विस्तृत हरिया खेत
निलो आकाश
चराहरूका मिठा बोलीसँगै
व्युँझन्छन् बनारसका
गल्ली, खेत अनि चौकाहरू
मन्दिरहरूका अविराम घण्टा
ध्वनिहरू
गाइरहेछन् आस्थाका गीतहरू
अनन्त कालदेखि,
छेउमा गङ्गा बगिरहेछन्
मानिसका नियति जस्तै
प्राचीन पुराणकथाका साक्षी बनेर,
मन्दिरका गजुरहरू
हेरिरहेछन् एकअर्कालाई
युगौदेखि
साँझ,
डुङ्गाहरू ओहोरदोहोर गरिरहेछन्
जीवन र मृत्युका क्रमझैँ
अनि घाटमा भजन
फेरि गल्लीको चहलपहलसँगै
जीवन्त बन्दछ बनारस
छिमेकी लखनौँको वैभवलाई
देखेर पनि गर्दैन आरिस
ऊ, आफ्नै धुनमा
व्यस्त छ
ऊ आफ्नै धुनमा
मस्त छ
सिद्धार्थ राई
मिरिक, दार्जिलिङ
मधुपर्क २०६९ बैशाख
