विदेशमा बर्डफ्लु रोग देखा परेको र यसबाट बच्न कुखुरा र हांसहरु मारिएको समाचारमा देखेका सुनेका थियौ तर चासो नलिएको कारण जब छिमेकि मुलुक भारतमा यो रोग देखा पर्यो र सिमाना हुदै झापाको काकडभिट्टामा कुखुराहरु मरे, कृषि मन्त्रीले पत्रकार सम्मेलनमा कुखुराको मासु र अण्डा खाएर बर्डफ्लु नभित्रिएको सन्देश दिन खोजे तापनि २०६५ साल माघ ३ गते झापाबाट पठाइएको नमूना परिक्षण गर्दै बेलायती प्रयोगशालाले बर्डफ्लु भएको प्रमाणित गरिदिएपछि हामिपनि सजग र चनाखो हुनु पर्ने आवश्यकता देखि के हो यो बर्डफ्लु रोग भन्ने वारेमा बुझदा निम्न कुराहरु थाहा पाई चर्चा गरेको छु ।
बर्डफ्लुलाई एभियन इनफ्लुएन्जा, एभियन फ्लु तथा एच फाइव एन वन पनि भनिन्छ । चराचुरुङ्गीमा यो रोगको पहिचान सन् १८७८ मा भएको थियो भने सर्वप्रथम यो रोग पंक्षीवाट मानवमा सन् १९९७ सालमा देखा परेको थियो । बर्डफ्लु रोगको विषाणुवाट आक्रमण हुने देशहरुमा भारत, बंगलादेश हुदै ६५ वटा देशहरु पर्दथे भने अबको सूचीमा नेपालको नाम ६६ औ स्थानमा लेखिन पुगेछ । विश्व स्वास्थ्य संगठनले यो रोगले गर्दा सन् २००३ यता करीब छ सय संक्रमित मध्ये २६१ जनाको मृत्यु भइसकेको जनाएको छ । हाम्रो छिमेकि मुलुक चीनमा ३८ जनामा बर्डफ्लुको संक्रमण देखिएकोमा हालसम्म २५ जनाको मृत्यु भइसकेको छ । यस्तै बंगलादेश, र म्यानमारमा एक एक जनामा संक्रमण देखिएको र पाकिस्तानमा संक्रमण देखिएकामध्ये एक जनाको मृत्यु भएको समेत तथ्यांक छ । हालसम्म बर्डफ्लुको संक्रमणले इन्डोनेशियामा सवैभन्दा बढि ११५ जनाको मृत्यु भएको हो । त्यस्तै २२ अर्व पंक्षी मरेका वा नष्ट गरिएका र दुई सय अर्व डलर क्षती भएको बताइन्छ । यो खास गरी पंक्षीहरुमा हुने रोग भएपनि मानिस लगायत अन्य पशुपंक्षीहरुमा समेत यो रोग भेटाइएको पाइन्छ । यसको विषाणु अतिसंवेदनशिल हुनुको साथै आफनो जैविक संरचना फेर्न सक्ने खालको हुन्छ । सर्वप्रथम छिमेकि मुलुक चिनमा देखा परेको यो रोग फैलिने क्रममा दक्षिण पुर्वी एशिया हुदै एशिया भरि फैलि युरोपसम्म फैलिसकेको छ । यसका भाइरस १४४ थरिका हुन्छन । बर्डफ्लु भाइरसको सतहमा एन र एच प्रोटीन रहन्छन । प्रोटिनका आधारमा भाइरसका उपप्रजातिहरु हुन्छन । ती मध्ये एच५एन१ र एच७एन७ हाइली प्याथोजेनिक एभियन इनफ्लुएन्जा अर्थात यी बढी घातक हुन्छन । एभियन इनफ्लुएन्जा ए, वि र सि गरि तिन थरिका हुन्छन । ए अन्तर्गत मानिसलगायत अन्य पशुपंक्षी सुंगुर, वंगुर, घोडा, कुकुर, व्हेल आदिलाई यो रोग हुन सक्छ । हांस, जलचरा र बसाई सरेर आउने चराहरु र जंगली चराहरु यो रोगको विषाणुका प्राकृतिक स्रोतहुन । साधारण अवस्थामा बर्डफ्लु संक्रमित जलचराहरुले रोगका लक्षण देखाउदैनन् । साधारण अवस्थामा बर्डफ्लुका विषाणु जाति विशेष हुन्छ जस्तोः पंक्षीको विषाणुले पंक्षीलाई मात्र, मानिसको विषाणुले मानिसलाई मात्र असर गर्छ । तर बंगुरमा भने दुवैथरीका विषाणु विकसीत हुन सक्छ जसलाई मिसिने भाडो भनिन्छ । यो रोगको अहिले सम्मको इतिहास हेर्दा मानिसबाट मानिसमा सरेको नपाइए पनि यसो नहोला भन्न सकिन्न ।
