Skip to content


हेर हेर नानी हो
कलिलो छ मुना यो
मुनाबाटै फुलीफक्री
हाङाबिङा बन्छ यो ।

हिजोआज देखिने
ठूलो बुढो रुख यो
कुनैबेला तिमी झैं
सानु सानु मुना थ्यो ।

सानुतिनु भनी भनी
सबले तिम्लाई हेप्छ हो ?
सानु आज नभैकन
भोली ठूलो बन्छ को ?

सानु सानु देखेपनि
सानु छैन तारा त्यो
भए जस्तो देखिँदैन
संसारको सार यो ।

मनलाई छुने काम गरौं
साना साना नानी हो
आज गर्‌यो भोली गर्‌यो
त्यही नै त बानी हो ।

कमिला र सिंहमा
मिहिनेती कुन हो ?
ठूलो भनी चिनाउने
मानिसको गुण हो ।

ठूलो नाउँ राख्नलाई
परिश्रम नै ताज हो
निमुखालाई लुटीखाने
कस्ले भन्छ राजा हो ?

मीठो बोली बोल नानी
सफलताको राज हो
पातैबाट धुन निक्ले
पात पनि बाजा हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *