Skip to content

अपरिचित मान्छे

  • by


उपत्यका बाहिरबाट काठमाण्डौंमा केही गर्छु भनेर आउनेहरूको लागि बाह्रमासे डिउटी हो कोठा खोज्नु । गाउघरमा लठेप्रोले जीवनसंगी सजिलै पाउला तर यहाँ कोठा पाउँन मुस्किल छ । बल्ल बल्ल पाए पनि विविध अड्चन झेल्नु पर्छ । करिव तीन हप्ता खोजेपछि बानेश्वर बुद्धनगरमा एउटा मध्ययम स्तरको कोठा पाएँ । घरबेटीले रंगरोघन गरे पनि बसौं लाग्ने भने थिएन । भान्साका टाटाहरू, कार्पेटको टुक्राटुक्री, नपल्टिएको भित्तपात्रो, चुरोटका ठुटाठुटी, फ्याँकिएको कपीहरू । यी नै थिए कोठाको शौन्दर्य । मनभरि उकुसमुकुस लिएर सफा गर्न थाले । छेउमा एउटा पुरानो कपी, झ्यालबाट फुत्किएर आएको हावासगै फरफराइरहेको थियो । अगाडि पछाडिको भाग जलेको थियो । मुस्किलले काठमाण्डु भन्ने शिर्षक पढेँ । हेर्दा दैनिकी जस्तो लाग्यो । जिज्ञाशा लाग्यो । सफा गर्न छोडेर पढ्न थाले ।

काठमाण्डु ! तिमीसँग मित्रता गाँसेको पनि आज १० बर्ष पुगिसकेछ । १० वटा हिउँदहरू तिम्रो चौतारीमा बिताएँ मैले । यो १ दशक तिमीसँग मैले कुनै ठुलो अपेक्षा राखिन । न त गरेँ कुनै कुकर्म नै । बस् तिमीले घचेँडिरह्यौ म हिडिरहेँ । यस्तो लाग्थ्यो तिम्रो र मेरो सम्बन्ध नङ र मासुको जस्तो । माछा र पानीको जस्तो । एक अर्काको परिपुरक । तिमी छौ र त म छु । म छु र त तिमी छौ । एक अर्का बिना अधुरो हामी । यस्तो सोंचेर १० वटा वर्षाहरू तिम्रो छहारीमा बिताएँ । जब तिमी फोहरको डङ्गुरले घिनाउँदै रुन्थ्यौ । म भोको पेट रातदिन तिमीलाई पसिनाले नुहाई दिन्थेँ । जब तिमी विजुली, ग्यास, पेट्रोलको हाहाकारले चिच्याउँथ्यौ । म एक मुठी सातु खाएर अँध्यारो मै निदाउँथे र कामना गर्थें तिम्रो भागमा उन्ज्यालो परोस् । तिमी अव्यवस्था, अस्थिरता, कुसासनबाट क्षत विक्षत भएर सीमा पारी भाग्थ्यौ म जनआन्दोलन, जनयुद्ध भएर सागर झैं उरिन्थेँ र तिमीलाई माथि माथि उकाल्थेँ । तिमीे स्वप्नको दुनियाँमा नयाँ नयाँ अपाटमेन्ट र कोलनी चाहार्दै हिड्थ्यौ । म पसिना बनेर तिम्रो पैतलामा पोखिन आईपुग्थेँ । तिमी हिड्ने बाटोहरू भत्किएर खाडलहरूमा डलरको थैलीहरू तैरिन्थे । म हत्केला भरि स्वाभिमान बोकेर तिमी हिड्ने बाटोहरूमा नुनिलो आँशु बगाउँथे । तर खै त काठमाण्डु ? तिमी र म एकै भएको ? दुई नदीको किनार जस्तो तिमी सधैं ऐश्वर्यको इन्द्र नगरमा सुनको थालीमा ज्यूनार गर्दैछौ र म सधैं अभावले चिथोरिएको एक जोडी नाङ्गो पैतला घिसार्दै वारि किनारै किनार हिडिरहेको छु । मैले बनाएको अग्लो अग्लो टावरहरूमा गणतन्त्रको नाराहरू लेखिए । मेरो आँशु पोखिएर बनेको दियोमा शान्तिको पानसहरू जलायौ । तर खै त काठमाण्डु ? फेरिएन मेरो निधारमा लेखिएको अभागीको मैलो दाग ।

