म अहिले सम्झिरहेछु, सोचमा डुबेको छु र त्यो ध्वनि सुनिरहेछु–…नेताले नेपाल खाएको देख्दा, ज्ञानेन्द्रले नेपाल मासेको भेट्दा, सेनाले जनता मारेको पाउँदा, क्रान्तिकारी हुँ भन्नेले सामन्तलाई छाडेर निमुखा वर्गलाई पिरोलेको देख्दा, ठूलाबडाले गरिव निमुखालाई सताएको पाउँदा, वनजङ्गल मासेर मोजमस्ती गरेको भेट्दा टुलुटुलु हेर्न सकिनँ र लेखेँ । तिनीहरूको कर्तुत जनताका सामु राखिदिएँ । जनतालाई सुनाउँदै गएँ । मैले आम जनताका दुःख–वेदना लेख्ने र गाउने गरेको छु । हुन त मैले पाएको केही छैन, पाउने लालच राखेर संसार चहार्दै हिँडेको पनि हैन । तर पनि कतै न कतै केही न केही पाइरहेकै छु—कतै धम्की पाएँ, कतै गालीगलौज भेटेँ । कतै पागलको संज्ञा पाएँ त कतै मगन्तेको बिल्ला भेटेँ । कुनै कुनै सज्जन महानुभावहरूबाट भने मैले ठूलो सन्तोष पाएको छु । आफ्नो अभियानलाई अघि बढाउने ज्ञान भेट्टाएको छु । राम्रो काम भएको पाउँदा गुनगानका गाथा पनि गाएको छु । मेरो लिनु र दिनु केही छैन । नेता सप्रे र भोलिका पुस्ताका लागि नेपाल बचाइदिए, क्रान्तिकारी एवं परिवर्तनकारीहरूले बाटो नविराए र सिर्फ जनता जागे अनि विकृतिका विरुद्ध लागे म आफूलाई धन्य ठान्नेछु….।
माथिको आवाज सुन्नका लागि मैले मच्छडको राजधानी छोड्नु पर्ने रहेछ । म त्यसकै लागि कहिले विश्रान्ति लिन पाइन्छ कुन्नि ! भन्दै थिएँ । कहिल्यै मौका मिलेको थिएन । त्यत्तिखेर केही घण्टाका लागि मात्रै भए पनि मुक्ति पाउने अवसर प्राप्त गरेथ्यो– जनमत साहित्यिक मासिकले ! आजीवन सदस्य भएवापत मैले पाउनुपर्ने जनमतका अङ्कहरू मोतीगडाका पुन्य कार्कीकहाँ आउथे । तिनै पत्रिका लिनका लागि म पनि पुगेको थिएँ– मोतीगडा । बल्लतल्ल फुर्सद मिलेको क्षण, अर्कातिर बौद्धिकताले खारिएका पुन्य सरका गहकिला कुरा अनि विलकुलै नयाँ ठाउँ र म समेत त्यस ठाउँका लागि नयाँ मान्छे । यिनै कुराहरूको मिश्रण थियो त्यस बेला । म अगस्त्य मुनि भएर कुरा सुनिरहेको थिएँ । म्याडम सुसेधन्दामा व्यस्त हुनुहुँदो रहेछ । सरका छोराछोरी चाहिँ स्कूलको गृहकार्य बनाउन तनमनले जुटेका थिए । सायद पिताजी तल्तिर पूजापाठमा अल्झनु भएको हुनुहुँदो हो । एक वृद्धावस्थातिर उक्लदै गरेका व्यक्ति पुन्य सरको आँगनमा ठिङ्ग उभिए । देख्न त मैले मात्रै देखेको रहेछु । सायद कुनै माग्ने मान्छे होला भन्ठानेँ । निकै बेर तिनले हामीलाई हेरिरहे, म भने माग्ने भए ‘जय अलख निरञ्जन’ वा ‘जय शम्भो ! भिक्षा देही !’ भन्नुपर्ने भन्ठान्दैथेँ । न चन्दन थियो ललाटमा न माग्ने भाषा गुन्जिएको थियो त्यहाँ । म सामान्य कोही होला भन्ठानेर चुपचाप गफ सुन्नमै अल्झने प्रयत्नमा थिए । त्यत्तिक्कैमा पुन्य सरले तिनलाई देखिहालेछन् । उनले ‘लेखबहादुर दाइ ! माथि नै आउनुस्’ भनी आदरभावले बोलाए । मसँग परिचय गराए । मैले पनि उनको परिचय उनको मुखबाट कम तर पुन्य सरबाट बढी बुझ्न पाएँ । उनी सङ्कोचिरहेछन् । मसँग खुलेर बोल्न पनि हच्किए । सेनाले मारमा पारेका रहेछन् उनलाई, कतिपय क्षणमा माओवादीबाट त्रास समेत भोगेका रहेछन् । एकातिर उनी धन नभएका मान्छे रहेछन्, अर्कातिर मन भए पनि विसाउन र खोल्न अवसर नभेट्टाएका मान्छे रहेछन् । निकै बेर पछि उनले केही हदमा मन खोले तर अल्प, अल्प मात्र ! केही हदमा मनका मैलाघैला मेरै अगाडि बगाए, त्यो पनि विल्कुलै झर्रा शब्दहरूमा !
उनको भनाइमा त्यस्तो कुनै जादुगरी पाइनँ । पीडाका कुरा थिए, वेदनाका रहस्यहरू लुकेका थिए । मुलुक नै लामो द्वन्द्वबाट बल्लतल्ल तङ्ग्रिदै थियो । शान्तिको श्वास फेर्ने चाहना सबैलाई थियो । तर, कुन बाटो हिँड्दा शान्ति प्राप्त हुन्छ, त्यस बारे सोच्ने फुर्सद कसैलाई नभएको आभाष हुन्थ्यो । पुन्य सरकै सङ्केतमा उनले मलाई दिनका लागि झोला खोले । त्यस्तो के दिन लागे ! म स्तव्ध भएँ । उनले झोलाभरि ‘जीवन पुस्तिका सङ्ग्रह’ (२०६५) नामक कविता कृति बोकेका रहेछन् । झोला खोतलखातल पार्दापार्दै तीनओटा मोटामोटा कापी र एउटा किताव निकाले । ती कापीमा कविता, निबन्ध, कथा र लेख लेखिएका थिए । ‘जीवन पुस्तिका सङ्ग्रह’ नामक कृति चाहिँ मलाई थम्याए । उक्त कृति बारे केही लेख्नुपर्ने कुरा महसुस भयो । तर, के लेख्ने ? वर्णविन्यासगत त्रुटिहरू मनग्यै देखेँ । कविता कृति भन्न सुहाउने गद्यात्मक शैलीका केही रचना थिए भने एकाध भने आख्यानात्मक रचना पनि समेटिएका थिए । सरर्र पढ्दा रस नबसका गनगन लागे । मैले बूढापाका कुरा त्यत्ति पढेको थिइन् । त्यसैले दिलचस्पी राख्ने कुरा पनि आएन । म वेवास्था भावमा बसिरहेको थिए । प्रौढ मनस्थितिका पाका कुरा तर काँचो शैलीमा पस्किएका थिए । मजस्तो अल्लारे ठिटाका निम्ति ती त्यत्तिखेर पच्य भएनन् ।
पछि उनका कुरा सुनेँ । बिस्तारै चाख बढ्दै गयो । उनले इमान्दारीपूर्वक फलाक्दै गए– ‘हेर राजविराजमा बस्ने नानी ! उमेर पनि खाइयो । उदयपुर जिल्लाका कुनाकाप्चा पनि घुमियो । जहाँ पुगियो, त्यही घर आफ्नो सम्झिइयो । हेर्नुस्, मैले जस्तो दुःख झेलँे नि त्यस्तो चाहिँ अरूले झेल्नु पर्दै नपरोस् भन्ने आकांक्षा मनमा राखेको छु । र, दुःखको दह पुरियोस्, सुखको धर्ती बनोस् भन्ने कामना र चाहना मनमा राख्न थालेँ । त्यसैले सकुञ्जेल हिँडिरहेछु, जनता जगाइरहेछु । देखेको लेखेँ, लेख्दैमा पनि हण्डर खाएँ । पछुतो छैन जीवनमा । यसरी नै बाँच्ने क्रममा छु ।’
