द्वन्द्वकालको समय । आषाढ माह । ऊपर आकाशमा बसेर ईन्द्रदेवले बादलहरूलाई ठुलो गर्जनाको आदेश जारी गरेका थिए । खोला – नालाको आयतन र वेग दुवै बढेको थियो, त्यसले गर्दा पहाडी गाउँका सिढीदार खेतहरू आफ्नो बलिदान दिन बाध्य भएका थिए । कृषक रुदन गर्दै थियो- प्रकृतिको त्यस कहर र माओवादीको त्रास सम्झेर ।
सन्ध्याको समय । चरा – चुरुङ्गी दिनभरिको थकाई मेट्न आकाशमा चिर्बिराउँदै उडिरहेका थिए, कृषक विनास भएका आफ्ना खेतबारी नियालेर घर तर्फ फर्किरहेका थिए र मुक्तिनाथको नेतृत्वमा ‘जनमुक्ती सेना’ भनिने देशद्रोहीहरूले गाउँभित्र आफ्नो पाईला टेकिसकेका थिए । खशी-बोका, कुखुरा, राँगा इत्यादिले ज्यमराजले घोषित गरेको समय भन्दा अगावे नै परलोक पुग्नु पर्यो ।
कमाण्डर मुक्तिनाथ गाउँका भुतपुर्व मुखिया विद्याधर जोशी कहाँ बास बस्न पुग्यो । हृस्ट- पुस्ट शरीर, घुँघरालो केश, चौडा-छाती र बलिष्ट पाखुरा देख्ता को नै युवती यस्ती हुन सक्थी र!- जो उसको आलिङ्गनमा बेरिने स्वप्नबाट पर रहन सक्थी ? विद्याधरकी कान्छी छोरी – ललिता, बीस – एकाईस बसन्तको अनुभव बटुल्न सकेकी यौटी अधवैंशे युवती थिई । स्वेत वर्ण, अनुहार चिल्लो र कतै पनि दाग नभएको – चन्द्रमा पनि ईर्ष्या गर्दा हुन उसको त्यो बेदाग मुहार देखेर । अनि ठुला-ठुला आँखा, ठुलो ललाट पनि । सिउँदो काढेकी सिरको मध्यभागबाट-त्यो मोहिनी रुप, मृगचाला!
भोजनको समय! ललिताकी आमाले उसलाई अर्हाइन – “जा त्यो मान्छेलाई खाना टक्र्याएर आइज, बढी न बोलेस ऊसित; माओवादी हो त्यो ।”
माओवादीसँग पुरानो रिसिवी ललिताको थियो । उसको भाइलाई केही वर्ष पहिले, माओवादीमा लागेर नहिडेको निहूँमा, माओवादीले जबरन हत्या गरिदिएका थिए । त्यस कुराले माओवादीप्रति ललिताको मनमा क्रोधको आगो – भुसको आगो झैं सल्बलिदैं छ, शनै: शनै: ।
***
चरेसको थालमा सजिएको दुई टुक्रा रोटी, भात, तोरीको साग, पिडाँलु र फर्सीको तरकारी, आँपको अचार, एक ठुलो कचौरा दाल, दुई तीन ग्राम घिऊ अनि एक गिलास दूध बोकेर लालिता मुक्तिनाथनेर पुगी । उही भयो जो हुनु हुँदैन थियो! दुवैले, कुनै चलचित्रमा झैं, पहिलो नजरमैं एक अर्कालाई मन पराए । मुक्तिनाथले लेख्दै गरेको डायरीलाई एकातिर राखेर, भोजन ग्रहण गर्नुभन्दा पुर्व एक लोटा पानी माग्यो – हात र मुख धुन, भनेर । हप्तौ देखी उसले पाऊँमा पहिरेको मोजाबाट डुङ्ग-डुङ्ग दुर्गन्ध आइरहेथ्यो । ललिता भान्सा सकाईवरी आफ्नो कोठामा आई । अबेर रातसम्म ऊ विचारमग्न भै भित्तामा टोल्हाएर बसी । ऊ सोच्दै थिई – “यस्तो सज्जन मान्छे किन माओवादी भयो होला ?” अनि, अनि स्वप्न पनि देख्थी – रङ्गीन स्वप्न, त्यही