
ऊ स्वदेश आएको दोस्रो दिन
नियालेर हेर्दा देख्यो,
उसका बीभत्स सपनाहरू झै
कोठैभरि केही किताब
छरपस्ट छरिरहेका ।
उसका छरपस्ट किताब
उसले एक एक गरेर
धुजाधुजा हुने गरी च्यातिदियो ।
आखिर किन च्यात्यो उसले
तिनीहरुलाई
जुन उसले वर्षौं बर्ष लगाएर
लेखेको थियो?
अनि आखिर किन उसले आगोमा राखेर
जलाइदियो क्षणभरमै तिनीहरुलाई ।
आफ्नै आँखामा सजाएर
राखेको सपनाहरुको हत्या
कसरी गर्न सक्छ होला मान्छे?
र आखिर को थियो
दोषी र निर्दोषी
कोमल कठोर र क्रुर
मान्छे
कि
कविताका कागजहरु?
सधैं सधैं यस्तै प्रश्नहरुले
निरुत्तरित हुने गर्दछु म
आखिर किन गर्यो उसले
आफ्नै गर्भमा हुर्किरहेका
कलिला भ्रुणहरुको हत्या?
के अब उसलाई सजाय हुनुपर्दछ
या, सट्टामा कागजहरुमाथिको
मृत्युदण्डको सजाय हो यो?
सानै छदा आमा मरिन
कलिलै छदा बुवा पनि मरे
पुखौली अम्समा परेको खेत
उसको उपचार गर्दा सकियो ।
उसका धेरै रोगहरू छन्
डाड दुख्ने
टाउको दुख्ने
मुन्टो बटारिने
बेला बखत हातखुट्टा
प्यारालाइसिस जस्तो भएर नचल्ने ।
छाती र टाउको दुख्दा
ओखती र सिटामोलको सट्टामा
उसले कलम समाएर
कागजमा आफ्नो पीडाहरू लेख्यो
अनि कविता लेखुन्झेल
खुन्झेल उसको कम्पारो पनि ठन्डा हुन्थ्यो
र उसको मुटु पनि जाती हुन्थ्यो ।
ऊ आबेगमा आएको बेला
जीवनसाथी भएर
कविताले नै उसलाई सम्झाउथियो।
हो, त्यहीदिन उसले कविताहरुलाई
आफ्नो प्रेयसी सम्झियो ।
आफ्नो श्रीमती सम्झियो ।
किनकि, कविताका कोमलताहरुले
उसलाई अनन्त अबिरल शीतलता दियो ।
र कविताका हरेक हरफहरुहुँदै
आकाशबाट खसेर
मधुमासमा अमर पृत अमृत
र नसाको बोतल बोकेर
उसलाई प्याला पिलाउन
अफ्सरा
आइरहेको आभास हुन्थियो ।
जब बिदेशमा छदा उसको
ढाडको अपरेशन भयो
उसले आफ्नो प्रेमिकालाई सम्झियो
तर अफसोच तब उसको बिराम निको भएन
झन बल्झियो ।
चार सालपश्चात्
ऊ रित्तो हात घर फर्कियो ।
तर त्यहाँ कोही पनि थिएन
केबल कविताका एकपत्ति कागजहरू सिवाय
सब उजाड उजाड
आत्महत्या बाहेक उसले अर्को उपाय भेटेन
जब ऊ आफूले लेखेका
तीनै कविताक कापिहरू हेर्थियो ।
तब, फेरि उसको कञ्चट
र छाती दुख्न सुरु गर्थियो ।
केवल कविता कविता कविता
यस्तो लाग्थियो कि
कविता बाहेक
त्यहाँ कुनै अर्को बिकल्पै थिएन
उसको कोठाभर
आफ्नै अधुरा रहर
अनि पैला गएकी प्रेमिकाको
रित्तो तस्बिरहरू झै गरेर
कविताका कागजहरू उढिरहेको थियो
कल्पनाका प्रतिविम्बहरुमा
आइरहेका अनन्त याद झै
र त्यो यदाकदा कुदिरहेको थियो ।
र अकस्मात बिगतका तिनै चोटहरुले
सम्झाइरहेको थियो एकसाथ
विश्वासघात बज्रपात बल्झाइरहेको थियो !
र बिर्सिएका सारा व्यथाहरुसँगै
अतितका तिनै तिता स्वादहरू चखाइरहेको थियो ।
अनि फेरि पनि फर्काइरहेको थियो
र चर्काइरहेको थियो
अछ्यरहरू कोरिएका कागजहरू झै
भाग्य नलेखिएकाउसका खप्परहरु।
“म अब हावाहरुको उचाइमा उड्न चाहन्न
म अब भावको गहिराइमा डुब्न चाहन्न
मलाई अब यहाँभन्दा धेरै नसताउ
मेरो यो मनबाट जाऊ तिमी
र यो जीवनमा कहिले पनि फर्किएर नआऊ
सरिता ! म मेरै संसारमा रमाउन चाहन्छु
हर पल कसैलाई कल्पिएर
र केवल भावनामा बगेर मात्रै पनि
बाँच्न नसकिदो रहेछ तर, म अँझै बाँच्न चाहन्छु
त्यसैले अब तिमीलाई
अल्बिदा कविता ।”
उसले अन्तिम पटक यस्तै भन्यो
जब उसको आँखै अघाडी आएर
अनि कागजहरू उढिरहेको थियो
र आफ्ना दुवै हातहरुले आगो समाएर चित्तामा
ऊ कविताहरुलाई दागबत्ती दिइरहेको थियो ।
र जलिरहेको आगो निब्ने गरी
उसको आँखाभरी आँसु खसीरहेको थियो।
हो, उस्ले कविताका कागजहरू
खरानी हुने गरेर आगोमा जलाई दियो ।
बिस्तारै समय बित्यो ।
वर्षौं पछि ऊ त्यही नदिकिनारमा फर्कियो
र फेरि पनि !
उसले बितेर गएका ती कविताहरुलाई सम्झियो
कविताको वियोगलाई खप्न नसकेर
बिछोडको पीडाहरू सहन गर्न नसकेर
अन्तत, त्यही कवितालाई कल्पिएर
अन्तिम पटक
फेरि पनि,
उसले अर्को एउटा कविता लेख्यो।
र त्यो यही हो।
हो, वर्षौंवर्ष पछि
मैले अचानक आज त्यो अतीतलाई सम्झिए
किनकि, कुनै दिन मैले पनि
कसैका यादहरू उसैगरी जलाएको थिए ।
सुजन बुढाथोकी
रतुवामाइ-मोरङ्ग
