Skip to content


सानो हुँदा
मान्छेहरू सोध्ने गर्थे
पछि गएर के बन्छस्?
म भन्थेँ ठूलो मान्छे बन्नेछु ।

त्यो सपना थियो बाल्यकालको
त्यो सपना अझै छ युवक हुँदा
त्यो सपना रहनेछ बढेसकालमा

मान्छे मरिचीका पछि दौडने
प्यासी मृग न हो
सपनैसपना कुँदिएको
जिन्दगीको लामो राजमार्गमा
दौडिरहन्छ अतृप्त मान्छे

जीवन बादलको टुक्राजस्तो न हो
हेर्दाहेर्दै देखिन्छ सिमलको भुवाजस्तो
हेर्दाहेर्दै आकार लिन्छ तेजस्वी योद्धाको
र हेर्दाहेर्दै बिलाउँछ विशाल
आकाशको गर्तमा

सपना देख्दै जन्मन्छ मान्छे
सपना देख्दै हुर्कन्छ मान्छे
सपना देख्दै निदाउँछ मान्छे
बादलको टुक्रा जस्तै
धर्तीको विशाल गर्तमा
अहो कस्तो सपना!
जीवन फगत सपना हो!

स-साना सपनाहरू
दुब्लाउँदा मोटाउने सपना
अलि लम्बिदाँ छोटाउने सपना
होचो हुँदा अग्लिने सपना
धमिलिदाँ सँग्लिने सपना

अनि ठूला सपनाहरू
गर्भमा हुँदा बाबुले देखेको सपना
सानो हुँदा डायरीमा लेखेको सपना
बढ्दै जाँदा पाइतालाले टेकेको सपना
चाहँदा चाहादै दुनियाँले छेकेको सपना

जीवन फगत सपना हो!

नमेटिने गरी छातीभित्र बसेको सपना
हिड्दै गर्दा खल्तीबाट खसेको सपना

ती सपना जसले रुवाउँछ कहिलेकाहीँ
ती सपना जसले हसाउँछ कहिलेकाहीँ
ती सपना जसले बिउझाउँछ मान्छेलाई
ती सपना जसले दौडाउँछ मान्छेलाई
जिन्दगीको अविराम बाटोमा…

साना साना आकाङ्क्षाले बुनेको मृगतृष्णा हो जीवन
टुक्रा टुक्रा सपनाले उनेको ठूलो सपना हो जीवन

जीवन फगत सपना हो फगत सपना!

सानो हुँदा
मान्छेहरू सोध्ने गर्थे
पछि गएर के बन्छस्?
म भन्थेँ ठूलो मान्छे बन्नेछु।।

अंशुमाली
facebook.com/change.ab

1 thought on “सपना (कविता)”

Leave a Reply

Your email address will not be published. Required fields are marked *