Skip to content

ती प्यारी दिदी

  • by


२८ अगस्त २०१० जिन्दगीका नरमाइला दिन मध्यको एक थियो । पुरा ३८ दिनको छुट्टिसकेर कर्मथलो(इजरायल) फर्किएको दिन । पछिल्लो पटक न्यानो र कसिलो अंगालो छुटाएर बाबा-छोरालाई अन्तिमपटक बिदाइका हात हल्लाएर लागेँ सामान चेकइनतिर । सपनाको मोती टिप्ने अनन्त रहरमा लामबद्द थिए अनगिन्ती नेपाली छोराछोरिहरू त्रिभुबन अन्तरराष्ट्रिय बिमानस्थलको बहिर्गमन बिभागमा । फेरि पछाडि फर्केर हेरेँ बाबा छोरा अँझै शिशामा आँखा टाँसेर मलाई हेरिरहेका रहेछन् ।

मान्छे कति लाचार र विवश हुन्छ उफ्फ्फ! यो बिछोड आँफैले निम्त्याएको भए पनि अत्यावश्यक र हृदयबिदारक दुबै थियो । मन थाम्नै सकिन । आँखाबाट भेल छुट्यो । आँशुले लाज नमान्दोरहेछ । मैले रोक्दारोक्दै उसले फालहाल्यो गालाको बाटो गरी । पछाडि उभिएका नेपाली दाइभाइले सोधे,”तपाईं कहाँ हिँड्नुभएको?” मेरा शब्द लुप्त थिए । आशुको सामुन्ने । बोल्न सकिन, केवल पछाडि फर्केर हेरेँ, भक्कानिएको मलाई देखेर मुखामुख गरेर चुप लागे । फेरि सोधेनन् ।

त्यतिकैमा हस्याङ्ग्फस्याङ्ग गर्दै एउटी नेपाली दिदी आइपुगिन् । हेरेँ उनकोपनी गालामा आँशुको टाटो थियो । कसैले सोध्यो दिदीको गन्तब्य । जवाफ आयो,”लेबनान!” म चनाखो भएँ । दूर देशको सवालमा आफ्नोपनको कस्तो अनुभूति! म इजरायल हिँडेको उनी लेबनान । सीमाना जोडिएका दुई दुश्मन देशमा हामी काम गर्छौँ । तै पनि मेरो नजिकै दिदी काम गर्दिरहिछिन भनेर एकखालको न्यानो आत्मियताको आभास भयो मलाई उतिखेरै । बोल्ने बहानामा परिचय गरेँ । दिदी फेरि एक्छिन हराइन् । श्रममा दर्ता नगरेको भनेर एक्छिन दिदीलाई दु:ख दिएछ अनि फेरि ५००० रुपया तिरेर मिलाएर आएँ भन्दै दिदी फेरि मेरै नजिक आइन् । तबसम्म इजरायल फर्किनलागेका अरु ३ जना नेपाली दिदीबहिनी पनि जम्मा भए । बिस्तारै आँखाको आशु ओभाउँदै गयो । बाबा छोरा अघि फर्किसकेका थिए । उही परदेश, पैसा र एकांकीपन गम्न थालिसकेको थियो मनले । नेपाल देखी जोर्डनसम्मकोसँगै यात्रा गर्ने हामी ५ जना थियौं । खुशी लाग्यो ।

