एक दिन घुम्दै घुम्दै बजार गए कालीदास । उनका नजर एक महिलामाथि परे । त्यो महिलासँग एउटा माटाको घैटो र नजिकै एउटा गिलास थियो । कालीदासले महिलालाई सोधे, “तिमी के बेच्दैछ्यौ ?”
महिलाले जवाफ दिई, “महाराज ! म पाप बेच्दै छु ।”
कालीदास ले आश्चर्यचकित हुँदै सोधे, “पाप, यो माटोको भाँडोमा ?”
महिलाले भनी, “हो महाराज ! यो माटोको भाँडोमा पाप छ ।”
कालीदास – “कस्तो-खालको पाप छ ?”
महिला – “यो माटोको भाँडोमा आठ वटा पापहरू छन् । म चिच्याई चिच्याई भन्छु, म पाप बेच्छु । तर पनि मान्छेहरू यो पाप किन्नको लागि तँछाड मँछाड गर्छन् ।”
महिलाका त्यस्ता कुरा सुनेर महाकवि कालीदासलाई अरु आश्चर्य लाग्यो “कस्तो अचम्म ! पैसा दिएर मान्छेले पाप किन्छन् ?”
महिलाले भनी, “हो महाराज मान्छेहरू पाप पैसाले किनेर लान्छन् ।”
कलिदास – “उसो भए यो माटोको भाँडोमा ती आठ वटा पाप कुन कुन हुन् ?”
महिला – “क्रोध, बुद्धिनाश, यशका नाश, स्त्री एबं वच्चाहरूका साथ अत्याचार र अन्याय, चोरी, असत्य, दुराचार, पुण्यका नाश र स्वास्थ्यको नाश । यी आठ प्रकारका पाप यो माटोको भाँडोमा छ ।”
कालीदासलाई झन् कौतुहल भयो, “यो त बडो विचित्रको कुरा भयो ।”
अहिलेसम्म उनले कुनै पनि शास्त्रमा पढेका थिएनन् । माटोको भाँडोमा आठ प्रकारका पाप हुन्छन् भनेर । उनले महिलासित सोधे, “आखिर यो माटोको भाँडोभित्र
के छ त्यस्तो ?”
महिलाले जवाफ दिई, “यो माटोको भाँडोमा रक्सी छ महाराज !”
कालीदासले महिलाको इमान्दारिता र सत्यतासँग प्रसन्न भएर भने, “तिमीलाई धेरै धेरै धन्यवाद छ । रक्सीमा आठ प्रकारका पाप हुन्छन् भन्ने कुरा पनि तिमी जान्दछ्यौ । र म पाप बेच्छु भनी-भनी बेच्छ्यौ । तर पनि मान्छेहरूले तँछाड मँछाड गरेर पाप किनेर लान्छन् । धिक्कार छ, त्यस्ता मान्छेहरूलाई !”
(हिन्दी-आध्यात्मिक कहानि-अनुवाद)

मातृभाषा
मातृभाषामा शिक्षा
माताको दूध शिशुलाई शिक्षा मातृभाषामा,
प्रभाव पर्छ सृस्टिलाई प्रकाशको गतिमा।.
यी माथिका हरफ मेघालय शिलोंगका नेपालीभाषी पुस्तक ब्यबसायी श्री बिष्णु गौतमले बिगत ५ वर्ष देखि जोड तोडका साथ प्रचार प्रसार गर्दै आएका छन् । उनले प्रकाशन गरेका पुस्तक, बिजक, लेटर प्याड, पुस्तक सुची जताततै यी हरफ देख्न पाइन्छ । नेपाली, अंग्रेजी, खासी र बंगाली भाषामा लेखिएका यी हरफले मातृभाषाको शक्तिले सृष्टिको रक्षा र यस सुन्दर बहुरंगी विश्व-बाटिकालाइ द्रुत गतिमा सुमुन्नत बनाउन टेवा मिल्ने संदेश दिन्छ ।.
