सूर्यको तेजिलो किरणमा आफूलाई नतमस्तक बनाएर पार्कमा सबैजना न्यानो रापमा मस्त थिए । सडक छेउछाउमा राता पहेला फूलहरू फुलिरहेका थिए । आकाश गहिरो निलो रंगमा टलटल टल्किएको थियो । जाडोको मौसम शुरु भएको छ । बिहानको घमाइलो वातावरणमा बूढाबूढी, आ-आफ्नो दौतारीसँग गफमा मस्त थिए । केटाकेटी मनमौजी उफ्रिदै खेल्दै थिए । एकजना बूढी आमा एक्लै बसेको देखेर म उनको नजिक गएर बसे । उनले निकै अगाडिदेखि आफूसँग कुरा गर्ने मान्छेको खोजीमा थिईन् । म नजिकै बसेर उनको कुरा सुन्न उत्सुक र लालायित देखेपछि उनी फुरुक्क हुदै, आफ्ना अतीतहरू सुनाउन लागिन् । म चाख लिदैँ उसको कुरा सुन्न थाले ।
तिमीलाई थाहा छ ? म पोल्याण्डमा जन्मिएकी हुँ । हिट्लरका सेनाहरूले यहुदीलाई खोजी खोजी मार्दै थिए । दिनानुदिन युद्ध चर्किएको कारणले त्यतिबेला मान्छेहरूले रगतको खोला तर्नु परेको थियो । युद्धमा सबै मारिने निश्चित भए पछि सम्भव भए सम्म टाठाबाठा यहुदीहरूले आफ्ना परिवार छरछिमिकिलाई बचाउन एक उर्दी जारी गरे । सबै मिलेर बम बारुद नभेट्ने अनकन्टार ठाउँमा गएर बस्ने योजना बनाए । भाग्यवंश म पनि त्यस समूह पर्न सफल भएँ । ज्यान त बच्यो खानेकुरा केही थिएन् । दुई मुठी सास जोगाउन जंगलका कन्दमूल खोज्न् यत्रतत्र जान्थे । बेलुका ओडारमा फर्किएर सबै जना सँगै बस्थे । दिन बित्दै गयो । नजिक नजिक पाइने फलफूल कन्दमूल पाइन छाड्यो । खानेकुरा खोज्न धेरै टाढा टाढा जानुपर्ने अवस्था सिर्जना हुन थाल्यो ।
एक दिन भोकले बिछट्टै सताउँदा खानेकुराको खोजीमा धेरै हिडेँपछि लटरम्मै फलेको अम्बाको रुख भेटेँ । पेटभरी खाएर आफ्ना साथीभाईहरूको लागि पनि झोलाभरी टिपेँ । दिनभरिको हिडाइले लखतरानभएपछि त्यही रुखको फेदीमा एकछिन थकाइ मार्न थाले । कसो कसो मेरो आखाँ लागेछन् । बिउँझिदा त चकमन्न रात पो परिसकेछ । मैले आफ्नो बासस्थान जाने बाटो पनि भुलेकाले कता जाने के गर्ने रनभुल्लमा परेँ । मेरो शरीर महान भय र त्रासले थर्थरी काम्दै धेरै रोएँ कराए । जब चराहरूको चिर्बिर सुने तब आफूलाई दह्रो बनाए । छेउछाउमा चराहरूको चिरबिरले मलाई सहास र आधार दियो । डुब्न थालेको मान्छेले माथिको निलो आकाशलाई देखेर आधार पाए जस्तो । बाटो भुलेकोले जति हिडेँ पनि आफ्नो पहिलेको ठाउँमा पुग्न असफल भएँ ।
आमा बाबा कता के भए होला दाजुभाई कहाँ होलान् भन्ने अनेकौ तर्कना मनमा खेल्न थालेपछि अब बाँचेर घर परिवारलाई भेट्न देख्न पाउदिन भनेर निरास हुन्थे । दिनभरी कन्दमूल खोजेर पेट भर्नु, रात पर्नु अगावै जंगली जनावरको आक्रमणबाट बच्नको लागि ओडार खोज्नु दैनिकी थियो । अब कहिले कुन जनावरको शिकार हुनु पर्ने हो, बरु त्यही युद्धमा नै बसेर मरेको भए पनि हुन्थ्यो जस्तो पनि लाग्यो । उनले आफ्नो कहानी बताउदै गर्दा बिराट उदासीले भरिईन् । असंयमित भएर आखाँ रसिलो बनाइन । तितो स्मृर्ति कहाली लाग्ग्दो निराशाले तप्त उनका आखाँहरू एक टक्कसँग मलाई हेरिरहेका थिएँ,लाग्थ्यो बर्षौदेखि उनीभित्र गुम्सिएका पीडा र बेदनाहरू मसँग पोख्न पाउँदा उनको मन हलुंगो भएको थियो ।
भगवती बस्नेत
