तिम्रो तरिकाहरूको
गल्ली टेकेर मैले
हिड्दै पर्छ भन्ने छैन
तिमीले पनि
मेरो तरिकाहरूको
गल्ली टेकेर
हिंड्नै पर्छ भन्ने केही छैन,
तथापि
हामी एउटै यात्रामा
निस्किएकै हौ भने
तिमीले
तिम्रो तर्फबाट
सर्तका केही बुँदाहरू छाड्नु पर्छ,
र
मैले पनि
मेरो ढिपीहरूलाई
थोरै छाड्नु पर्छ,
अनी पो
तरिन्छ -लिम्बुनी पुल ।
नत्र
तिमी तमर पारि
म वारि
हेरा हेर गर्दै
जहाको त्यही बस्नु पर्ने
बाध्यता आजीवन रहिरहनेछ ।
तमरमा पाउडिने माछाहरूले
हाम्रो अहमतालाई देखेर
बेस्सरी गिज्याउदै
हास्ने छन्/नाच्ने छन् ।
हो
जिन्दगी सम्झौता हो
सम्झौता र समदारिमा बाच्नु पर्छ,
आउ
हस्ताक्षर गरौ
एउटा सम्झौता-पत्रमा
हामीले धेरै धेरै
लिम्बुनी पुलहरू तर्नु छ ।
१५ अप्रिल २०१३
बिरानो देशबाट
लिम्बुनी पुल:- पूर्व लिम्बुवानमा बग्ने तमर खोलामा थापिएको एक ऐतिहासिक पुलको नाम हो । जसले तेरथुम जिल्ला र पान्थर जिल्लालाई जोडेको छ ।