यो रोगका विषाणुको वरिपरि खोल हुन्छ जस्ले गर्दा विषाणु कुनै प्रकारको साबुन वा अन्य निसंक्रमण गर्ने वस्तुवाट सजिलै नष्ट गर्न सकिन्छ । साथै अधिक तापक्रम र सुख्खापनबाट यो विषाणु सजिलै मर्दछ । कुखुराको सुलिमा १५० घण्टासम्म, २२ डि.से. पानिमा ४ दिनसम्म जिवितै रहन सक्दछ भने ७० डि.से. मा ३० मिनेटमा पुरै नष्ट हुन्छ । एक ग्राम संक्रमित सुलीले १० लाख कुखुरा संक्रमित हुन सक्दछन । यी बिषाणुले धेरै ताप खप्न सक्दैनन् । फर्मालिन वा आयोडिनको प्रयोगबाट पनि नष्ट पार्न सकिन्छ । यी भाइरस मासु र अण्डामा पाइन्छन तर राम्ररी पकाउदा भाइरस मर्छन । र, राम्ररी पकाएर खाएको मासु वा अण्डावाट रोग सर्न सकदैन ।
संक्रमित पंक्षीले सुलीको माध्यमबाट अधिकमात्रामा शरिरवाट विषाणु वाहिर निकाल्छ । यसको प्रत्यक्ष वा अप्रत्यक्ष संक्रमणवाट यो रोग मानिसमा सर्दछ । यो रोगबाट जोखिममा पर्नेहरुमा रोग संक्रमित पानिमा पौडी खेल्ने मानिसहरु र कुनै उपचार विना नै कुखुराको सुली मलको रुपमा खेत वा बारीमा सिधै प्रयोग गर्ने गर्नाले यो रोग सर्ने एउटा उपयुक्त माध्यम हो । हाम्रो मुलुकमा मात्र नभई कतिपय देशमा कुखुरा र मानिस एउटै घरमा वा कोठामा सुत्ने, बस्ने, खाने चलन छ । यस्ता मानिसहरु लगायत ह्याचरी, पोल्ट्री फर्म, मासु पसल आदिमा काम गर्ने मानिसहरु यो रोगको सिकार हुने अग्र पंक्तिमा पर्दछन । रोग लागेका फर्ममा काम गर्ने मानिस, उपचार गर्ने तथा खोप लगाउने प्राविधिकहरुलाई संक्रमित जिउदो र मरेका कुखुरा तथा चराचुरुंगीको प्रत्यक्ष सम्पर्क (हातबाट), र्याल, सुली तथा मासु अण्डा जस्ता अप्रत्क्ष र वातावरणीय स्रोतबाट सर्न सक्छ । यो रोग मानिस–मानिसवीचमा सर्न केहि समय लाग्ने गर्दछ । रोगीबाट स्वस्थ्य मानिसमा एक आपसमा लसपस, जुठो खानेकुरा खाएमा, संगै सुतेमा, रोगीका लुगा ओछयान प्रयोग गरेमा, भीडभाडमा हिडेमा यो रोग महामारीका रुपमा फैल्न सक्छ । प्रदुषित भाडा, आहारा, माटो, सुलि वा मिसिएको खाना खांदा, हावाको माध्यमबाट, फोहोर जुत्ताको माध्यमबाट अन्य कुखुरामा सर्दछ । रोगी कुखुराको चर्केको फुलपनि रोगको स्रोत बन्न सक्दछ । कुखुरा ओसार पसार गर्ने क्रममा जैविक सुरक्षाको उचित व्यवस्था नभएमा प्रवासी पंक्षीको आंद्रामा प्राकृतिक रुपमा रहेका विषाणु पनि सर्दछ ।
लक्षणहरु
पंक्षीहरुमा श्वास प्रश्वास सम्बन्धी लक्षणहरु देखीने झोक्राउने, दानापानी नखाने, पंक्षीले अण्डा उत्पादन घटाउछ र अकस्मात वा अस्वभाविक रुपमा एकै पटक धेरै पंक्षीहरुको मृत्यु हुन्छ । पंक्षीमा र्याल सिंगान देखिने, टाउको सुन्निने, सिउर, लोती निलो रंगको हुने, सेतो छेर्ने, पक्षघात हुने, तिर्खाउने । मानिसमा अत्यधिक ज्वरो आउने, सुख्खा खोकि लाग्ने, जीउ दुख्ने, चल्न मन नलाग्ने कमजोरी महसुस हुने, थकाइ लाग्ने, टाउको र घाटी दुख्ने, वान्ता गर्ने, आखा पाक्ने, श्वास प्रश्वास प्रकृयामा समस्या आउने, उल्टी हुने, पेट दुख्ने, नाग र गीजाबाट रगत आउने सास फेर्न गाह्रो हुने र फोक्सोमा असर पर्न गई निमोनिया भएर अन्तमा मृत्यु हुने गर्दछ । बर्डफ्लुले शरीरमा आक्रमण गरेको ४८ घण्टा भित्र मानिस मर्न सक्ने भएका कारण पनि यसलार्य डरलाग्दो रोगको रुपमा लिइएको हो ।