अस्ति खुल्ला मञ्चमा एक जनाले भाषणमा भन्दै थियो “नेपाल गणतान्त्रिक मुलुक हो । यहाँ सबै बरावरी हुनुपर्छ । जस्ले पसिना बगाएर मेहनत गर्छ उसैको घरमा पहिला दुईछाक मिठो मसिनो पाक्नुपर्छ । अनि मात्र साँचो गणतन्त्र नेपाल हुन्छ । आउँनुस् गरिव दुःखी जनताहरू मेरो पार्टीको झण्डामुनि गोलबन्द हुनुस् ।” म त्यो दिन सारै खुशी भएँ । भोलि पल्ट त्यही कार्यालय पुगेँ । गेटबाटै मान्छेहरू लाइनलागेका थिएँ । सोधेँ “कतार जाने भए लाइन बस् ।” क्षण भरमै गणतन्त्रको रंगिन सपना सिसा झैं फुट्यो । के यही हो काठमाण्डु नयाँ नेपाल भनेको ? सुन ! अर्को पनि कथा भन्छु म । सातबर्ष अगाडि तिमीले मलाई एउटा मोटरसाइकल किस्तावन्दीमा दियौ । तर मैले अहिलेसम्म पनि त्यो किस्तावन्दी तिरिसकेको छैन । मोटरसाईकल परारसाल कवाडीमा बेचिसकेँ । आज मेरो प्रत्येक मिनेटको पसिनाहरू किस्तावन्दीमा परेको छ । पसिनासँगै मेरो सपना, मेरो भविष्य सबै सबै किस्तावन्दीमा परेको छ । भन काठमाण्डु के यही हो नयाँ नेपालको नयाँ अर्थनिति ? अब म के गरुँ भन काठमाण्डु ? तिनै सडकको मैलो मान्छेहरूसँगै फिरौती माग्दै बालक अपहरण गर्न थालुँ ? या जन्म दिने देशलाई चटक्कै माया मारेर विदेश पलायन हुनु ? फेरि मेरो पासपोर्ट बन्दैन मेरो बाउ छैन । यो कस्तो जिन्दगी दियौं मेरो देश !

यो देश मेरो पनि हो । तर खै देशले मलाई आफ्नो भनेको काठमाण्डु ? तिमीलाई फुर्सद छैन होला । तर तिमीले मेरो गन्थन सुन्नै पर्छ । आज तिमीलाई सिंगार्ने प्रत्येक गरिबहरू पलायन हुँदै गयो भने तिमीलाई कस्ले बनाउँछ ? तर तिमी त राजनीति गर्दैमा ब्यस्त छौ । कस्ले सम्बोधन गर्छ म जस्ताको भत्किएको जिन्दगीलाई ?

काठमाण्डु आज म तिमीसँग पहिलो र अन्तिम पटक मेरो कहानी भन्दैछु । फुर्सद छ भने सुन छैन भने नसुन । म गाउँमा विशिष्ट श्रेणीमा SLC पास गरेर ठुलो मान्छे बन्ने सपना सजाएर काठमाण्डु आएँ । राजमार्गमा दाउरा बेचेर मेरी एक्ली आमाले योभन्दा धेरै पढाउँन सक्ने अवस्था पनि थिएन । मैले जागिर खाएर आमाको अभावको दिनहरू कम भएको हेर्न चाहानु हुन्थ्यो । अचानक आमालाई बिमारले च्याप्यो । राजमार्ग छेउको श्रीसम्पति सबै बेचे र पनि आमाको रोग २० को १९ भएन । वीर हस्पिटलमा आमा जीवन मृत्यूको दोसाँदमा छट्पटाउँदै हुनुहुन्थ्यो । ती लाख खोज्दै म सडक सडक भौतारिएँ । नेता देखी मन्त्रीसम्म, व्यापारी देखी उद्योगपतिसम्म आमाको प्राण बचाउन जीवनको भीख माग्दै हिंडे । तर काठ्माण्डु मैले केही पनि पाइन । सडकको किनारमा आमाको फोटो राखेर भीख माग्न थाले । प्रतिदिन आमा सिकिस्त बन्दै जानुभयो । तर मैले पाँच लाख पुर्याउन सकिन । अन्तमा सडकको फोहरी मान्छेहरूसँग संगत भयो । चोरें, डकैती गरेँ । चन्दा उठाएँ । फिरौतिको काम गरेँ । काठमाण्डु ! म धेरै ढिलो भइसकेको थिएँ । अन्ततः आमाले मलाई एक्लै छोडेर जानु भयो । मेरो कहानी आमासँगै सुरु भयो आमासँगै सकियो । म को हुँ, कस्को छोरा हुँ अब चिनारी छैन मसँग । काठमाण्डु अरुपनि सुन्छौं ? अहँ भो तिमीसँग सुन्ने कान छैन । हेर्ने आँखा छैन । अनुभव गर्ने मानवता छैन ।

