बरण्डामा निक्लिएर घाँटी नतन्काऊ न ए
मैतिर फर्किएर आँखा नसन्काऊ न ए
जवानी त जस्को पनि फुल्छ नि हौ एकताका
त्यत्ति सारो भँवरा त ओहो नभन्काऊ न ए
ब्यान-ब्यानै योगा गर्न तम्सिएको आफू याँ
ध्यानै भंग हुने गरी चुरा नछन्काऊ न ए
रेडियोमा सुन्नलाई अनेकथरी कार्यक्रम छ
छानी-छानी उत्ताउला गीत नघन्काऊ न ए
यत्तिकै त छाती आफनू भत्भती पोलिरा’छ
हृदयमा दन्-दनी आगो नदन्काऊ न ए
– ट्रोम्सो, नर्वे (नोभेम्वर, २०१२)