नियन्त्रण
हाम्रो देश जस्तै अन्य देशहरु, जस्तै भियतनाम, थाइल्याण्ड, मलेशिया, कम्बोडियामा कडा नियन्त्रण हुंदा हुंदै पनि पशुहरुको चोरी निकासी नियन्त्रण हुन सकेको छैन । त्यसैले यो रोग नेपालमा भित्रिन नदिन नेपाल सरकारले बर्डफ्लू संक्रमित मुलुकहरुबाट जीवित पंक्षी, चल्ला, पंक्षीजन्य पदार्थ (मासु, अण्डा, भ्याक्सिन, भुत्ला आदि) र बर्डफ्लू रोग सार्नसक्ने अन्य चल्ला तथा पंक्षी उत्पादनमा प्रयोग गर्ने सामाग्रीहरुको समेत आयात गर्न प्रतिबन्ध लगाएको छ । कुखुरा लगायत पंक्षीपालन व्यवसायमा संलग्न कृषक, उधमी, व्यवसायी, राजनैतिक दल, नागरीक समाज र सर्वसाधारण उपभोक्तालाई समेत बर्डफ्लू रोग नेपालमा भित्रिन नदिन रोकथाम तथा नियन्त्रणका उपायहरु क्डाईका साथ पालना गर्न पशु सेवा विभाग, कृषि तथा सहकारी मन्त्रालय तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समय समयमा सूचना प्रकाशित गरि सचेत गराएको पाइन्छ ।
बर्डफ्लु संक्रमित देशहरुबाट जीवित पंक्षी, पंक्षीजन्य पदार्थ जस्तै– अप्रशोधित मासु, अण्डा, भुत्ला आदि पंक्षीमा प्रयोग हुने भ्याक्सिन जस्ता बर्डफ्लू सार्नसक्ने प्रतिबन्धित वस्तुहरु आयात नगरि, ह्याचरी, फाराम तथा कृषकहरुले आफनो उत्पादन परिसरमा जंगली तथा अन्य चराहरु जस्तै– मैना, सुगा आदिको संसर्ग हुन नदिने खालका जैविक सुरक्षाका उपायहरु, जस्तै– कुखुरा र हांसको खोरमा जाली हालेर पाल्ने व्यवस्था अवलम्बन गरि, कुनै स्थानमा जंगली वा घरपालुवा पंक्षीहरुको अपर्झट वा अस्वाभिविकरुपमा धेरै मृत्यु भएको जानकारी भएमा नजिकको पशु सेवा केन्द्र तथा जिल्ला पशु सेवा कार्यालयमा तुरुन्त जानकारी गराइ, बर्डफ्लू रोग कुखुरा र हांस जस्ता पंक्षीबाट मानिसमा सर्नसक्ने रोग भएकोले समयमा नै सतर्कता अपनाउनु पर्छ । त्यसैले बच्चाहरुलाई कुखुरा तथा घरपालुवा चरासंग खेल्न नदिने साथै कुखुरा, अण्डा तथा कुखुराको मासु छोइसकेपछि, दाना खुवाइसकेपछि र खोर सफा गरिसकेपछि अनिवार्यरुपमा साबुन पानीले राम्ररी हात, खुट्टा धुई, बिरामी कुखुरा र हांस भएको खोरमा नाक र मुख छोपेर (मास्कको प्रयोग) मात्र काम गरी र जुनसुकै रोग लागी मरेका कुखुरा तथा हांसको मासु नखाई, कुखुरा र हांसको सुलीलाई व्यवस्थित तरिकाले व्यवस्थापन गरी यो रोगलाई नियन्त्रण गर्न सकिन्छ भने सम्बन्धित स्थानिय प्रशासन, भन्सार प्रशासन, प्रहरी, उधोग वाणिज्य संघ, जिल्ला विकास समिति नगरपालिका तथा गाउं विकास समितिका पदाधिकारीहरु र उपभोक्ता समेतले विशेष सहयोग तथा निगरानी गरि यो महामारीबाट बच्न सकिन्छ । साथै व्यक्तिगत सरसफाईमा पनि ध्यान दिनुपर्ने हुन्छ । जुनसुकै अवस्थामा पनि हामिले साबुन पानीले हात राम्रोसंग धोएर मात्र खाना खाने