मैले त्यस्तो कुनै अपराध गरेको थिइन, ता पनि म पल्टिरहेछु यहाँ आफ्नै छायाँलाई एकोहोरो हेर्दै, खुट्टा हल्लाउँदै, भित्तामा भएका अदृश्य हमलावरहरूलाई लात्तीले हानेको अभिनय गर्दै । कसै न कसैले मेरो क्रोधको सामना गर्नै पर्छ, चाहे त्यो काल्पनिक शिकार किन नहोस । कम से कम ऊ प्रतिरक्षामा मसँग भिड्न त सक्दैन; यतिबेला मैले लिने सन्तोष भनेकै त्यही हो ।
मेरो कोठामा कुनै टेलिभिजन छैन, छन् त मात्र एउटा क्यासेट प्लेयर र केही चक्काहरू सुन्नको लागि । तर मलाई त्यो चलाउने अनुमति पनि छैन । मलाई सिधा आदेश छ कि म यहिँ शान्त भएर सुतिरहुँ । के कारणले, त्यो त मलाई नै थाहा छैन । मलाई लाग्छ मलाई यहI सुत्ने कोठामा सिमीत रहने सजाय दिइएको छ । मेरा सबै साथीहरू बाहिर छन, अनि मलाई थाहा छ उनीहरू मलाई गिज्याइरहेछन, मलाई हेर्दै हाँसीरहेछन । तिनीहरूलाई जालभित्र थुनिएको मुसो झैँ हुनुपरेको छैन । केही काम नगरी त्यसै बसीरहनुपरेको छैन । अनि त्यहि पढिसकेको किताब पटक-पटक पढिरहनुपरेको छैन । यदि मेरा सुपरीवेक्षकहरू मलाई यहि सजाय दिन चाहन्छन भने उनीहरू सफल भए । यो एक्लोपनको यातना असह्य छ मेरा लागि ।
मैले के अपराध गरेँ र यस्तो सजाय भोग्नुपऱ्यो ? हो म कहिले काहिँ चिच्याउँछु, कहिलेकाहिँ मेरा संरक्षकहरूलाई अचम्म पार्ने गरि गालि गलौज गर्छु, अश्लील शब्द प्रयोग गर्छु । के यो धेरै भयो ! अवश्य यदि मैले मागेका कुरा सरासर उनीहरूले पुऱ्याइदिए त म आफैँ सन्तुष्ट हुने थिएँ, असल मानिस बन्ने थिएँ ।
तपाईँलाई लाग्यो होला म स्वार्थी छु, बिग्रेको पनि छु, होइन त ? मेरो ठाउँमा रहेर हेर साथी, अनि भन, त्रियासी वर्षको मानिसलाई अबोध बालकलाई जस्तो गरी व्यवहार गर्दा कस्तो लाग्छ होला !
Ray Van Horn, Jr.को लघुकथाः Banished to My Room को नेपाली अनुवाद
अनुवादकर्ता एकदेव अधिकारी
२०६९ पौष २३
सौराहा चौक, चितवन
Banished to My Room by Ray Van Horn Jr. http://www.storybytes.com/view-stories/2000/banished-to-my-room.html
