आकाश निलो थियो
टाढा क्षितिजसम्म
थिएन बादल कतै
एकतमास
यौवनले उन्मत्त युवा झैँ
घाम आकाशमा डुल्दै थियो
टाढा कतैबाट
एक जोडी भंगेरा
पखेंटाभरि घाम बोकेर आए
म पनि
आगनभरि घाम बटुल्दै थिए
भित्र सानो छोरो
निन्द्राबाट ब्युझियो
“बुबा भोक लाग्यो ”
म झसंग भएँ
सायद भाले नै होला
एउटा चारो
रछ्यानमा बस्यो
खुट्टाले खोस्र्यो
चुच्चले च्याप्यो
अनि फेरि दुवै भुर्र उडे
परसम्म हेरिरहेँ
बस् ,
मात्र हेरिरहेँ
न मसँग चुच्चो थियो
न खुट्टाले खोस्रने रछ्यान नै
भित्र छोरो फेरी करायो
“बुबा भोक लाग्यो ”
“एकैछिन पर्खी है ” यत्ति बोलें
किन थाहा छैन
के ल्याउने, के ख्वाउने
थाहा छैन
तर
एकोहोरो
म चुपचाप बसी रहे
चुप चाप
छोरो रुदै थियो
“बुबा भोक लाग्यो भन्या ”
समाप्त
