Skip to content

प्रकृति र देवकोटाको ‘ज्वरशमना प्रकृति’

  • by


पर्वतराज पृथ्वीका ताज ओजस्वी हिमाल,
काँधमा स्वर्ग बोकेर हेर्ने नीलिम नेपाल,
दिनले लिँदा पहिलो झुल्को सगरमाथामा,
उषाले बालिन् लखबत्ती-चुल्ही सुनौला ज्वालामा

हिमाल र नेपालको अप्रतिम प्राकृतिक सौन्दर्यको प्रभावशाली चित्रण गर्दै उषा (प्रकृति)को मानवीकरण गर्ने माथिका कविता पंक्ति महाकवि लक्ष्मीप्रसाद देवकोटाको ‘मुनामदन’ काव्यका हुन् ।

प्रकृतिको जीवन्त चित्रण, प्रकृति र प्राकृतिक सौन्दर्यप्रति आकर्षण, प्रकृतिप्रति आत्मीयताको भाव, आध्यात्मिक स्तरको प्रकृतिप्रेम, प्रकृतिको मानवीकरण र मानवको प्रकृतिकरण अनि प्रकृति-मानव-तादात्म्यको प्रतिपादनजस्ता कुरा नेपाली साहित्यका महान् स्वच्छन्दतावादी प्रकृति-कवि देवकोटाका प्रमुख प्रवृत्ति नै हुन् । प्रकृतिको परिचयात्मक चर्चा गर्दै यिनै प्रकृति-कवि देवकोटाको ‘ज्वरशमना प्रकृति’ कविताको परिचर्चा गर्ने जमर्को यस लेखमा गरिएको छ ।

हिमाल-पहाडदेखि लेक-बेँसी हुँदै समुद्रसम्मका स्थलभाग र यहाँका वनस्पति चराचरलगायत यो समस्त भौतिक चराचर जगत् वा विश्वब्रह्माण्ड प्रकृति हो । तर, यो चराचर बाह्य भौतिक जगत् मात्र प्रकृति होइन, यस जगत्को सञ्चालन-प्रक्रियाको नियामक आन्तरिक शक्ति जो हो, त्यो अझ महत्त्वपूर्ण प्रकृति हो । व्यक्ति वा वस्तुमा मूलभूत विशेषताका रूपमा अन्तरनिहित रहने आन्तरिक स्वभाव यस्तै आन्तरिक प्रकृति हो । यस्तो प्रकृतिलाई सूक्ष्म प्रकृति भनिन्छ । बाह्य वा स्थूल प्रकृति इन्द्रियगोचर हुन्छ भने आन्तरिक वा सूक्ष्म प्रकृतिचाहिँ अगोचर हुन्छ तर सम्पूर्ण सृष्टिमा यही अगोचर सूक्ष्म प्रकृति परिव्याप्त रहन्छ ।

यसरी हेर्दा यो चराचर जगत्को मूल सृष्टिकर्ता प्रकृति नै ठहरनि आउँछ । ‘गर्नु’ अर्थ अँगाल्ने ‘कृ’ धातुमा ‘प्र’ उपसर्ग र ‘क्ति’ प्रत्यय लागेर बनेको ‘प्रकृति’ शब्दको व्युत्पत्तिगत अर्थ पनि त्यही नै हुन्छ, ‘प्रक्रियते कार्यादिकम् अनया इति प्रकृतिः’ अर्थात् जसद्वारा कार्यादि गरिन्छ त्यही नै प्रकृति हो अथवा ‘प्रकर्षेण कार्यादिकं करोति इति प्रकृतिः’ अर्थात् प्रकृष्ट ढंगले जसले कार्यादि गर्छ त्यही प्रकृति हो ।

कुनै पनि व्यक्ति वा वस्तुको प्रकृति जस्तो हुन्छ उसको क्रियाकलाप पनि तदनुरूपकै हुन्छ । दैवी प्रकृतिको व्यक्तिबाट दैवी, दानवी प्रकृतिको व्यक्तिबाट दानवी र मानवी प्रकृतिको व्यक्तिबाट मानवी कार्य हुने कुरा सर्वविदितै छ भने वस्तुको गतिविधि पनि त्यसको प्रकृति अनुसार नै हुने गर्छ । यसबाट पनि व्यक्ति वा वस्तुको क्रियाकलाप-गतिविधिको नियामक मूलतत्त्व प्रकृति नै हुने कुरा छर्लंगिन्छ ।