जहाज पर्खुन्जेल हामी बिच धेरै कुराकानी भए । लेबनान जाने चाँहीँ दिदी एक्लै थिइन । दिदीले धेरै कुरा सोधिन् । हामी चारजनासँगै एकै देश हिँडेका हुँदा दिदीले हामी इजरायल पुगेर एकअर्का सङ्ग भेट हुन्छ कि हुन्न भनेर जान्न चाहिन् । जब हामीले हाम्रा कुरा बतायौँ दिदी अचम्मित बनेर सुनिरहेकी थिइन् । हामी इजरायलमा पनि प्राय: सबै साथी भेटिन्छौँ । हरेक हप्तान्तमा लगभग २६ घण्टाको छुटी मिल्छ । छुट्टी मनाउन साथीसाथी मिलेर अपार्टमेन्ट लिएका हुन्छौँ । यदि एम्प्लोएरको आवश्यकले हप्तान्त जानुमिलेन भने त्यसको छुट्टै ओभरटाइम पैसा पाइन्छ । हाम्रा देशको चाड र पर्बको अवशरमा बर्षमा ९ छुट्टी हुन्छ आदि आदि भनेर हामीलेभन्दा दिदी आँखा ठुलठुला पारेर अपत्यारिलो हेराइ हेरिरहिन् । उनका अनुसार लेबनानमा दुई बर्ष काम गरेर छुट्टी मनाउन नेपाल फर्केको रे अनि फेरि अहिले काममै फर्किन लागेको रे । घरमा रोगी श्रीमान र सानो छोरो छ रे । अरु दुई ठुला छोराछोरी आफ्ना परिवारसँग अलग्गै बस्छन् रे । दुई बर्ष काम गर्दा जम्मा दुई दिन छुट्टी मिलेको थियो रे । बाँकी सालको ३६४ दिन नै काम गरिन् रे । तलब कति भनेर भनिनन तर निकै कम्ति छ भनिन् । आफ्नी साहुनीसँगबाहेक बाहिर निस्कन समेत मिल्दैन रे । घरमा फोन संपर्क समेत गर्न मिल्दैन रे ३,४ महिनामा कुनैकुनैबेला भाग्य जुर्न सक्छ रे । बरु बेलाबेलामा चिट्ठी पठाउने गर्छु रे । लेबनानमा अरुपनी धेरै घरेलु कामदार त होलान तर कहिल्यै कसैसँग देखभेट हुन्न रे ।

“तपाईंहरूलाई त कति मज्जा रहेछ, घरमै भएजस्तो । बिदेशको अनुभव पनि गर्ननपर्ने” भन्दै दिदी आफ्नो कुरा गर्दै बेलाबेलामा टोलाइरहिन् ।

खोइ किन किन मलाई निकै आत्मियताको महसुसु भइरहेथ्यो दिदीसँग । मुस्किलले केही बर्ष मेरी आमाभन्दा सानी लाग्ने ती दिदी केही सानो रकमको लागि, आफ्नो परिवारको लागि नितान्त कैदी जिन्दगी बाँच्छिन लेबनानमा । काखमा नातिनातिना खेलाएर घरको फलैँचामा आराम गर्नुपाउनुपर्ने बेलामा दिदी कमाइगर्न बत्तीँदै थिइन् दूरदेशतिर उफ्फ! फेरि त्यहा कामको प्रकृति र छुटिको कसिकसाउ कुरा सुनेर म सँगइका अरुसाथी पनि छक्क परे । किनकि इजरायलमा खासमा नेपालमाभन्दा पनि आनन्द र सुरक्षित बातावरण अनि नियमबमोजिमको सुबिधा भोगिरहेकाहरूलाई दिदीको बृतान्त एकदमै अनौठो लागिरहेको थियो ।

मान्छेलाई कति भए पुग्ने होला! हप्तामा कम्सेकम ३ या ४ पटक फोनमा लामो कुरा, दिनैजसो अनलाइनमा देखभेट गर्दा पनि आफूलाई कति दु:ख र एक्लो महसुस हुन्छ भने ती दिदी बिचरी! मैले भने,”दिदी फोन गर्न त सम्भब रैनछ तपाईंसँग त इण्टर्नेट सुबिधा पनिरहेनछ । यो मैले लेखेको कविता किताब हो, लैजानुहुन्छ ? सम्झनाको लागि ?”

दिदीले झम्टेर मेरो कविता हातबाट “आगो” कविता सङ्ग्रह तानिन्,”हुन्छ नि बहिनी! म तपाईंका कविता पढ्दै सम्झने गर्छु । भेट त जिन्दगीमा फेरि जुरेको छ कि छैन कुन्नि!”