बानि बसाल्नु पर्छ । कुनै पनि खाध वस्तु राम्रोसंग पकाएर खाने । मासु किन्दा भुईमा राखेको दुषित मासु नकिन्ने । यिनै व्यक्तिगत सरसफाइकासाथ घर आंगन सफा राखेको अवस्थामा यो रोग लगायत अन्य धेरै रोगहरुबाट टाढा रहन सकिन्छ । त्यसै गरी फार्ममा कामगर्दा, बधस्थल तथा मासु पसलमा काम गर्ने र जिउदो कुखुरा ओसार पसार गर्नेले मास्क, जुत्ता, टोपी, चश्मा, पन्जा, शरीर ढाक्ने एप्रोन लगाउने, मासु काटने र बनाउने ठाउं निस्क्रमण गर्ने, स्वास्थ सफा, जाली शिसा प्रयोग गरेको, ५० सि एम एस उचाइको टेबलमा तयार गरेको हाइजेनिक तरिकाहरु अवलम्बन गरेको पसलबाट मासु खरिद गरि राम्ररी पकाएर खांदा हुन्छ । जनचेतना अभिवृद्धि गर्न स्वास्थ्य शिक्षा सम्प्रेषण गर्नु, कुखुरा फार्म र हयाचरीमा जैविक सुरक्षाका व्यवस्था गर्नु, सरसफाइमा ध्यान दिनु, ७० डिग्री सेन्टीग्रेट भन्दा बढि तापक्रममा खाना पकाइ खानु नै यो रोग लाग्न नदिने सरल उपाय हो ।
परीणाम
पशु स्वास्थ्य निर्देशनालयका कार्यकारी निर्देशक डा.वैकुण्ठ पराजुलीले एउटा अन्तर्वातामा दिनुभएको जानकारी अनुसार यो रोगको लक्षणहरु देखापरेपछि पंक्षीहरु प््राायजसो २४ घण्टा भित्र मर्ने गर्दछन भने मानिसमा मर्ने जोखिम सरदर ६० प्रतिसत रहन्छ । इन्डोनेशियामा संक्रमित मानिस ७० प्रतिसत मरेका थिए । नेपालमा मानिसहरुको चेतनास्तर, पूर्व सुरक्षा नअपनाइने लगायतका कारणले मृत्युको सम्भावना अझ बढि हुन सक्ने चेतावनी पशु चिकित्सकहरुको रहेको छ । यो रोगको हल्लामात्रै हुंदा पनि विगतका दिनहरुमा नेपालमा मात्र नभई विकसित मुलुकहरुमा समेत करीब ६० प्रतिशत मानिसले कुखुराको मासु खान छोडेका थिए र अहिले यो रोग सवै मुलुकहरुको चासोको विषय बन्न पुगेको छ । यो पेशामा लागेका व्यावसायीहरुले व्यवसाय नै धरासायी हुने बताइरहेका छन भने कारोवार घटेको कुरा निर्विवाद सत्य नै हो । प्रभावित क्षेत्र मानिएको काकडभिट्टा क्षेत्रको ३ किलो मिटरको परिधिमा ९० दिन सम्म पंक्षी पालन वा कारोवार गर्न रोक लगाइएको छ । त्यस क्षेत्रमा पटक पटक औषधि छर्कि सफा राख्ने तथा त्यसक्षेत्रका नागरीकले तीन महिनासम्म हासं, कुखुरा पाल्न नपाए पनि बाहिरबाट मासु किनेर ल्याएर खान पाउने निर्णय भएको समाचारमा उल्लेख गरिएको छ । नेपालमा हाल ३ करोड १० लाखवटा कुखुरा रहेको, यस क्षेत्रमा १६ अर्व रुपीया लगानी गरिएको, ४ करोड रुपीया बराबरको दैनिक कारोवार हुने गरेको र ६५ हजार परिवारले प्रत्यक्ष रोजगारी पाइरहेको अनुमानित तथ्यांक छ । हरेक पहलुको दुइ पक्ष हुन्छ भने जस्तै एकातिर बर्डफ्लुले पंक्षीजन्य व्यवसायमा गिरावट ल्याएको छ भने माछा र खसीको मासुको मांगमा वृद्धि ल्याएको छ भने खसीको मासु र माछाको मुल्यवृद्धी समेत भएको छ । अन्तमा रोग निको पार्नु भन्दा हुन नदिने उपाय अपनाउनु राम्रो हुन्छ भन्ने वाक्य सम्झना गराउदै बर्डफ्लु कसैलाई नहोस कामना गर्दछु ।
साभारः दैनिक समाचार पत्र पत्रिकाहरु
भाग–५ मा प्रकाशित, २०६६ जेष्ठ १ गते फूलवारी स्मारिका–२०६६
