मेरो परिचय माग्यौ
मैले दिन सकिन त
आजसम्म जतिले
तिम्रो परिचय देऊ भन्दा
या मेरो परिचय माग्दा
या मैले आफ्नो परिचय
दिनु पर्दा भन्ने गरेकी थिए
म फलानोको नातिनी
म फलानोको छोरी
म फलानोको भतिजी
म फलानोको दिदी
म फलानोको बहिनी
म फलानोको श्रीमती
म फलानोको बुहारी
म फलानोको काकी
म फलानोको माइजू
म फलानोको आमा
म फलानोको छिमेकी
म फलानोको साथी
म फलानो भन्न किन सकिन ?
आखीर म को हुँ ?
के म अस्तित्वहिन हुँ त ?
जब जब परिचय भन्ने
शब्द मेरो मानसपटलमा आउछ
तब तब म बाध्य हुन्छु सोच्न
मैले मेरो परिचय बनाउन नसक्नु
ठुलो कमजोरी रहेछ
नितान्त ठुलो कमजोरी
त्यसैले अब आगामी दिनमा मैले
म फलानो हुँ भनेर भन्न सक्नुपर्छ
अर्थात मैले आफ्नो परिचय बनाउनु सक्नुपर्छ
र एउटा गतिलो परिचय बनाउने
जमर्कोमा जुट्नु पर्छ
भन्ने लागेको छ
यो लागेको कुरा कार्यन्वयन गर्न सकौ
यही प्रार्थना छ माङ सँग
म आफ्नै नामको ओजले चिनिनु
मेरो परिचय होस
यही परिचय नै अस्तित्व
कायम राख्न सकौ
गौरवका साथ आफ्नो
परिचय दिन सकौ
सकौ एक परिचय बनाउन
र्निधक्क भन्न सकौ म फलानो ।
२०६९-८-१४ गते ।(रचना काल)
