Skip to content


एकनास तम्तम्याइलो सहनाइ बजिरह्यो
ढोल, मृदङ्ग र झ्याउँकिरी बजिरह्यो ।
पातहरू पनि बजिरहे
बातहरू पनि बजिरहे ।
० ० ०
ठान्थें कुनै सुरम्य मेलोडी सङ्गीतकार सिर्जना गर्छ
भ्रम टुट्यो
सङ्गीत त ! प्रकृति दिँदोरहेछ ।
प्रकृति मुस्काउँदा मेलोडी आफैँ झङ्कार दिँदोरहेछ
० ० ०
त्यो सुन्दरी गाउँ सुदूरबाट शहर प्रवेश गरेकी हो
ठमेलतिर रात गुञ्जन्छ
प्रकृति नग्न बन्दोरहेछ
छोपेर के गर्नु र ? आखिर सब उदाङ्गो रहेछ ।
० ० ०
खेल नानीहरू मात्र खेल्दैनन्
खेल बूढाहरू, प्रौढहरू र यौवनाहरू पनि खेल्छन् ।
फरक यत्ति हो !
प्रकृति समास गर्छ, विग्रह गर्छ
व्याकरणको भाषामा अर्थ फरक पर्छ ।
० ० ०
मेवा मादकताको औषधि हो
सेवा सुन्दरताको सुरा हो ।
सेवा झुम्छ भँवरा भएर फूलसित
कवि गुम्छ आफ्नै नामसित
सिर्जना रुन्छ आफ्नै अहङ्कारसित
वरदान होइनभन्दा सबैथोक गुम्छ
सबथोक घुम्छ
आइन्स्टाइनको भाषा हो यो,
व्यासहरूको गाथा हो यो,
मृत्युशैयामा सुतेका भीष्मपितामहको
कृष्ण उपचार हो यो,
जीवन अलिकति संसार हो
अलिकति रहस्य हो
धेरै धेरै सपना हो
थोरै विपना हो
अलिकति चार्वाक
अलिकति कार्लमाक्र्स
यथार्थमा जीवन जीवन नभएर जीवन रुन्छ
जीवन भएरै फेरि जीवन हाँस्छ
हावाको झोक्काको पर्याय जीवन
समय चेस खेल्छ
चेसमा एकले हार्छ र एकले जित्छ ।

– उदय निरौला

मधुपर्क २०६९ साउन

Leave a Reply

Your email address will not be published. Required fields are marked *