नेपालमा कुनै समय थियो छोरी नर्सको अध्ययनको बाटोमा जाँदा परिवारले सामाजिक हेयको सिकार बन्नुपथ्यो । त्यसैले केही वर्षअघिसम्म भन्ने गथ्यो- ”छोरी बिग्रे नर्स अनि छोरा बिग्रे कमर्स पढ्छन्” ।
तर त्यही समाज अहिले नर्समा सामाजिक प्रतिष्ठा देख्छ । अहिले प्रायः अभिभावकको चाहना केहि गरेर भएपनि छोरीलाई नर्स बनाउने हुन्छ । आकर्षक रोजगारीको अवसर एवं मर्यादित सेवामूलक कामका रुपमा नर्स पेसालाई नजिकबाट बुझ्न थालेपछि समाजको नर्सप्रति हेर्ने दृष्टिकोण पनि फेरिएको छ । अन्य विषयहरुको दाँजोमा नर्सिङ पढेपछि स्वदेश तथा विदेशमा रोजगारी पाउन सहज हुने र आकर्षक तलबले गर्दा यसतर्फ धेरै छोरीहरुको आकर्षक बढेको छ ।
समाजमा राम्रो प्रभभाव भएकाले नै हुनसक्छ, एस.एस.सी. पछि अधिकांश युवती स्टार्फ नर्सको तयारी कक्षा लिन पुग्छन् । सयौं संख्यामा खुलेका प्रवेश परीक्षा तयारी कक्षा इन्स्टिच्यूट तथा त्यसमा भरिभराउ हजारौं युवतीको भीडले पनि स्टाफ नर्स प्रतिको चाहना सहजै मूल्यांकन गर्न सकिन्छ ।
वि. सं. १९८५ मा चार जना नेपालीले ‘सुत्केरी गराउने विधि’ को अध्ययन गरेपछि सुरु भएको नेपालको नर्सिङ शिक्षाले यतिबेला निकै फड्को मारिसकेको छ ।
नेपालमा वि.सं. २०१३ सालमा विश्व स्वास्थ्य संगठनको सहयोगमा बीर अस्पतालबाट औपचारिक रुपमा नर्सिङ शिक्षाको पठनपाठन सुरु भएको थियो भने वि.सं. २०२८ सालबाट विश्वविद्यायलले नर्सिङ शिक्षाको अध्ययन सुरु गरेको हो । विश्वविद्यायलले वि.सं. २०३३ सालबाट बि.एन. र वि.सं. २०५२ सालबाट स्नातकोत्तर तहको पठनपाठन पनि सुरु गरेको छ । यस्तै वि.सं. २०५३ मा बीपी कोइराला मेमोरियल अध्ययन प्रतिष्ठान धरानले बि.एस्सी. नर्सिङको पढाई सुरु भयो ।
नेपाल नर्सिङ परिषद्को पछिल्लो तथ्यांकमा नेपालमा हालसम्म १४ हजार ७७ जना स्टाफ नर्स उत्पादन भइसकेका छन् भने अ.न.मी. १६ हजार २८३ जना तयार भइसकेका छन् । हालसम्म एक सय तीन (१०३) वटा संस्थाले तीन वर्षे नर्सिङ विषय अध्यापन गराउने मान्यता लिइसकेका छन् भने बि.एस्सी. नर्सिङका लागि २५ वटा, बि.एन.का लागि १९ वटा, मास्टर अफ नर्सिङका लागि ४ वटा र अनमीका लागि ४८ वटा कलेजले मान्यता लिइसकेका छन् । नेपालमा नर्सिङ विषय पढाउने कलेज अत्याधिक खुलेका र त्यसलाई नियन्त्रण गर्ने तर्फ कुनै प्रयास नगरिएका कारण अब नेपालमा उत्पादित नर्स स्वदेशका लागि हो कि विदेशमा काम गर्न पठाउनका लागि हो भन्ने प्रश्न गर्नुपर्ने बेला आएको बताउनुहुन्छ नेपाल नर्सिङ संघका अध्यक्ष सरला के.सी. ।
हुनत् नर्सिङ अध्ययन गरेकाहरुमध्ये ठूलो हिस्सा स्वदेशममै खपत हुने गरेको छ । यद्यपि ६० प्रतिशत युवती स्टाफ नर्सको अध्ययनपछि विदेशमा करिअर बनाउने सोचमा रहेको पाइन्छ । यूरोप, अमेरिका, तथा अष्ट्रेलियामा हजारौं नेपाली नर्स कार्यरत रहनुले पनि यो शिक्षा विदेश जाने सोच बनाउनेहरुका निम्ति आकर्षक विषय साबित भएको छ । एक तथ्यांकअनुसार प्रत्येक वर्ष अमेरिकामा मात्र ६ हजार नर्सको माग हुन्छ । एकातर्फ नेपालमै सरकारी तथा निजी चिकित्सालयको संख्या बढ्दै जानु र अर्कातर्फ विदेश जान भिसा प्रक्रियाका लागि पनि नर्सिङ अध्ययनको पृष्ठभूमि सहज माध्यम बन्नुले पनि नर्स प्रतिको आकर्षण बढेको छ ।
नर्सिङमा अध्ययनरत काठमाडौंकी सपना श्रेष्ठ, पोखराकी सवनम रञ्जित र धरानकी अर्पणा गुरुङ्गको इच्छा तीन वर्षे नर्सिङ कोर्ष पढेपछि विदेश जाने रहेको छ । नेपालमा जागिर खान राजनीतिक र ठूला पदमा रहेको व्यक्तिहरुको भनसुन चाहिन्छ, आफ्नो कोही छैन सवनमले भन्नुभयो । नेपालमा नर्सिङ पढेका मात्र होइन, डाक्टर बनेकाहरु समेत पनि विदेश पलायन हुने क्रम निकै बढेर गएको पाइन्छ । विदेशमा रोजगारीको राम्रा अवसर र राम्रो पारिश्रमिक भएकाले पनि विदेश जानेको संख्या बढेको नेपाल नर्सिङ परिषदका पूर्व रजिष्टार दयालक्ष्मी बैद्यको बुझाइ रहेको छ ।
अहिलेको तथ्यांकमा नेपालमा सरकारी र निजीस्तरबाट सञ्चालित दर्जनौं मेडिकल कलेजबाट बर्षेनि ५ हजार भन्दा बढि स्टाफ नर्स उत्पादन हुन्छन् । यति ठूलो संख्यामा उत्पादन हुने नर्सहरु शहर केन्द्रीत हुन खोज्दाले पनि कामको अभाव देखिएको बुझाइ छ – वीर अस्पतालमा कार्यरत स्टाफ नर्स हिसिला प्रधानको ।
नर्सहरुको विदेशमा स्तरीय अस्पतालमा रहेर काम गर्न अन्तराष्ट्रीय स्तरका केही परीक्षाहरु उत्तीर्ण गर्नुपर्ने हुन्छ । ती परीक्षामा उत्तीर्ण भएकाहरुले विदेशी नर्स सरह अन्तराष्ट्रीय स्तरको तलब सुविधामा कामको अवसर पाउँछन् । तलबको कुरा गर्दा अहिले नेपालमा जुनियर स्तरकी एउटी नर्सले ७ हजारदेखि १० हजार रुपैयाँ प्रति महिना पाउँछिन् । त्यसबाहेक उनले अतिरिक्त भत्ता पनि पाउन सक्छिन् । विकसित मुलुकमा रोजगारीका लागि गएकाहरुले न्यूनतम २ हजार अमेरिकी डलर प्रतिमहिना कमाउने बताइन्छ ।
त्यसैले पनि नर्सिङ पढाई सकिएपछि विदेश जाने क्रम दिनानुदिन बढ्दो छ । पछिल्लो जानकारी र तथ्यांक अनुसार नेपालबाट विभिन्न मुलुकमा रोजगारीका लागि जाने नर्सहरुको संख्या झण्डै तीन हजार जना भन्दा बढी रहेको नेपाल नर्सिङ परिषद्ले जनाएको छ । जसमध्ये नर्सिङ परिषद् मा अमेरिका, क्यानाडा अष्ट्रेलिया र अन्य यूरोपेली देशहरुमा दुई हजार ८५१ जनाले स्वीकृत लिएर गएका छन् भने बेलायत दूताबासबाट मात्र स्वीकृत लिई एक सय ५० जना नर्स विभिन्न मुलुकहरुमा गएका छन् ।
नेपालमा उत्पादित नर्सहरुलाई विदेश पलायन हुन बाट रोक्नका लागि सुरुमा बेरोजगारहरुलाई नेपालमै रोजगारीको वातावरण श्रृजना गर्नुपर्ने, विदेशमा जस्तै हामी कहाँ पनि आकर्षक तलब साथै अन्य सेवा सुविधाहरु बढाएर पनि विदेश पलायन हुने नर्सहरुको मनस्थितिमा परिवर्तन ल्याउन सक्ने कुरामा विश्वस्त हुनुहुन्छ नर्सिङ परिषद्का रजिष्टार जानकी के.सी.। उहाँ अगाडि भन्नुहुन्छ- नेपाल सरकारले स्वास्थ्य संरचनामा केही सुधार ल्याएमा मात्र पनि विदेश पलायनमा आधाआधी संख्या घट्ने छ र नेपालकै अस्पताल र चिकित्सा क्षेत्रमा सेवा गर्ने छन् नेपाली नर्सहरुले ।
