प्रिय तिमी
सृष्टिमा श्री तिमी
परिपूर्ण सृष्टिमा तिमी
नजिक आउ प्रिय
यति धेरै नजिक आउ
तर तिमीलाई कहाँ राखूँ ?
भन प्रिय सम्पूर्ण देहको
कुन कुनामा राखूँ ?
जहाँ राखूँ त्यहाँ यति धेरै नजिक हुँदैन
जति यो विशाल हृदयमा
भरिएर बसेकोछु
यो शब्दको शृङ्गारले
परिभाषा पाउँदिन प्रेमको
यो शब्द अक्षरको परिधिमा
निस्सासिन्छ प्रिय
बरू आउ मिलाउ
यो शून्य शून्य एक जोर आँखामा
तिम्रो एक जोर नयन
धित नमरुन्जेल मिलाउ प्रिय
जहाँबाट हामी ती आदरणीय
रहस्यहरूका
नूतन नूतन दर्शन सुनिन्छ
‘प्रेमको बाटो अति साँघुरो
त्यसमा दुवै नअटाउने’
रहेछ प्रिय यस्तो
त्यसैले यो शब्दको महाजालोबाट
निस्साहिएर मृत्युभोग गर्नु भन्दा पहिले
यो क्षणको सदुपयोग गरौ प्रिय
सृष्टिको छनोट तिमी
पृथ्वीमा मेरै वनौट तिमी
प्रिय तिमी मेरो, तिमी प्रिय मेरो
तिम्रो नैसर्गिक निर्दोष निर्दोष नयनमा
मेरो यो शून्य शून्य आँखा
यति धेरै मिलाउ कि
फेरि यति धेरै मिलाउ कि
यो मौनको गहिराइमा
अस्तित्वको नैसर्गिक सङ्गीतमा
नृत्य गरौँ नटराजमा
उत्सव गरौँ स्वर्णिम समयमा
यो क्षणको आह्वान तिमी
मेरो आकाशै प्रिय तिमी
यो शून्य शून्य गोल गोल मङ्गल ध्वनिमा
शान्ति स्वयम् ध्वनिमा, स्वच्छ, स्वच्छ
सहजतन्त्रमा
रामलाल वाटाजू
मधुपर्क २०६९ बैशाख
