Skip to content


गाडिएका आँखा
एक चपरी उप्काएको भित्त्तो जस्ता गाला
मुजै मुजा परेको निधार
लसुनका जरा जस्ता दारी
दन्ते कथाको राक्षस जस्तो
जिन्ग्रिंग परेको कपाल
राति के दिउसै तर्साउला जस्तो
उसको बनोट
छत्तिस जातको एउटा जात
चार बर्णको एउटा बर्ण
बीर, बहादुर गोर्खालीको एउटा सन्तान
सारंगी पेटे
आकास छेडुला झैँ उछिट्टिएका हड्डी
लाज मात्र छोप्ने थाग्नो
हातमा भुइचालो गएर चिरिये जस्तो
खुट्टामा करौतिले रेटे जस्तो
बीर पुर्खाको सन्तति
हासो होइन साच्चै
बाउ सानै छदा हजुरबा युदाग्निमा होमिए रे
लाहुरे भ क बाउ फर्केनन् रे
आमाले छोडेर पोइल गईन
कथा होइन साच्चै हो
तेसैले ऊ अर्काको नोकर भाको रे

बिहान घाम भन्दा धेरै अगाडि उठ्नु
अनि आधी रातपछि ढल्कन पाउनु
उसको दैनिकी
स्कुल कैले हो कुन्नि एक पटक गाको थियो रे उसको “गाम” मा
आजभोली जुठा थालमा गणित पदछ सिता गन्दै
“के के जन्दछ्स?”
“भाडा माझ्न, लुगा धुन, बढार्न सबै जान्दछु ”
थोरै जुँगा नाक मुनि
उमेर ठ्याक्कै थाहा छैन
“महिनेको कति पाउछौ ?”
“खाएर बसेर सय रूप्पे”
बालक होइन
जे पनि गर्न सक्छ
ठुलाले गर्न न सक्ने पनि
चामलको सिंगै बोरा एक्लै बोक्छ
एक दिन चिप्लेर खसेछ
दुई छाक भात पाएन अरे
“अब त खस्न नै दिन्न ”
मस्कदै भन्छ
मानौ बिश्व बिजयी भयो
यो कसैलाई व्यंग्य होइन
तर ऊ मजले हास्छ
मानौ ऊ भन्दै छ “म खप्पिस भएको छु,
भो मेरो वास्ता कसैले नगर
कसैले मेरो पिर लिनु पर्दैन
न राष्ट्रले, न समाजले
म मजाले बचेको छु
मजाले ।”

अस्तु

Leave a Reply

Your email address will not be published. Required fields are marked *