कतिपय ठाउँमा उनले भाका मिलाए, कतिपय ठाउँमा कुरा छोट्याए । थोरै बोल्न रुचाउँथे । म पनि उस्तै, थोरै सुन्न रुचाउँथे । जे होस्, लेखकका रूपमा म उनका कुरा विश्लेषण गर्न थालेँ । केही कुरा मन परे । एक स्नेप फोटो पनि लिएँ । अनि, उनीसँग विदा पाएँ । उनीसँग छुटेपछि मैले उनको जीवन कहानीलाई पटकपटक सम्झिएँ । ‘म वोर्डिङ्ग स्कूलमा जागिरे भएर दुई चार पैसा आम्दानी गर्ने मान्छे भए पनि खासमा साहित्यमा केही गर्न सकेको थिइन । ‘युग उचाल्ने अक्षरकर्मीको अवसान’ नामक नाटक/एकाङ्की सङ्ग्रहको पाण्डुलिपी थन्किएको धेरै काल बितेको थियो । प्रकाशन गर्ने तरिका र पूँजी लगानी गर्ने हिम्मत पनि थिएन । पानीमरुवा नै भइएको थियो । त्यस बेला कार्कीको साहित्य संसारमा हिँडिरहने हिम्मत र ‘जीवन पुस्तिका सङ्ग्रह’ जस्तो कृति मेरो लागि भानुभक्तले घाँसीबाट पाएको प्रेरणा सरह भएको थियो । सिर्फ साक्षर बनेका र सामान्य गाउँले जीवनको रसबसमा अल्मलिएका व्यक्ति पनि आफूलाई साहित्य संसारमै हराउन सक्छन् भने वातावरण पाएका र अँझ धेरै पढेका हामी उठेका भनिएकाहरू किन सुतिरहेका छाँै ? आर्फैंलाईं धिक्कार्न मन लाग्यो ।
अँझ मैले ‘जीवन पुस्तिका सङ्ग्रह’को सानो परिचय पत्रिकामा लेखिदिए पछि चाहिँ उनले मलाई विश्वास गर्न थालेँ । यो मान्छेले नचिनिएकाहरूलाई चिनाउने काम पनि गर्दो रहेछ भन्ने लाग्यो क्यार ! उनी बेलाबेलामा मसँग फोनवार्ता गरिरहन्छन् । हालखबर बुझिरहन्छन् । उनलाई मेरो वारे चिन्ता छ, मलाई भने एक प्रौढ कवि व्यक्तित्वले उचित परिष्कार र प्रकाशनको मौका नपाएकोमा दुखेसो छ । उनले लेखेका कुराहरूमा परिष्कार र परिमार्जन गर्न सुझाव दिएर धेरथोर सैद्धान्तिक राजमार्ग देखाइदिने काममा कसैले उत्तिसाह्रो चासो राखेको भेटिनँ । उनीभित्र साहित्यको सागर छ, म त्यो बुझ्दछु तर त्यो सलल बग्न सकिरहेको छैन । सैद्धान्ति बाधाअड्चन फुकाउ गरिदिने हो भने, त्यो पनि निश्चित मार्ग भएर बग्थ्यो । अहिलेसम्म उनका पाण्डुलिपीमा निश्चित राजमार्गमा हिँड्न नसकेका धेरै रचनाहरू देखेको छु । आ–आफ्नो प्रतिक्रियात्मक विचार दिएर कविजीलाई प्रोत्साहन दिनु र गोरोटे देखाइदिनु जरुरिरहेको ठान्दछु । गोर्खे साइलोजस्तो आफ्नै बरबुताले साहित्य संसारको धरोहर बन्न सबै लेखबहादुरहरू सक्तदैनन् । कारण साइलाहरू विज्ञान–प्रविधिको संसारमा छन् तर लेखबहादुरहरू डोके–नाम्ले युगमै छन् ।
मसँग त साहित्य वारेमा समेत उनी बडो चिन्ता व्यक्त गर्दछन् । सम्पूर्ण रूपले नेपाली साहित्यमा समर्पित फुलटाइमर साहित्यकारको झलक दिन्छन्–
‘नन्दु भाइ ! आरामै हुनुहुन्छ ?’