यसो भनिरहँदा दिदीका आँखा सजल भएका थिए भने मेरो पनि हात थर्थराउँदै दिदीका हात समात्न पुगेका थिए । जहाजमा पनि हामी केही सिट यताउता परिएछ । बेलाबेलामा मुन्टो बटार्दै कुरा गरिरह्यौँ । काठमाण्डौबाट दोहा, जोर्डन हुँदै हामी आ-आफ्ना गन्तब्य पुग्नुपर्ने । मलाई एक खालको सन्तोष नै मिल्यो कि दिदीसँग जोर्डनसम्मसँगै जान पाइनेरहेछ भनेर । जहाजमा सौचालय जाउनुपर्दा पनि दिदी मलाई बोलाउनुहुन्थ्यो । ट्रान्जिटमा पनि हामीसँगै रहन्थ्यौँ । केही खाजा पनिसँगै खायौँ । जब जोर्डनको राजधानी अमानको एअरपोर्टमा जहाज बिसायो अनि दिदी र मेरा श्वास एकसाथ बढे । हामी केही घण्टा अगाडि मात्रै भेटिएर पनि असाध्यै नजिक बनिसकेका रहेछौँ । आफ्नो प्राणप्यारो राजा, मुटुको टुक्रा छोरा, प्यारी आमा, न्यानो घर र सिङ्गो देश छोडेर माइलौँ टाढा बत्तिसकेको मान्छे अघि भर्खर बाटमा भेटिएको मान्छेलाई बाटैमा छोड्नुपर्दा यस्तो भैरहेथ्यो मानौँ दुई प्रेमी-प्रेमिकाको हठात् बिछोड हुनलागेको होस् । अमान एअरपोर्टमा मात्र एक घण्टाको बिसाइपछि हामी इजरायल उडिहाल्नुपर्ने । र इजरायल प्रबेश गर्ने हरेक नाकामा अत्यन्तै कडाइकासाथ बिस्त्रित चेकजाँच हुनेहुँदा चेकिङ्मै अत्यन्तै लामो समय लाग्ने भएकोले हामी अमानमा उत्रेको केही पलमै अलग्गिन वाध्य थियौँ । हतारहतार एक बोतल पानी किनेर दिदीको हातमा थमाएँ, दिदी केही घण्टा त्यहीँ रहने थिइन ।

“इजरायल तेलअभिब!” भन्दै हामीलाई बोलाउन लागिसकेकोले दिदीसँग अन्तीम पटक र सायद अन्तिमैपटक हामी छुट्नै पर्ने समय आयो । अनायास मैले दिदीलाई अंगालो हालें र घुँक घुँक गर्दै रोएँ । दिदीका पनि सिंगान बगिभ्याएछन रोएर । यता मेरा साथीहरू लम्किसकेका थिए । हतारहतार अन्तिम पटक दिदीका हात आफ्ना दुबै हातले बेस्सरी समातेर बिस्तारै छुट्टिएँ । म तपाईंलाई सम्झिरहनेछु भन्दै दिदीले मेरो “आगो” कविता पुस्तक उचालिन् । म बत्तीएँ साथीहरूसँगै ।

आज त्यसरी ती अपिरिचित दिदी सङ्ग भेटेर रुँदै छुटेको पनि लामो समय भयो । मलाई थाहा छैन दिदीले मलाई सम्झिँदी हुन् कि भुलिन् ! मेरो कविता सङ्ग्रह “आगो” कहिलेकाहीं पल्टाउँदिहुन् कि कतै फ्याँकिसकिहोलिन्! तर एउटा यात्रामा भेटिएकी एक अपरिचित तर साह्रै प्यारी ती दिदी मेरो स्‍मृतिमा आइरहन्छिन बेलाबेलामा । दिदीको त्यो हल्का धर्सा देखिन लागेको अनुहार, अग्लो कद अनि मिठो बोली म शायदै कहिले बिर्सुँला । छुट्नु अघि दिदीले चप्प समातेर बाफिएका हातको न्यानो स्पर्श मलाई अँझैपनी भर्खरैको झैँ महसुस हुन्छ । मेरो स्‍मृतिमा सधैँ सधैँ रहनेछिन यात्रामा भेटिएकी ती प्यारी दिदी!

(नोट: मैले लेखभरि कतै पनि दिदीको नाम र ठेगाना उल्लेख गरिन । किनकि मलाई थाहा छैन ती अनजान प्यारी दिदीको वास्तबिकता सार्वजनिक गर्नु उचित होला पनि या नहोला पनि । )

दीप्स शाह

Leave a Reply

Your email address will not be published. Required fields are marked *