सधैँको जस्तै छ, उही अचम्म र छक्कपर्दा । ए, कसको? नभनौँ पनि भएन, भनौँ पनि कतिलाई मात्र भनौँ? दैनिक आठ-दस जनालाई त जति नै पुरानो भइसक्दा पनि घाउ कोट्याएर उदांग नपारी सुखै छैन । भन्छु, पिताजीको । कति भयो? जवाफ दिन थालेको त अफिस आउन थालेको अर्थात् सोह्रौँ दिनदेखि हो र अब भन्न थालेको छु, ६ महिना पुग्यो ।
लौ, यतिका दिनसम्म पनि कस्तो थाहा नपाएको? अनि, उमेर कति पुगेको थियो, बिमारचाहिँ के नि? ल, ढिलै भए पनि हार्दिक समवेदना छ मेरो । यस्तै हो दैवको लीला । आमा हुनुहुन्छ कि उहाँ पनि …?
लाग्छ, उहाँले थाहा नपाउनु मेरै कमजोरी हो । समाचारकै कुरा गर्ने हो भने चारवटा दैनिक पत्रिकाले पिताजीको निधनको समाचार प्रकाशित गरिदिएछन् मप्रति सहानुभूति राखेर । सायद एकाध एफएमहरूले पनि भनेकै हुनुपर्छ र फेसबुकलगायतका सामाजिक सञ्जालका मिडियामा पनि साथीहरूले समाचारै हालिदिएका रहेछन् । कसरी भनौँ मेरो कमजोरी हो उहाँले थाहा नपाउनुमा? यो क्रम निरन्तर चलिरहेकै छ र अब बल्ल आफ्नै संस्थाभित्रकाले चाहिँ सोध्न छाडेका छन् । चौथो महिनासम्म त ‘ए कसको?’ भन्नेहरू आफ्नै कार्यालयमा पनि प्रशस्तै भेटिन्थे । अनि, बाहिरका शुभचिन्तकहरूलाई के भन्नू !
मृत्यु अवश्यम्भावी छ तर पनि दुःखद नै हुने रहेछ । आफन्तहरूको निधनमा मन नराम्रोसँग चिमोटिन्छ । काममा बसेका बेला सुन्ने गरुड पुराणले ‘तेरो आफ्नो मान्छे मरेको छ, उसको आत्माले सुख पाओस् भन्ने कामना गर्छस् भने सक्दो दान गर, नसके पनि दान गर, तँलाई केही बाँकी रहँदैन भने पनि दान गर’ भन्दो रहेछ । तेरो आफन्तको निधनमा तँ शोकमा छस्, तैँले मीठो खानु हुँदैन, राम्रो लगाउनु हुँदैन, जति सक्छस् र सक्दै नसके पनि तैँले शोकमा रहनैपर्छ, आफू शोकमा भएको सबैलाई देखाउनैपर्छ भन्दो रहेछ । मैले पनि पुराणका वचनहरू सकेजति मानेको छु र नै दिनदिनै चिमोटिइरहन्छु कोही न कोहीबाट, ‘ए, कसको? च्व…च्व… !’
