हे नारी! तिमी कतिन्जेलसम्म
घुम्तो ओधेर निहुरी रहन्छौं
निहुरिएर घुम्तो ओधिरहन्छौ ?
तिमी कुनै अपराधी होइनौं
र पनि तिमी कैद छौं
घरको चार पर्खाल भित्र
तिमी नजर बन्द छौं
अनि स्वतन्त्र छन्
ती पुरुष भनाउदाँहरू,
तिम्रा दाजु भाइहरू
उनीहरूलाई थुन्ने कुनै जेल छैन
स्वतन्त्र छन् तिनका पाइलाहरू
कुनै रोक तोक छैन
कुनै बन्देज छैन
तर तिम्रो खुट्टामा मात्र
त्यो फलामको नेल किन ?
किन स्वतन्त्र छैनन् तिम्रा पाइलाहरू ?
किन खुम्चिएका छन् तिम्रा भावनाहरू ?
दोष बिनाको लोग्नेको कुटाईमा
गल्ती बिनाको बा आमाको हप्काईमा
किन मौन रहन्छन तिम्रो ओठहरू ?
किन निस्तेज रहन्छन तिम्रा हातहरू ?
हो, तिमी सहनशिलताकी प्रतिमुर्ती हौ
तर कुनै पथ्थर त होइनौ नी
धेरै भो भने पथ्थर त बोल्छ भन्छन्
तिमी त मान्छे हौ मान्छे
तिमी किन मौन छौ ?
तिमी किन नतमस्तक छौ ?
हे नारी ! चिन तिमीले आफूलाई
अनि आफू भित्रको अपार शक्तिलाई
सुत्न पुग्यो अब
ब्यूझिएर हेर यो संसारलाई
अरु कति टाढा पुगि सके
तर तिमी जहाँका त्यही छौ
ईनार भित्रको भ्यागुता झैं
त्यसैलाई तिमी संसार थान्छौ ?
तर तिमी भ्रममा छौ
तिमी भ्रमको भुमरीमा छौ
त्यो भन्दा पनि बाहिर अर्को संसार छ
यदि त्यो संसारको इच्छा तिमीमा छ भने
बाहिर निस्कने प्रयास गर
त्यो ईनारबाट, त्यो जेल बाट
यदि तिमी परिवर्तन चहान्छौ भने
अन्याय अत्यचारबाट मुक्ति चहान्छौ भने
भत्काई देऊ ती पखालहरू
काटि देऊ ती फलामका जञ्जिरहरू
हे नारी ! निहुरिन छाड अब शिर उठाऊ
मौनतालाई चिर आवाज उठाऊ
अनि थर्काइ देऊ ती भिर पाखाहरू
नारी मुक्तिका स्वरहरूले
मागेर अधिकार यदि पाइन्न भने,
खोसेर लिन सिक, लडेर लिन सिक
अध्याँरोबाट मुक्तिको लागि
एउटा दियो बाल्न सिक
तिमी दियो बन्न सिक ।
जितेन्द्र तुलाधर
बुंगमती, ललितपुर
