खोलाहरू उल्टा बगेर
हिमालको जरामा थिग्रदैछन
झरेका पातहरू फेरि
हाँगा खोज्दै हिंडेका छन्
तर मध्यदिन, चमकन्न सूर्य
बस्ती अँध्यारोको अँध्यारै छ
अँध्यारै पर्दा हालेर
अँध्यारैमा आज–
फेरि एउटा चटक शुरु होला जस्तो छ ।
दुई शताव्दी खर्लप्पै निलेर
मध्ययुगबाट एक सिँढी उक्लन नसकेको बस्तीमा
लोडसेडिङ, बिश्वबैंक र एडीवीको
विकासे ऋणको भारीको खातमा उक्लिएर
विकासको फेहरिस्त प्रस्तुत गर्न
एकटोली चटकेहरू
गाँउ पस्दैछन चुनाव बोकेर !
अब फेरि
एउटा चटक शुरु होलाजस्तो छ
चमकदार, वजनदार, दार्शनिक र नयाँ नेपाल झल्कने
घोषणापत्र लोकार्पण र वाचनसँगै
इन्द्रजालको नाईकेको नेतृत्वमा ।
थाकेको वस्ती –
उज्यालो कुरेर अँध्यारैमा निदाएको वेला
चटकेहरू चोर्नेछन मनग्गे भोटहरू
र, उज्यालो भैनसक्दै वेचेर लिलामीमा
छिरिसक्नेछन नयाँ बानेश्वर, सिंहदरवार र बालुवाटारका गेटभित्र
र, ढुक्कसँग निदाउनेछन … बर्षसम्म
अर्को चटक तयार नभइञ्जेलसम्म ।
फेरि एउटा चटक शुरु होलाजस्तो छ
आज क्याविनेट बस्दैछ
निर्वाचन घोषणा गर्न
केन्द्रीय समिति बस्दैछ
रिहर्सल गर्न ।
दीपेन्द्र के.सी.
१९ मार्च २०१३
बागलुङ, हाल ओस्टण्डे बेल्जियम ।