जन्मेपछि सम्बाद गर्न सिकेको पहिलो भाषा नै मानिसको मातृभाषा हो । संसारमा ज्ञान, सोच र कल्पनाको बहुरंगी विविधता कायम राख्न पनि मातृभाषालाइ बचाईराख्न र विकास गर्न जरुरि छ । मातृभाषामा दिइने शिक्षाले सम्बन्धित भाषा त्यसको लिपि, जातीय संस्कार र संस्कृतिको विकास तथा समाजमा उत्प्रेरणा र चेतनाको अभिवृद्धि हुन्छ । यदि कुनै भाषा लोप भएर गयो भने त्यस जतिको संस्कृति पनि लोप भएर जान्छ । संस्कृतिक सम्वृद्धिमा सबैभन्दा ठूलो योगदान भाषाको नै हुन्छ । मातृभाषामा दिइने अभिव्यक्ति सबैभन्दा परिपूर्ण र सहज हुन्छ । यदि मातृभाषा सम्पन्न भयनन भने संसारमा धेरै कारोबार हुने सम्पर्क भाषाको अवस्था पनि खोक्रो हुन जानेछ । ससाना हजारौ मातृभाषाका कारणले नै संसारका सम्पर्क भाषा सम्पन्न र हराभरा भएका हुन् । यदि कारोबारी भाषामा लिप्त भएर मातृभाषाको लोप भयो भने ज्ञान बिज्ञानको संसार उराठिलो मरुभूमि जस्तो बन्ने छ । त्यसैले शिक्षा मातृभाषामै हुनु पर्छ । मातृभाषा मानिसको मौलिक ज्ञान, शिप सृजनाको खजाना हो । यस्तो महत्वपूर्ण खजानाको रक्षामा ध्यान नदिएर क्षणिक लाभको निम्ति कारोबारमा चलेका भाषामा मात्र लिप्त हुनु समाजको भविस्य माथि गरेको बेइमानी र बाल अधिकारको हनन हो ।.
प्रसिद्ध साहित्यकार रवीन्द्रनाथ टैगोरले भनेका छन्, ‘मातृभाषामा शिक्षा पाउनु मानिसको जन्मसिद्ध अधिकार हो । हामी जसरी आमाको कोखमा जन्मेका हौं त्यसैगरी मातृभाषा पनि हाम्रो कोख हो । यी दुवै आमा हाम्रालागि सधैं सजीव र अपरिहार्य छन् ।’ उनले मातृभाषाको महत्त्वलाई बुझे र बुझाउने कोसिस गरे । प्रसिद्ध राजनीतिज्ञ नेलसन मण्डेलाले भनेका छन्- इफ यू स्पिक टु अ म्यान इन अ ल्याङ्वेज ही अन्डरस्ट्यान्डस, इट गोज् टु हिज माइन्ड बट इफ यू स्पिक इन हिज ल्याङ्वेज इट गोज टु हिज हर्ट । यदि कसैसँग उसले बुझ्ने भाषामा कुरा गर्नुभयो भने त्यो कुरा उसको दिमागमा मात्र पुग्छ । यदि उसको मातृभाषामा भन्नुभयो भने मुटुसम्म पुग्छ । मण्डेलाले मातृभाषाको द्रुत असरलाई प्रस्ट्याए ।.
विकासको क्रममा महत्त्वभन्दा वस्तुको कारोबारले त्यसको अवस्था निर्धारण गर्छ । जुन वस्तुको कारोबार बढी हुन्छ, संसारमा त्यसैको अवस्था बलियो हुन्छ । संसारमा अंगे्रजी भाषाको कारोबार धैरै हुन्छ त्यसैले कारोबार नहुने मातृभाषामा पढेर के फाइदा? हामीले पनि सुरुदेखि नै अंग्रजी भाषामा नानीहरूलाई शिक्षा दिने व्यवस्था मिलाएका छौं । हाम्रा ठूलाठूला विद्यालयमा एउटा नेपाली विषयबाहेक सवै विषय अंगे्रजी माध्यममा पढाइन्छ ।.
संयुक्त राष्ट्रसंघको अध्ययनअनुसार यतिबेला कारोबारमा नचलेका करिब ५३०० मातृभाषा संकटमा परेका छन् । शिक्षामा मातृभाषाको महत्त्वलाई नजरअन्दाज गरेर अबको शिक्षानीति बनाइयो भने सामाजिक र राष्ट्रिय मात्र होइन मानव जातिकै अस्तित्व संकटमा आउन सक्ने स्थिति बन्नेछ । संयुक्त राष्ट्रसंघमा सन् १९९९ बाट यस मुद्दाले स्थान पाइसकेको छ । अब यसलाई संसारभरि उपयुक्त कार्यान्वयनको खाँचो छ ।.