँनेर ठोकिएको छ । पर्समा भएको पाँच सय रुपियाँको नोट समीक्षकज्यूको खल्तीमा घुसारििदन्छे । त्यसै बहानामा समरीको हात प्रेमिल भएर समीक्षकज्यू पक्रन खोज्छन् । समरी हिउँझै शीतांग हुन्छे, कारण उसको कविप्रेमी अचेल यही सहरमा छ ।
कथाले अन्त्यको मोड लिनुपर्ने हो । तर, कसरी टुंग्याउने कथाकारले सोच्न सकेका छैनन् । कथाका दुवै पात्रसँग भेट नभएको र दुवैका बारेमा नसुनेको महिनौँ भयो । कथा बेवारसिे अवस्थामा छ अचेल । मीनाक्षी पुनः विदेश भासिई । सहरमा उसको हल्लाको चर्चा सकियो । समरीले ईर्ष्या गर्नुपर्ने अर्को पात्र फेला पारेकी छैन । पछिल्लोपटक सुनिएको हल्ला समरी आफ्नो कवि भनाउँदो प्रेमीका लागि लब्बिङ् गर्छे रे ! रंग-पत्रकार अचेल हिरोइनका बारेमा शृंखलाबद्ध लेख लेख्न थालेको छ । टेलिभिजन पत्रकार अर्की केटी लिएर साहित्यिक कार्यक्रममा देखिन्छ । प्रत्यूष डकुमेन्ट्री बनाउनतिर लागेको छ । आज मात्र मीनाक्षीका बारेमा दैनिक पत्रिकाका पत्रकारले थप कुरा सुनाए । विराटनगरको साहित्यिक कार्यक्रमबाट फर्कंदा दर्पण प्रतिष्ठानका अध्यक्षले अर्का पौडेल थरका साहित्यकारलाई सबैका अगाडि सुनिने गरी कानमा भने रे, “मीनाक्षीलाई एकचोटि के …. त्यो केटी त मेरोपछि लागेर हैरान । बल्ल हाइसन्चो भो !”
नेपाल साप्ताहिक
अंक: ५१८
२०६९ कार्तिक ५
Oct 21, 2012