माओवादीको बाहुपाशमा जकडिएको । ऊ दुविधामा थिई, एकतर्फ त ऊ शत्रु थियो अर्को तर्फ पहिलो नजरको प्रेमी! कुन पक्ष बलियो ? प्रेमको साहित्य उसले नि धेरै पढी तर त्यो साहित्यमैं सुन्दर लाग्छ भन्ने निष्कर्ष उसले निकाली । शत्रु पक्षले बलियो तर्क उसको मगज भित्र गरिरहेको थियो । त्यसकारण ऊ रनथनिएर उठी । उसले खुँडा झिकी र रात्रीको साढे एगारह बजे दबेको पदचापमा मुक्तिनाथको कोठातर्फ बढी । ढोका खुला नै थियो । उसले बिस्तारै ढोका उघारी । एक्काशी बिजुली चम्क्यो, त्यसको उज्यालोमा उसले त्यो निर्दोष अनुहार मुक्तिनाथको देखी । उसका पग त्यही रोकिए । खुँडा अनायासनै उसको हातबाट तल खस्यो र बादल गर्जियो, खुँडा खसेको स्वरलाई त्यस गर्जनाले थिच्यो । उसले मुक्तिनाथको डायरी चोरी र मध्यरात बरसातमा रुझ्दै ऊ जिल्ला सदरमुकामतर्फ हानिई, जो करिब तीन घन्टाको, नबिसाई- ठुलो पगले हिड्दा भेटिने गन्तब्य थियो ।
सदरमुकाम पुगेर, सरकारी सेनाको त्यही सुबेदार कहाँ ऊ पुगी, जसबाट तीन महिना पहिले ऊ बलात्कृत भएकी थिई । बिहानको तीन बज्दैं थियो । सुबेदारको ढोका बजाई उसले । सुबेदार सनकिदैं बाहिर आयो ।
फोहरी लवज प्रयोग गरेर – के काम पर्यो ? – भन्ने तात्पर्य निस्किने वाक्य उसले बोल्यो । ललिताले सारा कुरा बताई । सुबेदार तातियो । तुरन्त हेलिकप्टरमा गाउँतर्फ उसले सेना पठायो र आदेश दियो – “कमाण्डरलाई जिउँदै यहाँ ल्याउनु, उसको काल मबाट निर्धारित हुनु पर्दछ ।”
***
मध्य दिन । सेनाले कमाण्डरलाई बाँधेर सुबेदारसामु थेचार्यो । सुबेदारले डायरी देखाउँदै भन्यो – “साला रन्डीको नसल्! तेरो सब कार्ययोजना यसमैं छ नि ।” र बूटले त्यसको छातिमा जोरले प्रहार गर्यो ।
“ओए केटी तँ ह्याँ आ! तैं भन यसलाई कसरी परलोक पुगाउ मैंले ? तेरो ईच्छा अनुसारको काल यसले भेट्नेछ ।”
ललिताले मुक्तिनाथलाई हेरी, त्यसको आँखामा अझै पनि उसप्रति कुनै गुनासो वा क्रोधको भाव देखिन्न थियो, बरु प्रेमका अथाहा सुन्दर फुलहरू उसका आँखाबाट ललिताका लागी निस्किन्थे ।
ललितले भनीं – “तपाईँलाई जस्तो मन लाग्छ त्यस्तै काल दिनोस ….”
“हुँदैन” – सुबेदारले कर गर्यो – “तैं बाट यसको कालको छनोट हुनु पर्दछ केटी; छिटो निर्णय गर ।”
ललिता दगुरेर मुक्तिनाथ समीप पुगी र मुक्तिनाथलाई छेकेर, उसले भनीं – “त्यसो हो भनें यसको मृत्यु मेरो छाती छेडेर निस्केको गोलीले होस सर, त्यही नै मेरो इच्छा हो ………….. ।”
***

about
Nikai ramro katha chha, bas, antim ma testo sabdha narakhnu bhayeko bhaye huntheyo 🙂
kun chahi sabda bhannu bhaa
kun chahi sabda bhannu bhaa ko ho ? Clear garidinos na