अचेल धेरैले किरियाकर्म सकेको तेह्रौँ दिनमै ‘अब म चोखिएँ, म आशोचमा छैन है’ भनेझैँ गरी कपडाका रङले शरीरलाई छोपिदिन थाल्नुको गुण कुरो पनि यसैमा पो रहेछ । तेह्रौँमा रहेर पैँतालीसौँमा र त्यसभन्दा पर गए ६ महिनेमा जुत्ताकपडाका रङरङले छोपेर ‘ए, कसको?’ भन्ने अवसर नदिने साथीहरूले पनि यही मुक्ति खोज्नुभएको रहेछ सायद ।
दाजुभाइ सँगै हुँदा पनि मान्छेको आक्रमण मैमाथि नै हुन्छ । म शान्तिको रङमा छु, सेतो रङ शान्तिको रङ । तर, यसैले झन्झन् विह्वल र अशान्त बनाइरहेछ । उनीहरूले रङरङले शरीर ढाके र ठुँगिनबाट जोगिए । म शान्ति र मुक्तिको खोजीमा रहने भएर अशान्तिका लहरलहरले भिज्दो छु । सम्झनाको सिस्नोले पोलिँदो छु ।
यस वर्ष दिनको यात्रा बिलकुल भिन्न र थिलथिलोको अनुभवमा बित्ने सम्भावना ६ महिनासम्मका लक्षणहरूले देखाएका छन् । घरबाट ढिलो निस्किन र जतिसक्दो छिटो घर भित्रिन मनले घचेटिरहन्छ । जति ढिलो निस्कियो, उति ढिलो भोकले क्याउक्याउ पार्ने र जति छिटो घर भित्रियो, पेट भर्न पाउने । हुन त खानु हुँदैन भनेपछि भोक पनि दब्दो रहेछ तर दबाएरै बस्नु पनि शारीरकि रूपमा उति जायज होइन । पानी पनि नखाई बारेकाहरू भन्छन्, ‘ए! पानी चलाएको? मैले त पानी पनि घरैबाट ल्याउने गरेको थिएँ ।’
हो र, कसरी सकेको? यत्तिभन्दा ज्यादा के भन्नु र? भन्छु- मैले सकिनँ, पानी त खाएँ अफिसमा । उनीहरूबाट ठीक गर्नु भो’को जवाफ आउँदैन ! जवाफको प्रतीक्षामा पनि थिइनँ । ‘बार्ने भनेको त माछामासु, लसुनप्याज नखाए भइगो नि ! सबै कुरा बारेर कहाँ साद्धे हुन्छ र? मैले त यति मात्रै बारेथेँ !’ भन्नेहरूको संख्या बढ्दो छ । सायद यही नै ठीक पनि होला? तर, हाम्रो पूर्वीय धर्म र दर्शनबाट चलेको सामाजिक व्यवहार, जसलाई पुर्खाले मान्दै आए, सकेसम्म र सकिन्छ नै भने मानौँ न त भनेर मनले अह्राएपछि नै मैले दैनिक ठुँगाइरहेछु- आठ-दस शुभचिन्तक चुच्चाहरूबाट ।
सजिलो खोज्नेहरूले त आफ्नै निजी नियम र तरिकाहरू बनाएका पनि देखिएका छन् । ‘मैले करो भएको भाँडामा पकाएको खाने गरेको छैन’ भनेर कसौँडीमा मासु पकाएर खाने बरखी बारेकाहरू पनि समाजमै देखेको हुँ । ‘अरू रङको पशुको मासु खानु हुँदैन, सेतो रङको खसी-कुखुरा चल्छ’ भन्ने बरखी बारेकाहरू पनि देखिएकै हुन् । चारखुट्टे खाटमा बस्न/सुत्न बारेकाले अर्को एउटा खुट्टो थपेर पाँचखुट्टे खाटमा बस्ने/सुत्ने गरेको पनि देखियो । बियर र वाइन त फलफूलको रस हो, हुन्छ भन्नेहरू पनि देखिए । जीन र भोड्कामा रङ छैन, खान हुन्छ भन्नेहरू पनि देखिए । हो त बार्ने आफूले हो, आफैँका लागि र आफ्ना पितृका लागि हो भने तरिका पनि आफ्नै हुनुपर्छ । यथार्थकै सेरोफेरोमा उनीहरूले आ-आफ्नै तरिका अपनाएका थिए ।
किरियाकर्ममा बस्ता घ्यू, चिनी, मिस्री, अदुवा र तिलबाहेक खानु हुँदैन भन्ने पण्डितहरूले चित खाएर नियम बदलिसके अब । म सम्झिरहेको छु, ओखलढुंगा छहरेको मेरै छिमेकी गाउँ सेर्नाका भट्टराईलाई । बिचराले घ्यू-भात खानै नसकेपछि मकैका च्याख्ला पकाएर दहीसँग खाँदा कति टोकसो बेहोर्नुपरेथ्यो ऋक्षे पण्डितले । शुद्ध-शान्तिमा दाजुभाइ झन्डै नआएका ! त्यस्तै, अर्का एक जनाले आँपको सिजनमा पिताजी बितेकाले र घ्यू-भातले ज्यादै असहज भएपछि आँप त चोखो हो, खान हुन्छ भनेर चलाउँदा ठूलै हल्लीखल्ली मच्चिएथ्यो : ल यादव भट्टराईले बाबुको किरियामा बस्दा आँप खाए रे? यो के जमाना आयो अब? तिनका बाबुको आत्माले कसरी मुक्ति पाउनु? जिब्रो काढेथे गाउँलेले आश्चर्य मान्दै ।
म काममा बसेका बेलामा सुदूरपश्चिमतिरका एक जना मेरै मित्र मलाई समवेदना प्रकट गर्न आएथे । उनले फ्याट्ट सोधे, तपाईंहरूले नुन चलाएको छ कि बारेको छ? मैले भनेथेँ, हाम्रो त मुख्य बार्ने भनेकै नुन हो र नजिकका दाजुभाइले पनि नुन बार्छन् १० दिन र १३ दिन । त्यसैले को कति नजिकका दाजुभाइ हो भन्ने छुट्याउनलाई भन्ने गरिन्छ, १० दिने र १३ दिने भनेर ।
मित्रलाई नयाँ कुरा सुनेजस्तै लागेछ । भन्दै थिए, हाम्रोमा त नून चल्छ, पहिलेकाले सिँधेनुन खान्थे, अचेल त यही नुन खान्छन् । अनि, बार्नेचाहिँ के त? दूध, दही, कुअन्न । कुअन्न अर्थात्- कोदो, फापर, भटमासलगायतका केही अन्न !
