Skip to content

लघुकथा :– चार लघुकथा


लघु कथा :– रघुकुल उत्पत्ति

धेरै पहिले एकजना अत्यन्तै धनाढ्य रघुराजा थियो । उसको सम्पत्ति यत्ति धेरै थियो कि उसले संसारको सुख–सुविधा सबै पाएको थियो । उसलाई एक्कासी यो लाग्न थालेको थियो कि “मैले यत्ति सारा सुख पाएँ तर पनि म सुखी छैन । मभन्दा सुखी दुनियाँको नजरमा अरु कोही छैन तर मेरो नजरमा म जत्ति दुःखी अरु कोही छैन । त्यसैले यस्ता इच्छा–आकाँक्षाको यो साँसारिक असीमित सुखबाट म टाढा जान चाहन्छु” भनी सबै राज्य, सन्तान, सम्पत्ति त्याग गरी नाङ्गै जङ्गलमा तपस्या गर्न गएको थियो ।

राजालाई अरुले चिन्लान भनेर खरानी शरीर तथा अनुहारभरी दलेर बसेको थियो । तपस्या गरिरहेको समयमा दुई जना त्यहाँका जनताहरू कुरागरिरहेको राजाले सुनेको थियो । उनीहरूले भन्दै थियो ः– “हाम्रो रघुराजा कत्ति महान हुनुहुन्छ उहाँले आफूसँग संसारकै सबैभन्दा धेरै सम्पत्ति भएतापनि त्यागेर जानुभयो । उहाँजति त्यागी अरु कोही छैन । शायद भगवान पनि छैन ।”

यो कुरा आफूलाई चिन्लान भनेर खरानी घसेर रुपै बेरुप पारेर बसेका राजा रघुले सुनेको थियो र तत्कालै राजाले प्रतिकार गर्दै उनीहरूलाई भनेको थियो ः– “हेर शुरुमा रघु राजा थिएन, ऊ पनि तिमीहरूजस्तै मानिस थियो । उसले आफ्नो बलबुताले राज्य विस्तार गर्यो र संसारकै सबैभन्दा धनी व्यक्ति बन्यो । तर त्यो धन पहिले उसको थिएन । अरु कसैको थियो । यदि ती सम्पत्तिहरू उसको भएको भए उसले त्याग्न सक्थ्यो ? अझ उसले जन्मदै खाली हात लिएर आएको थियो तर ऊ नमर्दै सबै खाली हात भएर गयो । योनै वास्तवीक तथ्य हो । तिमीहरूले भनेको मिलेन आइन्दा यस्तो कुरा नगर ।” भनेर सन्यासीरुपी फकीर रघुराजाले उनीहरूलाई भनेको थियो । उनीहरूले सन्यासीलाई रघुराजा भनेर चिनेका थिएनन् ।

यस्तो रघुराजाको प्रारम्भिक इतिहास देखि उक्त राजाका सन्तानहरूलाई रघुकुलका व्यक्तिहरूको उपमा अद्यापी दिइँदै आएको पाइन्छ । भनिन्छ यस्तो महात्यागी रघुराजाको तपस्याबाट प्रभावित भएर भगवान विष्णुले पनि रामको रुपमा रघुकुलमा जन्म लिन आउन विवस हुनुभएकोे थियो ।

लघु कथा :– सप्ताहको मर्म

रघुराजाको कालको धेरै समयपछि फेरि एकजना महात्यागी राजाले यस पृथ्वीमा जन्म लिएको थियो । ऊ पनि रघुराजाजस्तै अत्यन्तै धनी थियो र इच्छाआकाँक्षा त्याग्ने बिचारले श्रीपेच लगाएर घोडामा चढेर महात्माकहाँ कुटीमा गएको थियो र भनेको थियो :– “महात्मा मैले सबै त्यागेर आइसकेको छु मलाई स्वीकार्नुस् ।”

फेरि महात्माले भनेको थियो :– तिमीले श्रीपेच फुकालेका छैनौ, घोडा त्यागेका छैनौ त्यसैले म तिमीलाई स्वीकार्दिन । जाऊ फर्केर जाऊ ।”