भोलि बिहान कोठाभाडा दिइन भने घरबेटीले के गर्छ त्यो मलाई मात्र थाहा छ । मैनबत्ती सकिन लाग्यो । कुनै उपाए आएको छैन । यो मैनबत्तीसगै सकिन पाए पनि हुन्थ्यो । काठमाण्डु म तिमीसँग बस्दिन अब । भनी दिनु ती सारा शहरका अग्ला–अग्ला घरहरूलाई तिमीलाई बनाउने मान्छे एक पेट खान नपाएर चोभार डाँडा काटेर गयो भनेर । तर उनीहरूले सुन्नेछैनन् । उनीहरू त ………..

त्यसपछिका अक्षरहरू चुरोटको ठुटासँगै जलेको थियो । मन छटपटिन थाल्यो । त्यो अपरिचित मान्छे को होला ? कहाँ गयो होला ? कोठाको कुना कुना उसको नाम, मोबाईल नम्बर, ठेगाना खोजेँ । घरबेटीलाई सोधेँ ।

“एक हप्ता अगाडि ऊ त्यो झ्याल फोरेर भाग्यो ।”

म स्तब्ध भएँ । यस्तो पनि जिन्दगी हुन्छ र ? काठमाण्डौंमा ठूलो मान्छे बनेर यो देशको नाम उँचो राख्ने सपना बोकेको एउटा गरिब कहाँ गयो होला ? संक्रमणकालको जाँतोमा भविष्य पिसेर यो काठमाण्डौं देखि हारेको एउटा टुहुरो कहाँ गयो होला ? संघर्षको विभिन्न ढोकाहरू ढक्ढक्याउने प्रयत्न गर्न बिर्सिएर त्यो अपरिचित अन्जान मान्छे कहाँ गयो होला ? म थाकेर भुँईमा बसे । आफ्नै समस्याका चाँङहरू वरिपरी घुम्न थाल्यो । कागजको टुक्राहरूमा मेरो आफ्नै समस्याका अनगिन्ती प्रश्नहरू देख्न थालेँ । त्यो अन्जानको प्रतिबिम्ब चुरोटको ठुटाहरूमा देख्न थालेँ । एकाएक त्यो अपरिचित मान्छे कोठाको कुनामा बसेर मलाई जिस्क्याइरहेको जस्तो लाग्यो । भन्दै थियो “म काचँको सिसा फोडेर भागे । तर तिमी आयौ ? सुन, यो काठमाण्डु धनीहरूको लागि मात्रै हो” यहाँ मानवता कौडीको भाउमा बिक्री हुन्छ । यहाँ स्वाभिमान टुडिखेलमा झुन्डिएर मरिरेहेको छ । यहाँ स्वार्थ पाखण्ड, ढोङीहरू मात्र बाँच्न सक्छ । न्याय, स्वतन्त्रता, समानता, प्रेम, स्नेह, सबै सबै उहिल्यै जंगबहादुरको पालामा मरिसक्यो । ऊ मेरो अगाडि ठिङ्ग उभिएर बोलिरह्यो । हेर्दा हेर्दै उ, म जस्तै देखिन थाल्यो । म आत्तिएँ । मोबाईलको घण्टी बज्यो । म त एकोहोरो टोलाएर बसेछु । फोनले झस्कायो । फोन उठाएर फेरि कोठा सफा गर्न थालेँ । आज म जहाँ जहाँ पुग्छु, जुन जुन गल्ली, भीडहरूमा पुग्छु तिनै अपरिचित मान्छेलाई खोजिरहेको हुन्छु ।

राजु स्याङतान

Leave a Reply

Your email address will not be published. Required fields are marked *