विकासवादका प्रवर्तक विश्वविख्यात वैज्ञानिक चार्ल्स डार्बिनका अनुसार ‘सर्भाइभल अफ द फिटेस्ट’ अर्थात् ‘योग्यतम नै जीवित रहने’ भन्ने नियम र प्रजनित जीवकोषको संरचनामा हुने परविर्तनका कारणले गर्दा आफ्ना पुर्खा जनावरभन्दा भिन्न बनेर जन्मेको प्राणी मानिसले उक्त प्रकार आफू जन्मने क्रममा भएको जीववैज्ञानिक परविर्तनको परिणाम स्वरूप आफूवरपरको वातावरणमा जीवित रहनका निम्ति त्यहाँबाट आवश्यक सामर्थ्य पनि प्राप्त गरेको हुन्छ । भनाइको मतलब मानिसको सृष्टि प्रकृतिले नै गरेको हो र मानिसले जीवित रहनका निम्ति आवश्यक सामर्थ्य पनि मूलतः प्रकृतिबाटै प्राप्त गर्छ । यसरी मानिसलाई मात्र होइन, समस्त जीवजगत्, वनस्पतिजगत् र आकाशका सूर्यचन्द्र, ग्रहनक्षत्र, तारालगायत यो विश्वब्रह्माण्डलाई नै सृष्टि गरेर यसको हेरविचार र संहारसमेत गर्छ प्रकृतिले । भौतिकवादी वैज्ञानिकहरूको भनाइ यही हो ।

उता अध्यात्मवादी दार्शनिकहरू चाहिँ प्रकृति जड हो र यो स्वयं सञ्चालित छैन, यसलाई सञ्चालित गर्ने चेतन-शक्ति वा परमेश्वर अर्कै छ भन्छन् । पूर्वीय अध्यात्मवादी दर्शन वेदान्तको सारसंग्रह मानिने श्रीमद्भागवत गीतामा परमेश्वरका प्रतिरूप श्रीकृष्णले अर्जुनलाई भनेको कुरा यस सन्दर्भमा उल्लेखनीय हुन आउँछ । जस्तैः

मयाध्यक्षेण प्रकृतिः सूयते सचराचरम् ।
हेतुनानेन कौन्तेय ! जगद्विपरविर्तते । ।

अर्थात्, हे अर्जुन ! मेरै रोहवर र खटनपटनमा प्रकृतिले यो समस्त चराचर जगत्को सृष्टि गर्दछ र मेरै सुपरीवेक्षणमा यो संसारको चक्र चल्दछ ।

प्रकृतिलाई लिएर श्रीकृष्णले उक्त ग्रन्थमा यसो पनि भनेको भेटिन्छः

भूमिरायोनलो वायुः खं मनो बुद्धिरेव च ।
अहङ्कार इतीयं मे भिन्ना प्रकृतिरष्टधा । ।

अपरेयमितस्त्वन्यां प्रकृतिं विद्धि मे पराम् ।
जीवभूतो महाबाहो ययेदं धार्यते जगत् । ।

अर्थात्, पृथ्वी, जल, अग्नि, वायु, आकाश तथा मन, बुद्धि र अहंकार यी आठ प्रकारमा विभाजित प्रकृति मेरो अपरा अर्थात् जड प्रकृति हो भने हे महाबाहु अर्जुन ! यसभन्दा भिन्न प्रकृति जसले यो सम्पूर्ण जगत्लाई धारण गरेको छ, त्यो मेरो परा प्रकृति अर्थात् चेतन प्रकृति हो र त्यसैलाई जीवात्मा भनिन्छ ।

यस्तै सांख्यदर्शनका अनुसार पनि यो समस्त चराचर जगत्को सृष्टि जड प्रकृति र चेतन पुरुषबाट भएको छ । प्रकृति अर्थात् मूल प्रकृति सत्त्व, रज र तम यी तीन गुणको साम्यावस्था हो भने पुरुषचाहिँ आत्माको स्वरूप । पुरुषको संसर्गबाट मूल प्रकृतिले सृष्टिको क्रममा क्रमशः बुद्धि, अहंकार, मन, पञ्च ज्ञानेन्द्रिय (आँखा, नाक, कान, जिब्रो र छाला), पञ्च कर्मेन्द्रिय (हात, खुट्टा, बोली, मूत्रेन्द्रिय र गुदद्वार), पञ्च तन्मात्रा (रूप, रस, गन्ध, स्पर्श र शब्द तन्मात्रा), पञ्च महाभूत (पृथ्वी, पानी, आगो, आकाश र वायु)जस्ता तत्त्वको आविर्भाव गर्छ भने प्रलयकालमा यी सबैलाई पुनः आफैँमा लीन (आत्मसात्) गरििलन्छ ।