त्यसपछि राजा दरवारमा गएर घोडा, श्रीपेच र आफ्नो सबै लगाएका यावत लुगाहरू त्यागी नाङ्गै महात्माको कुटीमा आएको थियो । तैपनि महात्माले उसलाई स्वीकारेको थिएन । “तिमीले अझै मैले यत्ति गरें भनेर मलाई भन्यौ त्यसैले यीसबलाई पनि त्यागी आऊ ।”

यत्ति वचनवाण सुनिसकेपछि राजा झोक्राएर जङ्गलमा भट्की–भट्की घुम्न थालेको थियो । नाङ्गै रुखमुनि सातदिनसम्म झोक्राएर बस्न थालेको थियो । उसको अभिमान अब चकनाचूर भैसकेको थियो । महात्मा पनि उसलाई खोज्दै त्यहाँ आइपुगेको थियो ।

महात्माले “हे ! राजा ! अब म तिमीलाई मेरो कुटीमा स्वीकार्छु ।” भनेर भनेको थियो तर राजा झनै रिसाएको थियो ।

यो रिसाइ अभिमान त्यागको रिसाइ भनेर महात्माले बुझेको थियो अनि “मैले राजा भनेकोले तिमी रिसायौ, म अब तिमीलाई कहिल्यै राजा भन्दिन । हे पुरुष ! हे ! सिद्ध पुरुष तिमीलाई मेरो कुटीमा स्वागत छ, आऊ मसँगै कुटीमा ।”

त्यसपछि उक्त सिद्ध पुरुष मुस्काएर महात्माको कुटीमा प्रस्थान गरेको थियो ।

भनिन्छ सप्ताहको अर्थ पनि यही हो । सप्ताह गर्नु भनेको जुन सात दिनमा काम, क्रोध, लोभ, मोह, मद, मात्सर्य आदि सबै कुरालाई त्यागी उक्त सिद्ध पुरुष जस्तै निश्छल बत्रु हो । तर आजकल सप्ताह पनि अभिमान र प्रदर्शनको विषय बनिरहेको छ ।

लघु कथा :– जोगी र अमृत

उसले एकजना जोगीलाई देखेको थियो । तर त्यो जोगी अरु जोगीजस्तो त्यस्तो थिएन जो अरुसँग मागी हिँडोस् तर त्यो जोगीले सबैलाई “तेरो भलो होस्” भन्दै जाने गथ्र्यो । कसैले दान दिए पनि श्रद्धाले दिएको मात्र ग्रहण गथ्र्यो । तर उसले त्यो जोगीले खाएको कहिल्यै देखेको थिएन । नखाइकन पनि कसरी बाँचेको होला भनेर उत्सुक भएर उसले उक्त जोगीलाई पीछा गर्ने निधो गरेको थियो । सधैं उक्त जोगीको पिछा गर्न थालेको थियो तर त्यो कुरा जोगीलाई थाहा थिएन भत्रे उसलाई लागेको थियो । तर जोगीले खाएको उसले कहिल्यै देख्न पाएको थिएन । एकदिन जोगीलाई जसरी भएपनि सोधिहाल्छु भनेर विहानैदेखि जोगीको पिछा गर्न थालेको थियो । जोगी जङ्गलतिर जान थालेको थियो ऊ पनि जङ्गलतिर जान थालेको थियो । जङ्गल पार गरिसकेपछि जोगीले खोला तरेर गएको थियो, ऊ पनि खोला तरेर गएको थियो । जोगीले हातमा कमण्डलु बोकेको थियो । त्यहाँ एउटा ठूलो रुखको पछाडि जोगी गएको थियो । उसले त्यहाँ जोगीले के गरेको भनेर चियो गरिरहेको थियो । जोगीले त कमण्डलुमा पिच्कारी निकालेर झाडा गरिरहेको थियो । तैपनि जोगीले कसरी नखाइकन बाँच्छ सोधिहालुँ भनेर ऊ अगाडि बढेको थियो । अन्ततः उसले जोगीलाई भेटेको थियो र सोधेको थियो ः– “जोगीबाबा म पनि तपाईं जस्तै केही पनि नखाई बाँच्न चाहन्छु उपाय बताइदिनुस् ।”