फलफूलसमेत नखाई बस्नुभएकी मेरी आमा भन्दै हुनुहुन्थ्यो, “यस्तो गरेपछि कसरी तर्नू?”
हुन त आमालाई पनि भुइँमा बस्न-उठ्न नसक्ने अवस्था भएपछि खाटमै व्यवस्था गर्नुपरेथ्यो सुत्ने/बस्ने । कतिले भने पनि होलान्, लोग्नेको किरियामा बसेकी बूढी खाटमा ढमढस! तर, आमाले पर्वाह गर्नुभएन । खाटमा पराल र राडी ओछ्याएर आमाले बार्नुभएथ्यो । हुन त आमाले यसो गर्छु भनेर पिताजीसँग स्वीकृति पनि लिनुभएथ्यो जीवित अवस्थामै ।
“तँभन्दा पहिला म जान्छु,” पिताजी भन्ने । “तपाईं यस्तो हात्तीजस्तो हुनुहुन्छ, म रोगैरोगको घर छु, म नै पहिला जान्छु,” माताजी जिकिर गर्ने । एक दिन होइन, दुई दिन होइन, काठमाडौँ बसेदेखिका तीन वर्षैसम्म नै को पहिलामा ‘विवाद-चर्चा’ भइरहेको सुन्थेँ । घाम ताप्तै गफ गर्ने बूढाबूढीको मेलो न हो भन्दै बेवास्तामै उडाउनुबाहेक अरू के गर्न सक्थेँ र म । हो त नि आमा रोगकी खानी नै हुनुहुन्छ । उहाँका रोग यति नै छन् भन्ने गणना गर्न सकिँदैन र पनि यही नै हो भनेर चिकित्सा विज्ञानले पत्ता लगाएर उपचार गरेको चाहिँ एउटै हो, पत्थरीको शल्यक्रिया । बस्यो उठ्न नसक्ने, उठ्यो बस्न नसक्ने, शरीर पोल्यो, नशामा रगरग हिँड्यो, कटकटी खायो, मुख सुक्यो… । बस् भइगो अब । तर, पिताजी त दुई जुम्ल्याहा मधुमेह र उच्च रक्तचापको सामान्य बिमारी नै हो र औषधी लगातार छ । कहिले भन्नुहुन्थ्यो, ज्योतिषीले तेरो आयु ९२ वर्ष भनेको छ र पाँच बास हुन्छ तेरो पनि भनेको छ । ओखलढुंगापछि फत्तेपुर, जनकपुर र भक्तपुर भयो । अब कि वृन्दावन कि देवघाट हुन सक्छ अर्को बास । आँखा कम देख्ने, कान कम सुन्ने तर आमालाई भनिरहने, “तँ बूढी गए जा नगए नजा, म त जान्छु ।” अति नै भएपछि आमा भन्नुहुन्थ्यो, “नाप्यौ बूढा, मुखै मात्रै हो ।”
ज्योतिषीको भनाइ मिल्दै मिलेन । एक्कासि दुवै मिर्गौलाले विश्राम लिइदिए घ्याच्चै । ८६ वर्षको आयु सक्रिय जीवन जिइरहेकालाई त केही होइन तर काठमाडौँ भित्रिएपछि नै उहाँ एकाएक निष्त्रिmय भइदिनु भयो र उमेर पुगेजस्तो भइदिनुभयो, यसो गराँै न, हुँदैन, सक्दिनँ म बूढो । धेरै बूढाका उदाहरण दिएर तपाईं बूढो होइन त भन्दा पनि नमान्ने । मरे मर्छु त किन बार्नुपरो, किन हिँड्नुपरो? आखिर ‘मरे मर्छु त !’ले नै जित्यो । आमाले हार्नुभयो । डाक्टरले हारे । मैले हारेँ । नियतिले हरायो ।
सोचाइका तरंगहरू उठिरहन्छन् । बिर्सिन खोज्दा पनि अरूबाटै उठाइन्छन् सहानुभूति राखेर । ६ महिना पुग्नै आँटेको छ र आजै पनि एक जना मित्रले मेरो श्वेत पहिरनलाई लक्षित गर्दै भने, कसरी यस्तो भयो? मैले फ्याट्ट जवाफ दिएँ, “नियतिले ।” पछि पो सोचेँ, “कतै ठाडो पो बोलेँ कि?”