यसरी हेरेर ल्याउँदा हाम्रो यो विश्वब्रह्माण्डमा तीन चीज मुख्य देखापर्छन् र ती हुन्, मानिस, प्रकृति र परमेश्वर । यिनमा नित्सेले ईश्वरको मृत्युघोषणा गरेदेखि यताको संसारमा वा भनौँ परमेश्वरमाथि विश्वास नगर्ने आजका मानिसहरूको जमानामा मानिस र प्रकृति मात्र बाँकी देखिन्छन् । यिनमा मानिस-निर्मित वस्तुबाहेक सृष्टिका सम्पूर्ण पदार्थ प्रकृति हुन् ।

प्रकृतिलाई संसारका सबै भाषा-साहित्यमा सौन्दर्यसृष्टिका साथै अन्य अनेक प्रयोजनका लागि पनि उपयुक्त स्थान दिइएको देखिन्छ । प्रकृति र प्राकृतिक सौन्दर्यप्रतिको आकर्षण सामान्यतया संसारका सबै कविहरूमा र विशेषतया स्वच्छन्दतावादी कविहरूमा एउटा प्रमुख प्रवृत्तिकै रूपमा रहेको पाइन्छ भने नेपाली साहित्यका मूर्धन्य स्वच्छन्दतावादी कवि देवकोटा त स्वयं ‘प्रकृति-कवि’ नै मानिन्छन् । उनका कवितामा प्रकृति सहजतया एक मूल तत्त्वका रूपमा रहेको देखिन्छ । प्रकृतिको बहुमुखी प्रयोग र आत्मपरक प्रकृतिचित्रण उनका कविताको महत्त्वपूर्ण पक्ष हो भने उनको कविता-कलाका निम्ति पनि प्रकृति निकै सहयोगी बन्न पुगेको पाइन्छ । साँच्ची भन्ने हो भने देवकोटाका प्रथम-प्रथम प्रकाशित पहिलो र दोस्रो कविता क्रमशः ‘वसन्त षोडशी’ (गोरखापत्र, १९८५ वैशाख) र ‘पूणिर्माको जलधि’ (गोरखापत्र, १९९१ मार्ग १५) विशुद्ध प्रकृति-कविता ठहरिन्छन् । यस प्रकार प्रकृति-कविताबाट प्रारम्भ भएको (प्रकाशनका दृष्टिले) देवकोटाको कवितायात्रा अनेक आरोह-अवरोहका साथ निरन्तर गतिशील रहँदै अन्ततः उनले शान्तभवन अस्पतालमा मृत्युशय्यामा बसेर लेखेको तथा उनको जीवनको अन्तिम नेपाली कविताका रूपमा रहेको ‘आखिर श्रीकृष्ण रहेछ एक’ भन्ने परमप्रकृति-परमेश्वरपरक कवितामै उनको जीवनयात्रासँगै विश्रान्त बनेको देखिन्छ । आफ्नो यस कवितायात्रामा देवकोटाले असंख्य प्रकृति-कविता लेखेका छन् र तीमध्ये उत्कृष्ट पनि अनेक छन् । तिनमा देवकोटाको एउटै मात्र सर्वोत्कृष्ट प्रकृति-कविता छान्नुपरे यो पंक्तिकार उनको ‘ज्वरशमना प्रकृति’ कवितालाई अगाडि सार्न चाहन्छ ।

२०१३ सालको ‘इन्द्रेनी’ (१ः८) मा प्रकाशित देवकोटाको यो ‘ज्वरशमना प्रकृति’ लोकलयमा लेखिएको कविता हो । संरचनागत स्थापत्यका दृष्टिले पर्याप्त सुगठित रहेजस्तै भाषाशैलीको सुकुमारता, नव-नव विम्बहरूको प्रभावशालिता, भाव-विचारको सघन व्यञ्जकता तथा अभिव्यक्तिको संयमितता-परमिार्जितताका दृष्टिले पनि अत्यन्त सशक्त रहेको छ, यो कविता ।