‘हजुर । नमस्कार ! हजुर चाहिँ कताबाट बोल्दै हुनुहुन्छ ?’
‘ नमस्कार ! म जलेश्वरदेखि उत्तरतिर गाउँघरमा छु । तपाईंसँग भेट गर्ने मन थियो !’
‘आउनुहोला नि त ! यहाँ राजविराजका पत्रकार साथीहरूलाई समेत भनिसकेको छु । हजुरले आफ्ना कुरा प्रष्ट राख्नुपर्छ नि !’
‘एउटा पोस्तक निकाल्नु भनेको खर्चबर्चले भ्याएको छैन । छापाखानामा कम्प्युटर गर्दै छन्, त्यसलाई एक पटक हेरिदिने मान्छे भएदिए हुन्थ्यो ।’
‘त्यहीँ त पुन्य कार्कीजी हुनुहुन्छ । आवश्यक सल्लाह र सहयोग पाउनसक्नु होला कि !’
‘अब त्यसै गर्नुपर्ला । ल त, नन्दु भाइ ! फुन राख्दै छु । पछि फेरि गफसफ गर्दै गरौँला है त !’
‘हवस् हजुर ! नमस्कार, लेखबहादुरज्यू !’
‘नमस्कार ! नन्दु भाइ !’
अहिले उनी के गर्दै छन् र उनको कस्तो कृति प्रकाशन भइसक्यो या बाँकी छ, तत्कालको जानकारी मलाई थाहा भएन । मलाई लाग्छ– अरू कवि/कलाकारहरू सहरका सेवासुविधा र मलजलमा हलक्क भएर लहलह हुर्के । परिष्कार र परिमार्जनको अनुकूल वातावरण पाएर क्षेत्रप्रताप अधिकारी, हेम हमाल, मञ्जुल, तोया गुरूङ, विमल निभा, सरुभक्त, हरि अधिकारी, कृष्णभूषण बल, मातृका पोखरेल, पुन्य कार्की, रामविक्रम थापाहरू बने । तर, लेखबहादुरहरू गाउँकै पाखा पखेराहरूमा टाँसिएर अल्झिरहे । जहाँको त्यहीँ रहन विवश भए । अघि बढेकाहरूलाई आधुनिक युगको उज्यालोले चम्कायो र टलक्क टल्कने बनायो । तर, लेखबहादुरहरू अँध्यारो बस्तीका जूनकीरी भएर पिलपिलाइरहेका छन् । हिजोदेखि आजसम्म गाउँघर घुम्दै छन्, हाल खबर बुझ्दै छन् र कापीका पानाहरू भर्दै छन् । यसै सन्दर्भलाई खोटाङका कवि जसराज किरातीले मार्मिक ढङ्गले ओकलेका छन्–
यत्रो अँध्यारो महासागरको वरिपरी
म एउटा सानो जूनकीरी
पिलपिल बलिरहेछु ।
अनि लेखनाथ पनि ग्रामीण परिवेशका सरल र जीवन्त बिम्ब एव म प्रतीकहरूले सिँगारेर कविता लेख्न माहिर छन्–
पैसामा हामी नबिकौँ, शासन नीति नसिकौँ
अध्यक्ष, शिक्षक मिलेर, स्कूल जाला बिग्रेर ।
स्कूलमा हुन्छ राजनीति, गर्छन् सबै नियम मिची
शितल हुन्छ छाँयाले, बालक पढ्छन् मायाले ।