रहरले किन हुन्थ्यो र ! जेजस्तो भए पनि कसैलाई यस्तो रहर नहोला नै । निरन्तर घुम्ने भनेको त नियतिको चक्र नै हो । नियतिको चक्र र कुमालेको चक्र एकै हुन्, घुमिरहन्छन् । भोग्नु त छँदै छ । केवल कसरी भोग्ने र कति भोग्ने भन्ने मात्रै हो । पुराणहरूले भन्छन्, पितृऋण तिर्ने एउटा अवसर हो यो । सहजीकरण गर्न चाहनेहरू भन्छन्, बेकार हो यो सब ।
मैले सल्लाह कसैको लिएको छैन र कसैले यसो गर पनि भनेको होइन । मन आफ्नो हो, मनले अह्राएको गर्ने हो । मनले जब लगाउँछ भने परेका अप्ठ्यारा भोग्न शरीर र मन दुवैले सहमति गर्नैपर्छ । शरीर र मनको साझेदारी र समझदारी भइदिएन भने एकले अर्काेदेखि चित्त दुखाउँदा रहेछन् । म अहिलेसम्म दुवैको साझेदारीमै चलेको छु र ‘ए, कसको?’लाई सहज रूपमा पचाएको छु ।
महिलालाई एउटै मात्र पर्छ, श्रीमान्को । लोग्नेमान्छेले छुट पाएको छ, श्रीमतीको बार्न नपर्ने गरी । सोचाइ न हो, आइदिन्छ अनायासै, श्रीमतीको पनि बाबुआमाकै जसरी बरखी बार्नुपर्ने नियम शास्त्रले बसाइदिएको भए, ‘ए ! कसको? बुबा, आमा कि श्रीमतीको?’ भनेर सोधिन्थ्यो होला । अनि, श्रीमतीको बरखी बार्नेहरूले कम्तीमा पनि वर्ष दिनसम्म दिवंगत श्रीमतीकै सम्झनामा अर्को बिहे गर्न हतािरँदैनथे कि !
केही साथीहरूबाट भोगिएका कुराहरू पनि सुनेको छु । आज ए कसको? ल ढिलै भए पनि हार्दिक समवेदना छ मेरो भन्नेहरूले नै दोस्रोपटकको सेतो पहिरनमा पुनः उसरी नै ‘ए कसको? बुबाको कि आमाको?’ भनेर सोधिदिन्छन् । यो त सामान्य कुरा हो, कसले सम्झना राखिरहन्छ र अर्काको दुःख-पीडाको । औपचारिकता निर्वाह गर्नु नै अहिलेको मानवीय संवेदनालाई ठूलो धर्म निर्वाह गरेको मान्नुपर्छ । मानेको छु मैले र सायद मजस्तै धेरै श्वेतवस्त्रधारीहरूले पनि चित्त बुझाउनुभएकै होला साथीभाइ एवं शुभचिन्तकहरूका हार्दिक समवेदनाका शब्दहरूले ।
नेपाल साप्ताहिक
अंक: ५१७
२०६९ आश्विन २८
Oct 14, 2012
