गौरीमा धक फुकाएर वेदना पोख्ने कवि काठमाडौँ खाल्डोमा आएपछि जन्मथलो लम्जुङ्मा उनका पैतालाका डोबहरू मेटिइसकेछन् । आजभोलि उनको सुगन्ध लमजुङ्को पाखा पखेराबाट विस्तारै मेटिँदै रहेछ । उनले पौरख गरी स्थापना गर्न सहयोग पुर्याएको विद्यालय लम्जुङ उच्च मा.वि. आज पनि गाउँसहरको डाँडामा ती विगतका सम्झनाका थुङ्गाहरू जम्मा पारी माला उन्ने तरखरमा लागेछ । उनका छन्दहरूलाई गद्यमा रमाउने लम्जुङ्वासीहरूको यो पुस्ताले कितावमा मात्र सिमित बनाएछ ।
“लाग्दछ मलाई रमाइलो मेरै पाखा पखेरो, हिमालचुली मुन्तिर पानी भर्ने पधेँरो” भन्दै जन्मथलोको सम्झना छातीभरि बोकेर उनी काठमाडौँ खाल्डोमा बसेको पनि कैयौँ वर्ष बित्न लागे छ । ती पाखा पखेरो र पानी भर्ने पधेँरोमा उनीका गोडासँग साक्षात्कार गर्ने गोरेटाहरू, रुख बिरुवाहरूले उनको सम्झनालाई बेलाबेला पानी परेपछिको सुगन्धित धर्तिको रुपमा प्रकट गर्छन सायद ।
“गाउँछ गीत नेपाली ज्योतिको पङ्ख उचाली” गाउँदै उकाली र ओराली गर्ने ती युवाहरू बुढेकालमा प्रवेश गरिसकेछन् । उनका सम्झना गर्न सक्ने मानिसहरू बेशिसहरका खोला किनारमा गिटिकुट्दै बुढेसकालमा हुनसम्म सास्ती भोग्दै रहेछन् । उनका मातली र मङ्गले खेल्ने फाँटहरूमा कंक्रिटका घरहरू उम्रन थालेछन् ।
राष्ट्रकवि माधव प्रसाद घिमिरेसँग आजसम्म भेट भएको छैन । उनको गृहजिल्लामा ३/४ पटक पुगेपनि उनको बारेमा केही जानकारी बटुल्न सकिएन तर यसपाली त्यसो भएन । आफ्नै रोजिरोटी जोगाउने सिलसिलामा माघ २२ देखि २४ सम्म लम्जुङ्का केही ठाउँहरू फन्को मार्न पाइयो । फन्को मार्ने क्रममा उनले सेवा गरेको विद्यालयमा पुगेपछि यी प्रशंग उठेका हुन् । उनको बारेमा छोटो छलफल नै गर्न पाइयो, उनैले संस्थापक प्र.अ. भएर काम गरेको विद्यालयका नेपाली शिक्षकसँग । यो विद्यालयबाट देखिने प्राकृतिक छटाले जो कोहीलाई पनि साहित्य लेख्न प्रेरित गर्ने रहेछ । यहाँका प्रत्येक डाँडा, पाखा, पखेरा, खोला, नाला, रुख–बिरुवा तथा जङ्गलहरूमा राष्ट्रकविको उर्वरताको राज लुकेको रहेछ ।
तर विस्तारै उनका पाइतालाका डोबहरू लम्जुङ्का गोरेटाहरूबाट हराउँदै र देखापर्दै गर्न थालिसकेछन् । उनका रचनाहरू कण्ठाग्र गर्ने मानिसहरू पातलिदै गएछन् । अब त विस्तारै यी डाँडाहरूमा पप गीत र रक संगित भरिन थालेछन् । उनका रचनामा देख्न पाइने ती ढुङ्गा र फुसका छाना भएका घरहरू हराउँदै रहेछन् ।
http://lilwalee.wordpress.com/