उनका कविताले समाजका बेथिति, अन्याय, अत्याचार, दुराचार, भ्रष्टाचारप्रति आक्रोशपूर्ण झटारो प्रहार गर्न भने छाडेका छैनन् र शोषित, पीडित, उपेक्षित वर्गको सर्वोपरी हितमा समर्पित विचार राख्न उनी खप्पिस देखिन्छन् । तर, दुर्भाग्य ! आफ्नै पृथक् शैली, अभिव्यक्ति र शिल्पमा नवीनता हुँदाहुँदै पनि ती पहाडी झरनाझैँ कञ्चन, स्पातिला र ऊर्जावान् भने छैनन् । छन त छ– कविको आफ्नै काव्यात्मक धर्ती छ, आफ्नै पौरखी आकाश छ र आफ्नै वैयक्तिकपनको खुल्ला क्षितिज छ । उनको सुन्दर आफ्नै प्राकृतिक संसार हेर्ने दूरदृष्टि छ । एकसरो लुगा र एकपेट भातका लागि मात्र पनि उनले भरदिन शारीरिक मेहनत गर्नुपर्छ । दुःखको दहमा पौडदै बाँच्न विवश छन् उनी । उनले दुःखलाई मात्र हैन, सुखलाई पनि चिनेका छन् । तर, सुखले चाहिँ उनलाई चिन्दैन । दुःखले मात्र पछ्याइरहेको देखेको छु ।
मलाई भन्न मन लागेको छ, उदयपुर सदरमुकाममा मुकायम भएका साहित्यिक मित्रहरूलाई– उनी गाउँ डुल्छन्, खबर बुझ्छन् । दुरुस्त टिपेर सादा पाना ढाक्छन् । विचार त्यहीँ जन्मन्छ र त्यहीँ मात्र रहन्छ । ती विचाराको विचार राजधानी काठमाडौं वा विराटनगरतिर आउँदै आउँदैन । किनभने उनी अन्त कतै धाउँदै धाउँदैनन् । यिनको गाउँले विचारलाई गाउँले त बुझ्नुपर्छ नि । सहरले बुझ्ने संस्कार त हामीकहाँ बन्दै छैन । समयमा अध्ययन, उचित प्रचार र सम्पर्क बढ्दै गएको भए उदयपुरे यी हस्ती पनि पुरस्कार, सम्मान र पदहरूले ढाकिने सर्जक बन्ने थिए । हैन, साहित्य नितान्त आफ्नै लागि लेख्ने हो भने र समाजलाई त्यागिदिने हो भने कसैले केही भन्नुमा कुनै तुक रहन्न । नत्र भने अहिले पनि केही वितिहालेको छैन, थोरै बौद्धिक सहयोग गरिदिऔँ । यिनबाट उदयपुर अहोभाग्य हुनसक्छ । यिनको त्यागको यात्रामा थोरै भरोसा राखौँ । हामी पनि भाग्यशाली हुनसक्छौँ । भोलि आफू आदरणीय हुनुछ भने हिजोका प्रौढहरूलाई आज आदर गरौँ, भरोसा राखौँ, सम्मान दिऔँ । भोलि आफैं सप्रदै जान्छ, साहित्यको हरियो राजधानी बन्दै जानेछ ।
–नन्दलाल आचार्य
तपेश्वरी–१, गल्फडिया, उदयपुर
मो.नं. ९८४२८२९२०६
