चिसो सगरमाथा
कठ्याङ्ग्रिएर फरफराउन बाध्य
मेरो झण्डा झैं
वसन्तको खोजीमा, भौतारिइरहेको
एक नाङ्गो रूख हेर्दै
अधुरो सपना बुनिरहिछिन्
उ त्यो बन्द कोठीमा
थुनिएकी मेरी आमा !
मधुर आवाजसँगै
कोइलीको नाच रच्दै
न्याउलीको करुणासाथ
रूँदै, चिच्याउँदै, छटपटाउँदै
विरक्तिरहेकीछिन्
उ त्यो बन्द कोठीमा
थुनिएकी मेरी आमा !
आफ्नै छोराबाट थिचिएर
आफ्नै छोरीबाट मिचिएर
ती अँध्यारा गल्छेडाहरूबाट
मुक्ति पाउने आशामा
कसैलाई कुरिरहेकी छिन् ।
उ त्यो बन्द कोठीमा
थुनिएकी मेरी आमा !
उषाको लालीले चुम्दैन उनलाई
जुनेली रातले छुदैन उनलाई
एक, निष्पट्ट अन्धकारभित्र रुमलिएकी
ओइलिएको पाटल
पिँजडामा पिल्सिएकी चरी झैं
वेदना र टल्पल आँसुको भेलमा
डुब्दै, तैरिदै
आफ्नो अस्मिता
दाउमा लगाइरहेकीछिन्
उ त्यो बन्द कोठीमा
थुनिएकी मेरी आमा !
उषा आचार्य
– पर्वत
मधुपर्क २०६९ बैशाख