जोगीले कमण्डलु दिएर “यो पिऊ ।” भनेर भनेको थियो । उसले पनि हुन्छ भनेर जोगीले नदेख्ने गरी खाएको जस्तै गरेर अन्तै खन्याइदिएको थियो र भनेको थियो “मैले खाइसके। ँ यो कमण्डलु लिनुस् ।” कमण्डलु लिइसकेपछि जोगीले “अनर्थ ! मैले त अमृत दिएको थिएँ ।” भनेर भनेको थियो । उसले झाडा फालेको ठाउँमा हेर्दा यो झाडा बलिरहेको थियो । जोगीसँग माफी माग्छु भनेर हेर्दा जोगी गायब भैसकेको थियो । त्यै बलेको झाडा पनि खाऊँ भनी हेर्दा त्यो पनि गायब भैसकेको थियो ।

भनिन्छ त्यत्तिबेलादेखि उक्त जोगी कहीँकतै देखा परेनन् । उसले अझै त्यो जोगीलाई खोजिरहेको छ र यो किस्सा सुनाइरहेको छ ।

लघु कथा :– शिवपुरी बाबा र दाताराम

आश्रममा एकजना केही नखाइकन बाँचिरहेको बाबा थियो । उसलाइृ शुद्ध दूध खुवाउन भनेर एकजना दातारामले जतिबेला दुहेर दूध लिन सकिने गाई बाबाकहाँ राखिदिएको थियो । त्यो चामत्किारीक गाईले जत्तिबेला पनि दूध दिने थाहा पाएर एकजना राणाले त्यो गाई आफूकहाँ राखेर अत्यन्तै धेरै दूध दिने चारवटा कृतिम गाई त्यहाँ राखेर उक्त जतिबेला पनि दुहुन हुने गाईबाट धेरै फाइदा लिने बिचारले आफूकहाँ उक्त गाई लगेको थियो । तर बाबालाई ती चारवटा गाइले सेवा दिन सकेको थिएन । यता उक्त राणा पनि कुनै रोगै नलागेतापनि रगत छादेर मरेको थियो । फेरि उक्त गाई त्यत्ति टाढासम्म सरासर बाबाकहाँ आइपुगेको थियो । बाबाले उक्त चारवटा गाई पनि फिर्ता पठाइदिएको थियो । अनि कसैले पनि उक्त गाई लिने हिम्मत गर्न सकेको थिएन । उक्त गाई श्रद्धाले दान गर्ने दाताराम को हो भनेर कसैले पत्ता लगाउन सकेको थिएन ।
भनिन्छ उक्त बाबा शिवपुरी बाबा थियो अरे ।

अन्त्यमा

मेरो हजूरबुबा स्व.पं. धरणीधर शर्माबाट मैले सुनेका यी चार लघुकथाहरू यहाँ सम्प्रेषित गरेको हुँ । हजूरबुबा पं. धरणीधर शर्माज्यूले सप्ताह मात्रै भत्रुभएर भक्तपुर जिल्ला भरी प्रसिद्धि कमाउनु भएको थियो र उत्यन्तै चकमत्र अनुहारको धनी हुनुहुन्थ्यो । त्यसैले उहाँलाई “तिमीला बाजे” (नेवारीमा तिमिलाको अर्थ पूर्णिमाको जून) भनेर भक्तपुर जिल्ला वासीहरूले अद्यापी सम्मनसाथ सम्झने गर्दछन् । ती उहाँले सप्ताह गर्दा प्रकट गरेका भावनाहरू यी चार लघुकथाहरूमा पनि प्रष्ट रुपमा झल्किन्छन् । त्यसर्थ मैले पनि उहाँको स्मरण स्वरुप यो लघुकथा उहाँमा समर्पण गरी यहाँहरू समक्ष प्रस्तुत गरेको छु ।

लघुकथा :– चार लघुकथा
बिजु सुवेदी “विजय”
bijusubedi@gmail.com

www.bijusubedibijay.blogspot.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *