Skip to content

अनारदाना र सुन्तला (लघुकथा)


भान्छाकोठाको टेबलमा सजाएर राखिएका फलफूलहरूले आपसमा भेला गरे । उनीहरू मानिसको निर्दयीपनबाट वाक्क र दिक्क भएका थिए र मानिसहरू बिरूद्ध बिद्रोह गर्ने मनस्थितीमा पुगेका थिए । सबैभन्दा पहिले एउटा गतिलो नेता छान्ने कुरामा सबै सहमत भए । सुन्तला र स्याउ प्रतिष्पर्धिका रूपमा खडा भए । सुन्तलाले सुटुक्क अनारका दानाहरूको भेला गरायो । अनारका प्रत्येक दानाहरू एकअर्कासँग टपक्क टाँसीएर आफ्नो घर भित्र बसेका थिए । सुन्तलाले भाषण गर्न थाल्यो –

“हेर्नुस अनारदाना महाशयहरू, तपाईँहरूको मुक्ती र यो भान्छाकोठाबाट छुटकारा पाउनको लागि मसँग यौटा योजना छ । मलाई चुनावमा जिताउनुमात्र होस, म तपाईँहरू सबैको मुक्तीको लागि जिउ-ज्यान दिएर काम गर्नेछु ।”

अनारदानाको समुहले भरेसक्य प्रचारप्रसार गरे । आँप, रूखकटहरहरूले समर्थन गरे । अत्याधिक बहुमत प्राप्त गरेर सुन्तलाले चुनाव जित्यो । स्याउ चुपचाप विपक्षीको भुमिकामा प्रस्तुत भयो । ग्रीष्मकालको अन्त्यतिर अनारदानाहरू सबै मिलेर सुन्तलासँग उसले गरेको वाचाको याद दिलाए । सुन्तलाले अनारदानाहरूलाइ टेबुलबाट हामफालेर भाग्न मार्गदर्शन गऱ्यो । गाजर र स्याउ आँफै बलिया बाङ्गा भएकाले टेबुलबाट सुरक्षित अवतरण गरेर भाग्न सफल भइसकेका थिए । अनारदानाहरूले आफ्नो घर कमजोर भएको हेक्का नराखीकन टेबुलबाट हामफाले, तर अफसोस, टम्म मिलेर बसेका अनारदानाहरू जताततै फुट्न र रक्ताम्य हुन थाले, सबै अनारदानाहरू हामफाले तर अगाडि बढ्न सकेनन् । त्यसपछि आँपहरू र रूखकटहरहरूले प्रयास गरे ती पनि जताततै फुट्दै पसारीन थाले । सुन्तलाहरू भने त्यही अनार, कटहर तथा आँपहरूमाथि सफल अवतरण गर्दै भाग्न सफल भए ।

अनारहरूले पछि सुने अनुसार मानिसहरूले स्याउ, सुन्तला र गाजरहरूलाई हिउँदमा मात्र भेट्टाएछन । त्यहिबेलादेखि मानिसहरूले अनार, कटहर तथा आँपहरू ग्रीष्मकालमा र स्याउ तथा सुन्तलाहरूलाई हिउँदमा आफ्नो भोजन बनाउँदै आएका रहेछन् ।

२०६९ कार्तिक १२

Leave a Reply

Your email address will not be published. Required fields are marked *