Skip to content

कुखुरा बास्छन् कुकुर भुक्छन्न् बेला न कुबेला अचेल

GeetaThapaDoshi


(१)
कुखुरा बास्छन् कुकुर भुक्छन्न् बेला न कुबेला अचेल
मान्छे शैतान भए बाटो ढुक्छन् बेला न कुबेला अचेल
काँचो मासुको स्वादमा रमाउन पल्केका नर-पिचासहरू
फलामे दाम्लो चुँडालेर फुक्छन् बेला न कुबेला अचेल

(२)
एक प्याला पिउँदैमा बेहोस हुने पनि जिन्दगी
सानो चोटमा छाती पिटीपिटी रुने पनि जिन्दगी
जिन्दगी एक जिन्दगीका रुपहरू हुन्छन् अनेकौं
धर्तीबाट माथि उठेर आकाश छुने पनि जिन्दगी

(३)
हिँड्दा हिँड्दै बगालबाट छुट्टिएकी मान्छे म
भाग्दा भाग्दै दुनियाबाट लुट्टिएकी मान्छे म
फरक मेरो जीवन शैलि आधुनिक जमानामा
उड्दा उड्दै चङ्गा जस्तै चुट्टिएकी मान्छे म

(४)
मेरो दुनिया भन्नु नै तिमी, तिमी नै दूर भयौ त के भन्नु?
मेरो संसार भन्नु नै तिमी, तिमी नै झुर भयौ त के भन्नु
यहाँ सबैजना ताल र सुरका मीठा मीठा कुराकानी गर्छन्
मेरो जिन्दगी भन्नु नै तिमी, तिमी नै बेसुर भयौ त के भन्नु

(५)
पैसा देखे जगत हाँस्छ म कसरी रुनसक्छु
पैसा देखे जगत बाँस्छ म कसरी रुनसक्छु
जन्मदेखि मृत्‍युसम्म पैसाको छ खेल यहाँ
पैसाले नै नाता गाँस्छ म कसरी रुनसक्छु

(६)
रोजी-छाडी चाख्दै हिँड्न नारी होइन परिकार
बाटो ढुकी सिकार गर्ने सिकारीलाई छ धिक्कार
सम्मान माग्दिन नारी अप्मान सहदिन नारी
मानिस हो मानिस सरह खोज्छे ऊ अधिकार

(७)
हिजोआज सबैले आफू मात्रै राम्रो हुँ भन्दैछ
त्यसैले अचेलभरी दुनिया व्यक्तिवादी बन्दैछ
चलेको छ होड्बाजी को भन्दा को कम यहाँ?
मान्छेले आफूलाई पुर्ने खाल्डो आफैं खन्दैछ

Leave a Reply

Your email address will not be published. Required fields are marked *