एकपटक यस्तो घटना घट्यो कि बिब्लसका राजा नुफ्सीबलको राज्याभिषेक पछि उनी आफ्नो शयनकक्षमा गए – त्यो त्यहि कक्ष थियो जुन पर्वत बासी तीन चमत्कारी सन्तहरूले उनको लागि बनाएका थिए । उनले आफ्नो श्रीपेच र राजसी पोशाक उतारे र कक्षको मध्यभागमा सोच्दै खडा भए, सर्वशक्तिमान वर्तमान बिब्लसका महान सम्राट ।
एकाएक उनी पछाडि फर्के र उनले देखे कि उनकी आमाले दिएको चाँदीको ऐनाबाट एउटा दिगम्बर मानिस बाहिर निक्लेर आयो ।
सम्राट अचम्ममा परे र त्यो मानिसलाई हकारे, “के चाहियो तिमीलाई ?”
अनि उक्त दिगम्बर मानिसले भन्यो, “अरू केही होइनः तिनिहरूले तिमीलाई सम्राट किन बनाए ?”
अनि राजाले भने, “किनभने म यस भु-भागको सबैभन्दा असल मानिस हुँ ।”
अनि त्यस दिगम्बर मानिसले भन्यो, “यदि तिमी अझ बढी असल हुन्थ्यौ भने, सम्राट बन्ने थिएनौ ।”
अनि राजाले भने, “किनभने म सबै भन्दा शक्तिशाली छु, त्यसैले उनीहरूले मलाई सम्राट बनाए ।”
अनि त्यस दिगम्बर मानिसले भन्यो, “यदि तिमी अझ बढी शक्तिशाली हुन्थ्यौ भने, सम्राट बन्ने थिएनौ ।”
अनि राजाले भने “किनभने म सबै भन्दा ज्ञानी छु, त्यसैले उनीहरूले मलाई सम्राट बनाए ।”
अनि त्यस दिगम्बर मानिसले भन्यो, “यदि तिमी अझ बढी ज्ञानी हुन्थ्यौ भने, सम्राट बन्ने थिएनौ ।”
त्यसपछि राजा जमीनमा पसारीए र बेसरी रोए ।
त्यस दिगम्बर मानिसले उनलाई हेऱ्यो र राजसी श्रीपेच बिस्तारै राजाको झुकेको टाउकोमा राखिदियो ।
अनि त्यस दिगम्बर मानिस राजालाई मायालु नजरले हेर्दै ऐना भित्र प्रवेश गऱ्यो ।
अनि राजा बिस्तारै उठे र सीधै ऐनामा हेर्दा भए । अनि त्यहाँ उनले आफैँलाई श्रीपेचले सुशोभित भएको पाए ।
लघुकथाः अभिमान
खलिल जिब्रानको लघुकथाः The Greater Self को नेपाली अनुवाद
अनुवादकर्ताः एकदेव अधिकारी
