संरक्षण कविता आन्दोलन नेपाली कविताको मौलिक राष्ट्रिय आन्दोलन हो । नेपाली माटोमा उत्पादित यो आन्दोलन विश्व साहित्याकाशमा नै विशिष्ट स्थान राख्ने कविताको मौलिक आन्दोलन र नेपाली भाषीहरूको गौरवपूर्ण पहिचानको रुपमा स्थापित भएको छ । सर्वकालिक र सार्वभौमिक उद्देश्यहरूका कारणहरूले यो आन्दोलन कुनै समय, सन्दर्भ र स्थान विशेषमा सीमित छैन अनि कुनै उद्देश्य पूर्ति भए पछि टुंगिने भाषिक अभियानहरू भन्दा यो पृथक छ । वीजको आन्दोलन माटोमा चले झैं यो पनि निरन्तर चलिरहने आन्दोलन हो ।
कविहरूले कुनै ठाउँको प्रकृति, सुख दु:ख, मूल्य मान्यता आदि विम्वहरूलाई टिपेर कविता लेखे पछि त्यो कविताको प्रथम पाठक या श्रोता हुने अधिकार पनि त्यही ठाउँको मानिसमा नै रहन्छ भन्ने सोचबाट अभिप्रेरित भै कविहरूले कविताका माला उनेर तदस्थानीय मानिसहरूलाई नै पहिर्याइ कविता यात्राको माध्यमबाट वालवालिका तथा जनमानसमा कविता र यसमा अन्तर्निहित वस्तुहरू प्रतिको अनुराग बढाउदै लानु पर्छ भन्ने राष्ट्रिय भावनाका साथ नेपाली वांमयका चम्किला नक्षत्र एवं कवि सरुभक्तद्वारा संरक्षण कविता आन्दोलनको सूत्रपात भएको हो ।
कविता यात्राका क्रममा आन्दोलनका प्रणेता सरुभक्तको संयोजकत्वमा २०५५ साल आश्विन २६ गते मुस्तांगको मुक्तिनाथ स्थित रानीपौवाभन्ने ठाउँमा पाँच सूत्रीय घोषणा पत्र जारी गरी स्थापना भएको यस संरक्षण कविता आन्दोलनले मधेश र पहाडका ग्रामीण क्षेत्र तथा चेपांग बस्तिहरूमा पुगेर कविता यात्राको ५६ वटा शृंखलाहरू पार गरेको छ । हालै यसको ५६ औ शृंखला भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा सम्पन्न भएको छ ।
२०६९ साल मार्ग २९ गते आइतवार ५६ औ शृंखलाको सन्दर्भमा कवि सरुभक्तको संयोजकत्वमा पोखराबाट आन्दोलन कविहरू सरस्वती श्रेष्ठ ‘सरु’, सरस्वती प्रतीक्षा, रमा प्राशर, अनुराग अधिकारी, ईन्द्रमान खत्री, राजेन्द्र पहाडी, फडिन्द्र अकिञ्चन र शरण आँसु तथा साथमा लुम्बिनी भ्रमण वर्ष २०१२ पोखरा उपसमितिका संयोजक उत्तम मान बुद्धाचार्य, सचिव पूर्ण लामा र कोषाध्यक्ष्य शशि तुलाचनको समूह बेलुका लुम्बिनी पुगे पछि चितवनबाट आन्दोलन कविहरू भूपिन व्याकुल, रमेश प्रभात र सुमनराज श्रेष्ठ आइपुग्नु भयो । सरुभक्तको सानिध्यमा रमाइलो साहित्यिक भलाकुसारीका अतिरिक्त लुम्बिनी भ्रमण वर्ष २०१२ समापनको पूर्व सन्ध्याको रमाइलो वातावरणको क्षण थियो यो ।
भोलि पल्ट माघे सक्रान्तिको चिसो बिहान संगै आयोजकहरूको साथमा लुम्बिनीका दर्शनीय स्थलहरूको अवलोकन भ्रमण गरेपछि सबै कविहरूले यत्र तत्र छरिएर कविता लेख्नुभयो र ११ बजे बुद्ध जन्मस्थान एवं उपासना स्थल अगाडिको पवित्र ठाउँमा ‘शान्तिका लागि कविता’ भन्ने उद्घोषका साथ कविता वाचन कार्यक्रम शुरु भयो ।
भन्ते कमलश्रीको प्रमुख आतिथ्य एवं आयोजक लुम्बिनी भ्रमण वर्ष–२०१२ उपसमिति पोखराक़ा संयोजक उत्तम मान बुद्धाचार्यको अध्यक्ष्यता र कोषाध्यक्ष शशी तुलाचनको स्वागत मन्तव्यका साथ सचिव पूर्ण लामाद्वारा संचालित उक्त शृंखलामा आन्दोलनकारी कविहरू सरस्वती श्रेष्ठ ‘सरु’, भूपिन व्याकुल, सरस्वती प्रतीक्षा, रमा प्राशर, ईन्द्रमान खत्री.राजेन्द्र पहाडी सुमन श्रेष्ठ, रमेश प्रभात, अनुराग अधिकारी, फडिन्द्र अकिञ्चन, शरण आँसु लगायत भैरहवाका आमन्त्रित कविहरू वनमाली निराकार, डा. मुरारी पराजुली, रुद्र ज्ञवाली, रामबहादुर श्रेष्ठ, छवि ज्ञवाली, गंगा अभिलाषी, विजय सागरले आ–आफ्ना कविता वाचन गर्नुभयो । कविहरूले देशभक्ति, सीमा समस्या र बुद्ध दर्शनलाई कवितामा समेट्नुभएको थियो ।

सरुभक्तले बुद्ध जन्मस्थलमा संरक्षण कविता आन्दोलनको कार्यक्रम गर्न पाउदा प्रशन्नत व्यक्त गर्दै आन्दोलनको औचित्यको पुष्टि गर्नुभयो र आधा दर्जन मुक्तक एवं बुद्ध दर्शनसँग सम्बन्धित दुई कविता पनि बाचन गर्नुभयो । लुम्बिनी भ्रमण वर्ष–२०१२ उपसमिति पोखराका संयोजक उत्तममान बुद्धाचार्यले कवितामा शसक्त रुपमा देशको अवस्थाको चित्र आउने विचार राख्दै ‘देश दुखेको र देशको अस्मितामाथि हस्तक्षेप भएको कुरा सिर्जना र सञ्चार माध्यममा आउनु पर्ने कुरा व्यक्त गर्नुभयो ।
यसरी कार्यक्रम सम्पन्न भए पश्चात तिलौराकोट स्थित गौतम बुद्धको गृहस्थल र वहांको जीवनसित सम्बन्धित अन्य पवित्र स्थलहरूको अवलोकन गरी भोलिपल्ट सबै स्रष्टा एवं आयोजकहरू फर्कनुभयो ।