जेठको मध्याह्न बेला छ । गर्मीको प्रचण्ड तापज्वरले हपहपिएका कागहरू शीतलको खोजमा पूर्वतिर हानिएका छन् । म पात्र अर्थात् कवि पनि निधारमा संसारको रापतापको ज्वरो रन्किएको अनुभव गर्दै सो तापज्वर शमन गर्ने कुञ्जको खोजमा छन् । यस्तै चित्रणबाट थालिएको छ, यो कविता । अनि उक्त तापमानको फलस्वरूप वातावरणमा बादलको उद्गम हुन्छ । बादलको क्रमिक अभिवृद्धिसँगै वर्षात् सुरू हुन थाल्छ । त्यसबाट तापज्वर शमन भएको अन्तिम विन्दुमा पुगी यो कविता टुंगिएको छ । खासमा तापज्वरबाट पीडित रोगीहरूको ज्वरशमन ज्वरशमना प्रकृतिबाट भएको भावमय अन्तरकथा भनिएको छ, यस कवितामा । मुख्यतया यसमा कविले बाह्य -वातावरणीय एवं जैविक(शारीरिक) र आन्तरिक ज्वर (सांसारिक दुःख, दैन्य, अभाव, विफलता आदि)को शमन कार्यमा स्त्रीत्व आरोपित, मानवीकृत र दिव्य स्पर्श प्राप्त परिचारिका प्रकृतिको असामान्य भूमिकाको प्रतिपादन गरेका छन् । कविका दृष्टिमा वातावरणीय प्रचण्ड गर्मीले मान्छेलगायत समस्त वनस्पति र जीवजगत्मा व्याप्त तापज्वर तथा सांसारिक अतिसंलग्नताको फलस्वरूप मानवीय चेतनामा उत्पन्न हुने दुःख-दैन्यादिको तापज्वर यी सबैथरी ज्वर अमितसुन्दरी, अतिशीतला प्रकृतिदेवीको औषधोपचार, सेवासुसार र तिनमा निहित परिचारिकाभाव, सखीभाव र जननीभावको फलस्वरूप शमन हुन्छ । जस्तैः

प्रकृतिदेवी काम गर्छिन् कहीँ नजरका घेरामा
बादल-फूल लगाउन झूल पृथ्वीका डेरामा

कलिला करले मुसार्छिन् मलाई हावाले निधारमा,
जुन वायु नीला वनबाट धाउँछ झोपडी किनारमा,

कलिलो स्पर्श । कलिली सँगी । एकान्त गुल्जार छ ।
संसारको ज्वरो रन्केको अब शीतल निधार छ ।

कवि अगाडि भन्छन्, ‘चून र इँट’ अर्थात् भौतिक सम्पत्ति तथा ‘गणित-हिसाब’ अर्थात् सांसारिक लेनदेनको हिसाबलाई नै सबथोक ठानेर मानिस जतिजति प्रकृतिबाट टाढिन्छ उतिउति ऊ सांसारिक ज्वरोले रोगी बन्छ ।

प्रकृतिवियोग वा अतिसांसारकिताको परिणाम स्वरूप सञ्चारति यो ज्वर कुनै व्यक्तिविशेष, समाजविशेष वा युगविशेषको निजी समस्या मात्र नभई सार्वभौम र सार्वकालिक समस्या हो । प्रकृतिबाट टाढिँदै गई सभ्यता र उन्नतिको भर्‍याङ चढ्ने क्रममा मानिस गन्धा हृदय, अन्धो दृष्टि र कुत्सित स्वभावले आक्रान्त बनेर ज्वरैज्वरको भुंग्रोमा पिल्सिएकै छ, त्यसमाथि परमाणु-युगको त्रास-सन्त्रास तथा मानवीय अहं र अहन्ता त झन् महाज्वर नै भए । वास्तवमा समस्त मानवसभ्यताको यात्रा यिनै सांसारिक ज्वर-महाज्वरको शमन-प्रक्रियाकै खोज हो । यसै सन्दर्भमा हाम्रा महान् प्रकृति-कवि देवकोटा पनि यस सांसारिक ज्वरको शमन-कार्यमा प्रकृतिको असामान्य भूमिकाको निरूपण गर्न आइपुग्छन्, प्रस्तुत ‘ज्वरशमना प्रकृति’ कवितामा ।

नेपाल साप्ताहिक अंक – ५२०
२०६९ कार्तिक २६

Leave a Reply

Your email address will not be published. Required fields are marked *