यो यही गाउँ हो
जहाँ कतै गइरहेको आदिम गोरेटो छ
र, यही गोरेटो भएर
यतै फर्किरहेको आदिम मान्छे म
आइपुगेको छु आज–आफ्नै गाउँ
लिएर सपनाका केही
सुनौला रङ्गहरू
लिएर उमङ्गका केही
मीठा तरङ्गहरू
मलाई यस्तो लागिरहेछ–
कि म एक ‘यहुदी’
वर्षौँपछि फर्किरहेछु– कुनै अर्को ‘जेरूसेलम’
र, बसिरहेछु प्रार्थनारत्– कुनै नयाँ ‘मक्कामदिना’मा
मलाई थाहा छ–
‘विश्वविजेता’लाई
आफन्तैले बिर्संदै गएको तीतो सत्य
झन्झन् झरिलो सम्झना बनाएर
लाहुरे फूल फुलाइरहने
प्रत्येक आँगन– यही गाउँको हो
मलाई उस्तै हेक्का छ–
हरेक उभौली र उद्यौलीमा
आफैँभित्र अल्मलिँदै गएको
नारावा शिली टिप्दै
समयको साक्षी भएर
कर्याङ्कुरुङ् ओहोरदोहोर गरिरहने
खुला आकास– यही गाउँको हो
कहिलेकाहीं घरिघरि बस्ती छोपी आउने
भुँइकुहिरोसित जुहारी खेल्दै
हरेकपल डुलिरहने रैथाने बतास
र, बताससँगै झुलिरहने आम्लाबुङ्– यही गाउँको हो
उठाएर यो माटोसँगै
सीपको पहिलो आधार
विश्वासको कसिलो तानमा
सभ्यताको खाँडी बुनिरहने
तयामा, खियामा,
टुङ्मा र खुस्या–यही गाउँका हुन्
लिएर सापटी ढुकुरको प्राण
गाँडबाट निस्केको अन्न छरेर
फलाई यस बन्जरभूमिमा
मानिसको प्राण बचाउन
र, घनावस्ती बसाउन
मुन्दुम गाउँदै आस्थाको माङ् पुजिरहने
खोक्चिलिया, हेत्छाकुप्पा,
हँछा र यवा पनि– यही गाउँका हुन्
तर,
समय क्रमसँगै
जसरी फैलिँदै आयो
‘पृथ्वी’मा अरू–अरू राज्य
उसरी नै साँगुरिँदै गयो
आदिमभूमिको साँधसिमाना
गुमाउँदै गए पूर्खाले
आफ्नै छातीको स्वाधीनता
र, चहर्याउन थाल्यो नसानसा
विशाल राज्यको विषाक्त पीडाले
विवश भए आफ्नै घरमा परदेशीजस्तो बन्न
बाध्य भए आफ्नै भूमिमा सुकुम्बासीजस्तो बन्न
मलाई राम्ररी थाहा छ–
आफ्नै भूमिको स्वामित्वका लागि
मुद्दा लड्दालड्दै, नेपाल धाउँदाधाउँदै
कैयौँ पुस्ता पितृ भएको
पूर्खाहरूको भड्केको आत्मा फकाउन
जोखना हेर्दै, कचुर काट्दै
ठूलो चिन्ता बसिरहने नछुङ्– यही गाउँका हुन्
समयको बिषालु झरीमा रूझ्दारूझ्दा
आफ्नै भाषाका हरिया पातहरू
पहेलिँदै–पहेलिँदै खसिरहेको
एकताको निर्मम असिनाले चुटिँदाचुटिँदा
आफ्नै संस्कृतिका बलिया हाँगाहरू
सुक्दै–सुक्दै गइरहेको
र, क्रमशः क्रमशः
एक्लो र कमजोर बन्दै गइरहेको
बूढो रूख पनि– यही गाउँको हो
थाहा छैन यो गाउँ भोलि
अझै के हुने हो ?
कस्तो र कसको हुने हो ?
शङ्कालु आँखाले हेर्दा,
देखिन्छ–
बिचारका अनेक जालोले बेरिँदै छ गाउँ
अहम्का अनेक रङ्गले फेरिँदै छ गाउँ
तर,
जब पसेँ म
गाउँको निख्खर हृदयभित्र
आफैँ फाट्दै गयो
सङ्कोच र अन्यौलको तुँवालो
देखिँदै आयो नयाँ पुस्ता– चेतनाको
फैलिँदै आयो नयाँ किरण– एकताको
तब भेटेँ,
गाउँ ‘गाउँ’ भएरै बाँचिरहेको
र, घाम ‘घाम’ भएरै हाँसिरहेको
प्रत्येक गाउँजस्तै मन
र, घामजस्तै मुस्कान
सबै– सबै यही गाउँका हुन्
टीका चाम्लिङ
मधुपर्क २०६९ बैशाख
