बिहान उठेर ऊ अफिस जान्छ । अफिसमा बोसलाई भेट्दछ । किन किन उसलाई अराजक हुन मन लाग्छ, बोससँग । ऊ बोसको नाकमा मुक्का लगाउन चाहन्छ । हात खुल्न थाल्छन, मगज बन्द हुन्छ । मुठ्ठी कस्छ र ……
“उफ !” – मगज एक्कासी रन्थनिन्छ – “भोली सडकमा आउने बिचार गरिस क्यारे तैंले!” – मगजले सम्झाउछ उसलाई ।
उसलाई सहकर्मीहरुसित कुस्ती खेल्न मन लाग्छ, त्यो बोसकी सेक्रेटरीको कपाल लुछ्न मन लाग्छ । यो कस्तो चाहना हो उसको ? अफिसको कुनामा रहेको यौटा बगैंचामा, निर्वस्त्र भएर ऊ नाच्न चाहन्छ । उसले सर्ट फुकाल्छ, बोस् त्यसबखत ठ्याक्क उसको क्याबिननेर आइपुग्छ – “ए बद्री! त्यो फाईल …”
“बोस, आज कस्तो गर्मी हगि! म पसिनाले लत्पतिएको छु हेर्नोस ” – मगजले बद्रीको बचाउ गर्छ ।
“यो पौषको जाडोमा किन बद्री पसिनाले लत्पतिएको छ ?” – बोसलाई सोच्न बाध्य बनाउँछ बद्रीले ।
बद्री सबैको चासोको विषय बनेको छ अफिसमा । उसको मगज अलिक फुस्केको छ अरे! तर मगज फुस्केको मान्छे अफिस कहाँ जान्छ र ? अनि सधैं उसको बचाव गर्ने उसको त्यही यौटा मगज त हो – त्यही मगजलाई फुस्केको भन्छ संसार ! यो कस्तो संसार हो ?
चियाको समय हुन्छ । श्यामेले चिया बोकेर आउँछ ।
“बद्रीजी चिया!”
बद्रीले चियाको गिलास झिक्छ । उसलाई त्यो तातो चिया श्यामेको अनुहारमा फाल्न मन लाग्छ । फेरि एकपटक मगजले उसलाई रोक्दछ – “यस्तो गर्न हुँदैन राजा! कारवाही हुन सक्छ फेरि !”
बद्रीले चियाको गिलास टेबुल ऊपर राख्दछ ।
बद्री चिया पिउँदै काम गर्न चाहन्छ । “काम के गर्दै थिएँ म ?” – बद्रीले आफैसित प्रश्न गर्दछ ।
उत्तर आउँदैन । फसाद पर्यो र । के गर्ने अब ? बोस् नजिक पुग्छ ऊ ।
“बोस् अरु के के काम छ आज गर्नुपर्ने ?”
“त्यो काम सकियो र ?”
“कुन काम ?”
“बिहान को काम ?”
“मलाई बिहान काम नै आएन आज, बोस”
“कस्तो कुरा गर्नुहुन्छ बद्रीजी तपाँई!”
“केही नराम्रो कुरा गरें र बोस ?”
“धतुर त खानु भएन बिहान आज ?”
“छैन ! त्यस्तो ……”
एक्कासी बद्रीको मगजले काम सम्झिन्छ – “नवश्रीङ्गार को अडिटिङ् हुँदै थियो! घाँडो छ यो अडिटिङ्!”
“बोस! ठट्टा गरेको मात्र । काम गर्दा गर्दा अल्छी लाग्छ नि!”
बद्री पुन: आफ्नो क्याबिन फर्किन्छ।
“काम थालेको एक घण्टा भा छैन, अल्छी लाग्ने कुरा गर्छ यो बद्री!” – बोस् सोच्दछ।
***
के बद्री पागल हो ? मलाई बद्रीले धेरै कुरा सोच्न बाध्य बनाएको छ आजकाल । सोच्दा सोच्दा म देख्छु – बद्री म ऊपर हाँसिरहेछ । यो बद्री कस्तो मान्छे हो, बुझ्नै गाह्रो!
First published in Majheri on : 2012-11-19 18:09:45 +0900
